२०८३ कार्तिक २५ गते मङ्गलवार

सुर्खेतमा मंसिर ८देखि २७ गतेसम्म दशौं खेलकुद प्रतियोगिता सुरु गर्ने तयारी

दाङ, कार्तिक २४ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आगामी मंसिर ८ गतेदेखि २७ गतेसम्म दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुने भएको छ ।

यद्यपी आवश्यक पूर्वाधार अभावका कारण केही खेलहरू छिमेकी लुम्बिनी प्रदेशमा समेत सञ्चालन गरिने भएको छ । पौडी र सुटिङका खेलहरू बाँकेको नेपालगंजमा र बर्दियामा टेनिस र खो–खोका खेलहरू आयोजना गरिने छन् ।


कर्णाली प्रदेशका अन्य जिल्लाहरूमा समेत केही खेलहरू आयोजना गरिएको छ । सल्यानमा जुडो र कुस्ती , रुकुम पश्चिममा शारीरिक सुगठन, दैलेखमा आईटीएफ तेक्वान्दो, कालिकोटमा बुद्धिचालका खेलहरू आयोजना गरिने भएका छन् ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत खेलाइने कुल ३२ खेलमध्ये सबैभन्दा धेरै २३ खेल सुर्खेत आयोजना हुने छन् । ५ खेल कर्णालीका अन्य चार जिल्लामा र ४ खेल लुम्बिनी प्रदेशका दुई जिल्लामा आयोजना हुने तालिका सार्वजनिक गरिएको छ ।


प्रतियोगिताको औपचारिक उद्घाटनअघि मंसिर ८ गतेदेखि नै पुरूष तथा महिला क्रिकेट, पुरूष फुटबल, पुरूष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीसहित ६ वटा खेलको प्रतिस्पर्धाहरु सुरु भइ सकेका हुने छन् ।
तर, प्रतियोगिताको औपचारिक उद्घाटन भने मंसिर १६ गते मात्रै सुर्खेत रंगशालामा हुने भएको छ ।
प्रतियोगिताको समापन मंसिर २७ गते तय गरिएको छ ।

सुर्खेतमा प्रतियोगिताका अधिकांश ठूला मैदानी, इनडोर र मार्शल आट्र्सका खेलहरू सञ्चालन हुने छन् ।
त्यहाँ एथ्लेटिक्स, पुरूष फुटबल, क्रिकेट, भलिबल, हक्की, रग्बी र साइक्लिङ जस्ता खेलहरू आयोजना हुने छन् ।
त्यस्तै कराते, तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, उसु र बक्सिङजस्ता खेलहरु पनि त्यही हुने छन् ।


ब्याडमिन्टन, टेबल टेनिस, जिम्न्यास्टिक, ह्यान्डबल, स्क्वास र बास्केटबलपनि त्यही आयोजना गरिने छ । त्यस्तै कबड्डी, आर्चरी, भारत्तोलन, ईस्पोट्र्स र सेपाकताक्रो जस्ता खेलहरुपनि सुर्खेतमै आयोजना गरिने छन् ।

प्रकाशित मिति : २०८३ कार्तिक २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *