२०८३ जेष्ठ १५ गते शुक्रवार

तुलसीपुर–१६ लाई बालश्रम मुक्त वडा घोषणा गरिदै

तुलसीपुर,बैशाख २६ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ लाई बुधवार (भोली) बालश्रम मुक्त वडा घोषणा गरिने भएको छ ।

विगत लामो समयदेखि वडा भित्र रहेका बालश्रमिकहरुको अध्ययनपछि वडालाई बालश्रम मुक्त घोषणा गर्न लागिएको हो ।

वडाले मंगलवार तुलसीपुरमा पत्रकार सम्मेलन गरि बालश्रम मुक्त वडा घोषणाको तयारी पुरा भएको जानकारी दिएको छ ।

नेपालको संविधान र विभिन्न ऐनहरुमा बालबालिकाको हकहितको व्यवस्था गरिएकाले त्यसको कार्यान्वयन गर्दै वडालाई बाल श्रम मुक्त घोषणा गर्न लागिएको वडाध्यक्ष शिवानन्द डाँगीले बताए ।

वडाध्यक्ष डाँगीका अनुसार सर्वेक्षण गर्दा वडामा ३५ जना बाल श्रमिक भेटिए पनि सम्बधित सरोकारवाला र टोलविकास संस्थाका प्रतिनिधिहरुसगं छलफल गर्दा केहीका बुबा–आमा नभएको र केहीका बैदेशिक रोजगारीमा गएको हुदाँ आफन्तकोमा बसेर पढ्ने गरेको पाइएको थियो ।

अध्ययन गर्दै जादाँ अन्तिममा वडामा ४ जना मात्र बालश्रमिक भेटिएका थिए । उनीहरुलार्ई आफन्तको खोजी गरि केही नगद सहयोग गरि परिवारको जिम्मा लगाइसकेको अध्यक्ष डाँगीले बताए ।

उनले वडाले १८ जनालाई बालबालिकालाई शैक्षिक सामाग्रीहरु सहयोग गरेको थियो भने २ जनालाई नगद सहयोग गरि आयआर्जनमा जोडेर अघि बढेको बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले उपमहानगरपालिकाले बालश्रम मुक्त नगरको रुपमा घोषणा गर्ने उद्देश्यले बालश्रम मुक्त वडा घोषणा कार्यविधि २०७६ को अधिनमा रही विभिन्न क्रियाकलापहरु सञ्चालन गर्दै आएको बताए ।

उनले बालबालिकाहरुलाई बालशोषणबाट मुक्त गराउने अभियानलाई प्राथमिकतामा राखेको पनि बताए ।

त्यस्तै नेपाल पत्रकार महासघं दाङका अध्यक्ष एवं बालबिज्ञ दुर्गालाल केसीले बालश्रम मुक्त वडा घोषणा गरिसकेपछि पनि बालश्रमिकहरु भेटिने गरेको बताउँदै थप सयन्त्र बनाएर अघि बढ्नुपर्ने बताए ।

त्यस अवसरमा पत्रकारहरुले बालश्रम मुक्त वडा घोषणा भएका वडामै पढाइदिने आश्वासनमा बालबालिकाको श्रम शोषण भैरहेको भन्दै त्यसको अनुगमन र निगरानी गर्न उपमहानगरपालिकनलाई सुझाव दिएका थिए ।

पत्रकार सम्मेलनको सहजीकरण तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गरेकी थिइन ।

तुलसीपुरमा २०७६ सालमा वडा नं. ६ ले बालश्रम मुक्त वडा घोषणा गरेको थियो ।

त्यस पश्चात क्रमशः वडा नं. १,२,१८ वडालाई बालश्रम मुक्त घोषणा गरिएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *