दाङ, साउन १ । सरकारले साउन १ गतेदेखि तीन सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्ट मोबाइल फोन नेपालमा ल्याउन नपाइने निर्णय गरेको छ ।
गत वैशाख १३ गतेदेखि सरकारले ६ सय डलससम्मका स्मार्टफोन आयात गर्न पाइने ब्यबस्था गरेको भएपनि पछिल्लो समय तीन सय डलर भन्दा बढी मूल्य पर्ने मोवाइल फोन आयातमा प्रतिबन्ध लगाइएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा वैशाख १३ गतेदेखि सरकारले आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित भदौं १४ गतेसम्म पु¥याउने निर्णय गरेको हो। अबदेखि नेपालमा १० प्रकारका सामग्रीहरू आयात गर्न पाइने छैन ।
अब असारसम्म कुरकुरे, लेज जस्ता स्न्याक्स खानेकुरा, बिदेशी मदिरा पनि नेपाल ल्याउन पाइने छैन।
यी हुन आयात रोकेका १० सामग्री
१ – कुरकुरे, लेज र यस्तै उत्पादनहरू
२– सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थबाहेक)
३– चुरोट तथा सूर्तिजन्य वस्तु (कच्चापदार्थ बाहेक)
४ – हिरा (औद्योगिक कच्चा पदार्थबाहेक)
५– ३ सय अमेरिकी डलरभन्दा बढी मूल्य भएका मोबाइल सेट
६– बत्तीस इञ्चभन्दा माथिका रंगीन टेलिभिजन
७– जिप, कार र भ्यानहरू (एम्बुलेन्स र शववाहन बाहेक)
८– एक सय पचास सिसीभन्दा धेरै क्षमताका मोटरसाइकल
९–सबै प्रकारका खेलौना
१० – खेल्ने तास
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार नेपाल राजपत्रमा सूचना प्रकाशित उल्लेखित १० सामग्रीहरू आयात गर्न नपाइने स्पष्ट पारेको छ ।
यहाँका दूतावासहरूले भने आफ्नो उपभोगका लागि मात्र त्यस्ता सामाग्री ल्याउन पाउने छन् । साउन १ गतेभन्दा अगाडि नै बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा भने १५० देखि २५० सिसीसम्मका मोटरसाइकल र ३०० देखि ६०० अमेरिकी डलरसम्म मूल्य भएका मोबाइल सेटको हकमा यो नियम लागू नहुने स्पष्ट पारिएको छ ।
देशमा विदेशी मुद्रा सञ्चिति कम भएकाले सरकारले अत्यावश्यक बाहेकका वस्तु आयातमा कडाइ गरेको हो।