२०८२ असार ९ गते मङ्गलवार

सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा

घोराही, भदौ २३ । नेपाल राष्ट्र बैङ्कले दाङको तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ ।

नेपाल राष्ट्र बैङ्कको लघुवित्त संस्था सुपरिवेक्षण विभागले स्थलगत निरीक्षण र त्यसपछि गरिएका विशेष निरीक्षणका आधारमा समस्याग्रस्त घोषणा गरिएको बुधबार जनाएको हो ।

विभागका अनुसार सो लघुवित्त संस्थाको सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूले प्रत्यक्ष संलग्न भई संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह भएको देखिएको छ ।

प्राथमिक पुँजी कोष अनुपात १०.३१ प्रतिशतले ऋणात्मक भएकाले सो संस्थालाई २०७८ चैत २ गते समस्याग्रस्त घोषणा गर्नु नपर्ने कारण भए स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको थियो ।

संस्थाले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएको तथा नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ८६ ‘ख’को ‘क’, ‘ख’, ‘घ’, ‘च’ तथा ‘ञ’को अवस्था विद्यमान देखिएकाले उक्त संस्थालाई राष्ट्र बैङ्क ऐनको ८६ ‘ख’ बमोजिम समस्याग्रस्त वित्तीय संस्था घोषणा गरिएको विभागले जनाएको छ ।

सो वित्तीय संस्थाले सेयरधनी र सर्वसाधारणको हितविपरीत हुने कार्य गरेको, आफूले पूरा गर्नुपर्ने वित्तीय दायित्व पूरा नगरेको र गर्नसक्ने सम्भावना पनि नरहेको राष्ट्र बैङ्कले औँल्याएको छ ।

सो लघुवित्त संस्थाले न्यूनतम पुँजी कोष कायम गर्न पनि सकेको छैन । संस्थाको ७२ करोड रुपैया कुल पुँजीमध्ये त्यसको आधा अर्थात् करिब ३६ करोड रुपियाँ हिनामिना भएको राष्ट्र बैङ्कको अनुमान छ ।

उक्त लघुवित्त वित्तीय संस्थाले २०७५ सालमा राष्ट्र बैङ्कबाट लघुवित्तसम्बन्धी कारोबार गर्ने अनुमति पाएको थियो । त्यसअघि गैरसरकारी संस्थाका रूपमा काम गर्दै आएको थियो । ‘घ’ वर्गको अनुमति प्राप्त यस लघुवित्त संस्थामा प्रभु बैङ्क, साइन रेसुङ्गा विकास बैङ्क, साङ्ग्रिला विकास बैङ्क, आरएमडीसी लघुवित्त संस्थाले लगानी गरेको बताइएको छ ।

उक्त लघुवित्त संस्थामाथि राष्ट्र बैङ्कले गरेको सङ्कटग्रस्त घोषणाबारे बुझ्न पटक–पटक संस्थाको अध्यक्षमा किरण चौधरीलगायतका अधिकारीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

यसअघि संस्थाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत बुद्धिराम चौधरी, कर्मचारी सञ्जीव चौधरी, बिजौरी शाखामा कार्यरत यशोधा चौधरीलाई पक्राउ गरिएको थियो । उनीहरू एक महिनाअघि धरौटीमा रिहा भएका थिए ।

दाङको तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको संस्थाको दाङसहित बाँके, कपिलवस्तुलगायतका जिल्लामा शाखा कार्यालय रहेका छन् ।

प्रकाशित मिति : २०७९ भाद्र २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *