२०८३ भाद्र ३१ गते बुधवार

किसानलाई चैते धान रोप्न भ्याइ–नभ्याइ

घोराही, बैशाख ५ । दाङको बंगलाचुली गाउँपालिका–४ गहतेराका डोरबहादुर घर्तीमगर अहिले चैते धान रोप्न व्यस्त छन् ।

गर्मी मौसमका कारण अन्य स्थानमा खडेरी परेको समयमा उनको परिवार सुकाखोलाको पानीले सिञ्चित भएको करिब १४ कट्ठा खेतमा चैते धान रोप्न भ्याइनभ्याइ छ ।

चैते धानका लागि पानीको सुविधा भएको र उत्पादन पनि राम्रो हुने भएकाले बर्सेनि चैते धान रोप्दै आएको घर्ती बताउँछन ।

‘चैते धानका लागि पानीको समस्या हुँदैन । उत्पादन पनि राम्रो हुन्छ’, किसान घर्तीले भने, ‘जसले गर्दा करिब २० वर्षदेखि निरन्तर हामीले चैते धान रोप्दै आएका छौँ ।’

चैते र बर्खे धान गरेर वर्षमा दुई बाली धान खेती गर्ने घर्तीले सुकाखोलाको जमिनमा बर्खे धानभन्दा चैते धान राम्रो उत्पादन हुने बताउँछन ।

पहाडी क्षेत्रमा एक बाली मात्रै खेतीले परिवारलाई खानसँगै घर व्यवहार चलाउन समस्या हुने भएकाले आफूले चैते धान खेती गर्ने गरेको उनी बताउँछन । ‘थोरै जमिन भएकाले उत्पादन कम हुन्छ ।

परिवारलाई वर्षभरि खान र घरका लागि आवश्यक कपडालगायतका सामग्री किन्नका लागि पनि कृषिमै भर पर्नुपर्छ’, उनले भने, ‘कम जमिनमा धेरै आम्दानी लिनका लागि वर्षमा दुई पटक धान रोप्ने गर्छौँ ।’ धानसँगै अन्य अन्नबाली पनि खेती गर्न सकिने भए पनि बाँदर, बँदेललगायतका जङ्गली जनावरले हुन नदिने भएकाले अधिकांश किसानले धान खेती नै गर्ने गरेको उनी बताउँछन ।

डोरबहादुर जस्तै गहतेरा निवासी गोपाल घर्तीमगरलाई पनि चैते धान रोप्न चटारो परेको छ । खेत जोत्ने, पानी मिलाउने, ब्याड काट्नेदेखि धान रोप्न परिवारका सदस्यलाई भ्याएको छैन । उनले करिब पाँच कट्ठा खेतमा चैते धान रोप्न थालेको बताए ।

घर परिवारका लागि फुर्सदको समयमा चैत धान खेती थप आम्दानीको श्रोत बन्ने भएपछि आफ्नो परिवारले पनि चैते धान खेती गर्ने गरेको घर्तीमगर बताउँछन । चैतको अन्तिमतिर रोपेर सक्नुपर्ने धान खेती यस वर्ष केही ढिलाइ भएको बताए ।

‘फागुनमा राखेको धानको ब्याड हो । यो चैतको अन्तिमतिर रोपिसक्नुपर्ने हो’, घर्तीले भने, ‘नयाँ वर्षसँगै घरको कामले केही ढिलाइ भएको थियो । आज धान रोपेर सक्ने तयारी छौँ ।’ बेमौसमी खेतीका रूपमा रोपिने चैते धानबाट राम्रो आम्दानी हुने भएपछि आफ्नो परिवारले धेरै पहिलेदेखि नै चैते धान रोप्दै आएको उनी बताउँछन ।

चैते धानबाट राम्रो आम्दानी हुने भए पनि वर्षाको समयमा धान भित्र्याउन समस्या हुने भएकाले पछिल्लो समय केही परिवारले धान खेती गर्न छोडेको उनी बताउँछन। उनीहरू मात्र नभएर हिउँदे बाली भित्र्याएर फुर्सदिलो बन्ने समयमा बंगलाचुली गाउँपालिका–३ र ४ र घोराही उपमहानगरपालिका १ का सुकाखोलाका अधिकांश किसान चैते धान रोप्ने गरेका छन् ।

वर्षमा दुईबाली धान खेती गर्ने उनीहरू चैते धानबाट राम्रो आम्दानी लिने गरेको बताउँछन । यद्यपि, यस वर्ष बिपी राजमार्ग निर्माणका क्रममा खसेको पहिरोले सिँचाइका लागि बनाइएको ठूलो कुलो पुर्दा सुकाखोलाको आधा जमिन बाँझो रहन पुगेको स्थानीय हेमकला घर्ती बताउँछन ।

‘सिँचाइका लागि बनाइएको ठूलो कुलो पहिरोले नपुरेको भए सुकाखोलामा अधिकांश किसानले आजभोलि धान र मकै रोप्ने थिए । तर यस वर्ष धेरै खेत बाँझै देखिन्छ’, उनले भने, ‘यसको मुख्य कारण गतवर्ष वर्षाको समयमा आएको पहिरोले सिँचाइ कुलो पुर्न नै हो ।’ ठूलो कुलो बन्द भए पनि सानो कुलोका माध्यमबाट किसानले धान खेती गरिरहेको उनी बताउँछन ।

यसरी रोपिएको धान साउनको पहिलो सातातिर पाक्ने गरेको किसानहरू बताउँछन । वर्षमा दुई बाली धान खेती गर्ने किसानले एक बाली गहुँ वा मसुरो समेत गर्ने गरेको छन् । अहिले रोपेको धान साउनको पहिलो साता काटेपछि पुनः सोही खेतमा बर्खे धान रोप्ने रोप्ने गरेको उनी बताउँछन। उनका अनुसार वर्षामा रोपेको धान बाली कात्तिकमा काटेर फेरि गहुँ वा मसुरो छर्ने गरेको बताउँछन ।

कृषि ज्ञान केन्द्रका अनुसार घोराही उपमहानगरपालिका १, बंगलाचुली गाउँपालिका ३ र ४ सँगै देउखुरीका केही स्थानमा चैते धान खेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र, दाङका अनुसार जिल्लामा करिब दुई हजार पाँच सय हेक्टरमा चैते धान खेती हुने गरेको छ ।

प्रकाशित मिति : २०८० बैशाख ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *