घोराही, पुस १८ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति दाङले १४औं महाधिवेशनबाट निर्वाचित जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई स्वागत गरेको छ ।
घोराहीस्थित जिल्ला पार्टी कार्यालयमा आइतबार नव निर्वाचित केन्द्रीय सदस्यहरुलाई स्वागत गरिएको हो ।
कार्यक्रममा केन्द्रीय सदस्यहरुका साथै लुम्बिनी प्रदेशका पदाधिकारीहरुलाई पनि स्वागत गरिएको थियो ।
कार्यक्रममा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु दीपक गिरी, कृष्णकिशोर घिमिरे, योगेन्द्र चौधरी र गेहेन्द्र गिरी उपस्थित थिए ।
उक्त स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका नेता गिरीले पार्टीको संगठनलाई बलियो बनाउनका लागि नेता तथा कार्यकर्ताहरु सफा हृदय बनाएर अघि बढ्न आवश्यक रहेको बताए ।
‘ विगतका तिक्ततालाई भुल्दै सफा हृदयका साथ संगठन निर्माणमा जुट्न आवश्यक छ,’ गिरीले अगाडि भने ‘ पार्टीको महाधिवेशन आन्तरिक प्रतिष्प्रर्धा थियो । त्यो सकिसकेको छ । अव हातेमालो गरि पार्टी निर्माणमा लागौं।’
उनले पार्टीलाई संगठित र व्यवस्थित बनाउन नेतादेखि कार्यकर्ता सबैले संस्थागत रुपमा हातेमालो गरि अघि बढ्न आग्रह गरे ।
उनले सफा र खुल्ला मनले आफु अगाडि बढ्ने तथा त्यो भावनाले आउने सबैसंग हातेमालो गर्ने स्पष्ट पारे ।
पार्टीलाई अघि बढाउने विधि र प्रक्रिय अनुसार नै सबै अगाडि बढ्नु पर्ने तर्क गरेका उनले संस्थागत निर्णय नमान्दा पार्टी कमजोर बन्ने बताए ।
उनले पार्टी संगै भातृ संगठनहरुलाई समेत संगठित बनाएर अघि बढ्नु पर्ने जोड दिए ।
कार्यक्रमका अर्का बक्ता कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बस्नेतले समय संगै कांग्रेसलाई बलियो बनाउदै लैजानु पर्ने बताए ।
नजिकै आउदै गरेका तीनवटै निर्वाचन जित्न स्वर्गिय नेता खुमबहादुर खड्कालगायतका नेताहरुले निर्माण गरेको संगठनको जगमा इट्टा थप्न आवश्यकता नेता बस्नेतले औंल्याए ।
‘ कांग्रेस दाङमा नेताहरु दीपक गिरी र गेहेन्द्र गिरीको लडाईका कारण कमजोर हुने अवस्था आएको कुरा मैले सुन्दै आएको छु,’ उनले अगाडि भने ‘ अब बिगतका तितामिठा कुरा छोड्नुहोस र दुवै नेता एक ठाउँमा उभिनुहोस ।’
कांग्रेसले सजिल्यै जित्ने चुनावपनि दुई नेताहरुकै कारण हार्नु परेको बिगतबाट पाठ सिक्न नेता बस्नेतले आग्रह गरे ।
उनले भने,‘तपाईहरु एक ठाउँमा उभिनुस । पार्टीले कहिल्यै कसैसँग हार्नेछैन । त्यो सन्देश तपाईहरुले दिन आवश्यक छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा पूर्व सांसद योगेन्द्र चौधरीले कांग्रेसलाई बलियो र जनताको लोकप्रिय पार्टी बनाउनका लागि कांग्रेसले विकास र समृद्धिको कार्ययोजना बनाएर जनतासमक्ष जानु जरुरी रहेको जोड दिए ।
केन्द्रदेखि स्थानीयस्तरका सबै नेता तथा कार्यकर्ताको एउटै स्वर र मिलेर एककार भइ अगाडि बढे बिकाश र संबृद्धि संभव हुने उनले बताए ।
‘व्यक्तिगत स्वार्थमा नेताहरु लाग्नु भएन,’ उनले भने ‘ आफ्नाहरुको नाममा बिधि र प्रक्रिया मिच्ने प्रबृतिको अन्त्य नेताबाटै हुनुपर्छ।’
त्यस्तै केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले स्थानीय तहदेखि केन्द्रसम्म काँग्रेसलाई बिजयी बनाउन सबैले इमान्दारिताका साथ सार्थक प्रयास गर्नुपर्ने बताए ।
विगतको इतिहासलाई हेरेर त्यस्तै उर्जाशिल कांग्रेस बनाउन सवै लाग्नुपर्ने उनको जोड थियो ।
फकार्यक्रममा केन्द्रीय सदस्य गेहेन्द्र गिरीले बिगतका तिक्तता र गुट उपगुटलाई भुलेर नविन कांग्रेस निर्माणका लागि लाग्न जरुरी रहेको बताए । ‘समय बदलिएको छ । अब बिपीको सिद्धान्त,समाजबाद,राष्टियता र प्रजातन्त्रले मात्रै पुग्दैन,’ उनले अगाडि भने ‘जनताका आवश्यकता बुझेर अघि बढ्नु अति जरुरी छ ।’
अहिलेको आवश्यकता दलभित्रको प्रतिस्पर्धा नभएर कम्युनिस्ट तथा अबसरबादीका विरुद्धमा भएकाले त्यसका लागि सबै गुट उपगुट बिर्सिएर पार्टी निर्माणमा जुट्नुपर्ने उनको भनाई छ । नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।