२०८३ बैशाख १७ गते बिहिवार

लुम्बिनीका तीन जिल्लामा सोलारबाट ६० मेगावाट विद्युत उत्पादन हुँदै

दाङ,चैत २५ । गोल्याण समूहले लुम्बिनी प्रदेशका तीन जिल्लामा सोलारबाट ६० मेगावाट विद्युत् उत्पादन गर्नका लागि ६ वटा सोलार विद्युत आयोजनाको निर्माण गरिरहेको छ ।

लुम्बिनी प्रदेशको बाँके, दाङ र कपिलवस्तु जिल्लामा निर्माण गरिएका र निर्माणाधीन ६ वटा सोलार विद्युत् आयोजनाबाट ६० मेगावाट विद्युत् उत्पादन गर्न लागिएको सो समूहले जनाएको छ ।

बाँकेको खजुरा गाउँपालिका ८ घिया गाउँमा निर्माण गरिएको सोलार विद्युत् आयोजनास्थलमा पत्रकारहरूसँग कुरा गर्दै गोल्याण समूहका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्यालले बाँकेको एउटा आयोजनाबाट १० मेगावाट विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको र अर्को आयोजनाबाट १० मेगावाट विद्युत् निकाल्ने कार्य अन्तिम चरणमा पुगेको बताए ।

उहाँले सोही प्रकारले दाङ जिल्लाको सतबरियामा निर्माणाधीन दुई वटा आयोजनाबाट २० मेगावाट विद्युत् उत्पादन गर्ने तथा कपिलवस्तु जिल्लाको चन्द्रौटाबाट पनि दुई वटा आयोजनाबाट २० मेगावाट विद्युत् उत्पादन गर्ने गरी काम गरिरहेको बताए ।

उनले बाँकेका दुई वटा आयोजनाबाट २० मेगावाट विद्युत उत्पादन भइसकेको जनाउँदै सरकारले समयमै विद्युत् खरिद सम्झौता ९पिपिए० गर्ने हो भने आगामी डेढ वर्ष भित्रै थप ४० मेगावाट विद्युत पनि राष्ट्रिय प्रसारण लाइनमा जोडिने बताए ।

दाङ र कपिलवस्तुमा रहेका चारवटै आयोजनाका लागि सरकारबाट विद्युत खरिद सम्झौता (पिपिए) गर्न ढिलाइ भइरहेकाले काम तीव्र गतिमा अगाडि बढ्न नसकेको जनाउँदै प्रमुख कार्यकारी अधिकृत अर्यालले चन्द्रौटामा ४४ बिघा जग्गा खरिद गरेर अन्य काम सुरु गरिसकेको र दाङमा जग्गा खरिद प्रक्रियामा रहेको बताए ।

विद्युत खरिद सम्झौता (पिपिए) गर्न सरकारलाई आग्रह गरिएको जनाउँदै निजीक्षेत्रले छिटो काम गर्न खोजे पनि सरकारी निकायको तर्फबाट हुने ढिलाइले समस्या हुने गरेको गोल्याण समूहले जनाएको छ ।

अबको ८ वर्षमा सो समूहले जलविद्युत् र सोलार विद्युत आयोजनाबाट ८ सय भन्दा बढी मेगावाट विद्युत् उत्पादन गर्ने गरी विभिन्न १४ वटा आयोजनामा काम गरिरहेको समूहका प्रमुख कार्यकारी अधिकृत अर्यालले बताए ।


यसैबिच गोल्याण समूहको मुख्य लगानी रहेको पियोर इनर्जी लिमिटेडले बाँकेको खजुरामा सोलारबाट २० मेगावाट विद्युत् उत्पादन गरिरहेकोमा १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ भने १० मेगावाट दुई महिनाभित्र जोडिने छ ।

राष्ट्रिय प्रसारण लाइनमा जोडिएको १० मेगावाटको परीक्षण सफल भएको आयोजनाका प्रमुख शिवि यादवले बर्ताए ।

उनले परीक्षण सफल भएको जनाउँदै करिब दुई सातापछि प्रसारण नियमित हुने बताए ।

प्रकाशित मिति : २०७९ चैत्र २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *