२०८३ कार्तिक २६ गते बुधवार

अनलाइन प्रणाली लागू भएपछि वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता लिनेको सङ्ख्या बढ्यो

काठमाण्डौ,साउन १७ । अनलाइनमार्फत नै आवेदन दिन सकिने भएपछि वैदेशिक रोजगार बोर्डबाट पाइने आर्थिक सहायता लिनेको सङ्ख्या बढेको छ ।

गएको आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका १४ सय ७९ श्रमिकका परिवारलाई अनलाइन प्रणालीबाट आर्थिक सहायता प्रदान गरिएको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिए ।

अघिल्ला वर्षहरूमा आर्थिक सहायता लिन काठमाण्डौमा रहेको वैदेशिक रोजगार बोर्डमै धाउन पर्ने नियम हुँदा एक हजारदेखि १२ सयको हाराहारीमा आवेदन आउने गरेमा गएको आर्थिक वर्षमा यो सङ्ख्या बढेर १४ सय ७९ पुगेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा १२ सय ४३ जना मृतक श्रमिकका परिवारले बोर्डबाट आर्थिक सहायता लिएका छन् ।

अहिले बोर्डमा आर्थिक सहायताका लागि आवेदन दिन पहिलेको तुलनामा निकै सजिलो छ । वैदेशिक रोजगार नियमावलीको पाँचौँ संशोधनले आर्थिक सहायताका लागि आफ्नो पालिकाबाटै निवेदन दिन सकिने व्यवस्था गरेको छ ।

‘अहिले त आफ्नै पालिकाबाटै आर्थिक सहायताका लागि निवेदन दिन सकिन्छ, खर्च गरेर काठमाण्डौ आएर होटेलमा बस्नु पर्दैन’ कार्यकारी निर्देशक श्रेष्ठले भने ‘पालिकामा गएर निवेदन दिएपछि बोर्डले कानुन अनुसार पाउने आर्थिक सहायता रकम बैङ्क खातामा नै पठाइहाल्छ, यही व्यवस्थाको कारण अहिले निवेदन दिने र आर्थिक सहायता पाउनेको सङ्ख्या बढेको हो ।’

यस्तै गएको आर्थिक वर्षमा वैदेशिक रोजगारीको क्रममा अङ्गभङ्ग वा गम्भीर बिरामी भएर स्वदेश फर्किएका २४५ जना श्रमिकले पनि अनलाइन प्रणालीबाटै बोर्डबाट पाइने आर्थिक सहायता पाएका छन् । आर्थिक वर्ष २०७७/७८ मा यो सङ्ख्या १४३ थियो ।

वैदेशिक रोजगार बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको श्रम अवधि भित्रै वा अवधि सकिएको एक वर्षभित्र मृत्यु भएमा नजिकको हकवालालाई ७ लाख रुपैयाँ र श्रमिक अङ्गभङ्ग वा गम्भीर बिरामी भएर फर्किएमा विशेषज्ञ टोलीको सिफारिसमा बढीमा ७ लाख रुपैयाँसम्म आर्थिक सहायता दिन्छ ।

आवश्यक कागजात र प्रक्रिया पुर्‍याएर बोर्डबाट पाइने आर्थिक सहायताका लागि आफ्नो पालिकाबाटै आवेदन दिन सकिन्छ । पालिकाले बोर्डमा आवेदन पाउनेछ । पालिकाले पठाएको आवेदनको जाँचबुझ गरी बोर्डले सम्बन्धी हकवालाको बैङ्क खातामा नै आर्थिक सहायता रकम पठाउँछ ।

सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत विभिन्न जिल्लाहरूमा रहेका आप्रवासी स्रोत केन्द्रले पनि यस्तो आवेदनको आवश्यक प्रक्रिया गर्न सहयोग र समन्वय गर्छन् ।

प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *