तुलसीपुर, चैत २२ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले आगामी स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले सुबिधा जनक बहुमत हासिल गर्ने बताएका छन् ।
फरककोण संगको फोन सम्बादतमा पूर्व मन्त्रीसमेत रहेका गिरीले जिल्लाका दश मध्य अधिकाँस पालिकाहरुमा आफ्ना उम्मेदवारले सहज जित हासिल गर्ने दाबी गरेका हुन ।
‘बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबाट दाङमा काँग्रेसले सुबिधाजनक बहुमत प्राप्त गर्ने छ,’ नेता गिरीले भने ‘ कम्युनिष्टले सपना बाँडेर जितेपनि केही नगर्दा जनता निराश छन् ।
यही बेला जनताले उनीहरुलाई नजिक बाट चिन्न पाए । अब भुलेरपनि सचेत मतदाताले एमालेलाई भोट हाल्ने छैनन्।’
ठूला सपना बाँडेर मतदातालाई झुक्याएर अघिल्लो निर्वाचनमा कम्युनिष्टले जितेपनि उनीहरुले जनताको भन्दा आफ्नो मात्रै हितमा काम गरेको हुँदा अब उनीहरुको अनुहार उदांगो भइ सकेको नेता गिरीले बताए ।
‘मलाई विश्वास गर्नुस र जेठको पहिला हप्तासम्म प्रतिक्षा गर्नुहोस,’ उनले थपे ‘ यसपटक काँग्रेसले सुबिधाजनक बहुमत प्राप्त गर्छ नोट गरेर राख्नुहोस।’
काँग्रेसले उम्मेदवारको टुँगो कहिले लगाउँछ ? भन्ने प्रश्नमा अब छिट्टै टुँगो लगाउने नेता गिरीले बताए ।
यो पटक गठबन्धनलाई समेत समेट्नु पर्ने अवस्था भएको हुँदा केही ढिला भएपनि त्यसले राम्रै नजिता निकाल्ने उनले विश्वाश ब्यक्त गरे ।
तर, उनले तुलसीपुर, घोराही र लमही जस्ता नगरमा काँग्रेसकै उम्मेदवार हुने उनले दाबी गरे ।
वडादेखि प्रदेश प्रदेश,जिल्ला हुँदै प्रदेश पदाधिकारीले मेयरसम्मको टिकटको छिनोफानो गर्ने हुँदा त्यसमा कुनै पनि हस्तक्षेप हुन नहुने उनले बताए ।
‘लोकप्रियताका आधारमा जित्ने उम्मेदवारले टिकट पाउनु पर्छ,’ उनले भने ‘काँग्रेसले हार्दा बिगतमा विकाश निर्माण केही भएन अब जित्ने उम्मेदवारले टिकट पाउनु पर्छ ।’
काँग्रेस भित्र धेरै आकाँक्षीहरु हुनु स्वभाविक भएपनि टिकट जस्ले पाउँछ त्यसैलाई बिजयी बनाउन सबै एक भएर लाग्नुको बिकल्प नहुने नेता गिरीले बताए ।
‘मैले पाए ठिक नत्र हुन्न भन्ने मानसिकता गलत हो,’ उनले थपे ‘ जस्ले टिकट पाएपनि मन, वचन, कर्मले सहयोग गर्नेहरु नै सच्चा प्रजातन्त्रबादी हुन।’
तुलसीपुर, घोराही र लमहीमा क–कस्ले टिकट पाउँछन् ? भन्ने प्रश्न गर्दा – उनले सहजै चुनाब जित्ने र यस ठाउँको विकाशमा भूमिका खेल्न सक्ने ब्यक्तिले टिकट पाउने विश्वास दिलाए ।
उनले टिकट वितरणमा प्रदेश, जिल्ला, प्रदेश कार्य समितिको प्रमुख भूमिका रहने भन्दै त्यसमा आफ्नो भूमिका नरहने बताए ।
‘ तेरो मेरो होइन सहजै जित्ने र यो ठाउँको लागि केही गर्ने चाहाना भएका ब्यक्तिले टिकट पाउनु पर्छ,’ नेता गिरीले भने ‘पाटीको निर्णय जे हुन्छ पार्टीको एउटा सिपाही भएको नाताले म त्यसलाई शिरोधार्य गरेर अगाडि बढ्ने प्रण गर्छु ।’
सोमबार बेलुका गृह नगर तुलसीपुरमा नेता गिरी आउन थालेपछि उम्मेदवार बन्न चाहाना राखेका उम्मेदवारहरुको बेलुकादेखि नै बाक्लो जमघट हुन थालेको छ ।