२०८३ भाद्र १० गते बुधवार

हिउँदे अधिवेशनमा विधेयकको चाप

काठमाडौं,मंसिर २० । सङ्घीय संसद्को हिउँदे अधिवेशन मङ्सिर २८ गतेदेखि सुरु हुँदैछ । अघिल्लो अधिवेशन विधायिकी प्रक्रिया अघि बढाउन सङ्घीय संसद् असफल भएको थियो । हिउँदे अधिवेशनमा विचाराधीन विधेयक अघि बढाउने चुनौती छ । सङ्घीय संसद्मा अहिले पनि ५७ विधेयक विचाराधीन छन् ।

अघिल्लो अधिवेशनले विधायिकी प्रक्रिया अघि बढाउन सकेको थिएन । एउटा पनि कानुन तर्जुमा नगरी अधिवेशन अन्त्य गरिएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को निरन्तरको अवरोधका कारण विधायिकी प्रक्रिया अवरुद्ध भएको थियो । त्यसै कारण अधिवेशन कात्तिक १२ गते अन्त्य गरिएको थियो । तर आउँदो अधिवेशनमा पनि आफ्ना एजेन्डा यथावत रहेको जनाउ प्रतिपक्षी एमालेले दिएको छ ।

कानुन तर्जुमाको अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशनका लागि सङ्घीय संसद्मा ५७ विधेयक विचाराधीन रहेको सङ्घीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाले बताउनुभयो । विचाराधीनमध्ये प्रतिनिधि सभामा ४४ र राष्ट्रिय सभामा १३ विधेयक छन् । विधेयकमध्ये दर्ता तथा सदस्यहरूलाई वितरण मात्र भएका १५ विधेयक छन् । जसमा प्रतिनिधि सभामा १२ र राष्ट्रिय सभामा ३ वटा छन् ।

यस्तै ३१ विधेयक सभामा विचाराधीन छन् । विचाराधीनमध्ये २५ प्रतिनिधि सभामा र ६ राष्ट्रिय सभामा छन् । यस्तै विभिन्न समितिमा ११ विधेयक विचाराधीन छन्, जसमा प्रतिनिधि सभामा ७ र राष्ट्रिय सभामा ४ विधेयक छन् । यस्तै प्रतिनिधि सभामा लोक सेवा आयोग विधेयक, सैनिक ९पहिलो संशोधन० विधेयक, मिडिया काउन्सिल विधेयक छन् । लोक सेवा र मिडिया काउन्सिल दुवै विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएका हुन् ।

नेपाल विशेष सेवा, सङ्घीय निजामती सेवा विधेयक, नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, कारागार विधेयक, खानेपानी तथा सरसफाइ विधेयक, नीति अनुसन्धान प्रतिष्ठान विधेयक, सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक विचाराधीन छन् । नागरिकता विधेयक संसद्को दोस्रो अधिवेशनदेखि विचाराधीन छ । तीन वर्षभन्दा लामो समयदेखि विधेयक पारित हुन सकेको छैन ।

यस्तै नागरिक उड्डयन प्राधिकरण विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, योगमाया आयुर्वेद विश्वविद्यालय, तथ्याङ्क विधेयकलगायत पनि प्रतिनिधि सभामा विचाराधीन छन् । सबै विधेयक राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएका हुन् ।

यस्तै प्रतिनिधि सभाको समितिमा बीमा विधेयक, सूचना प्रविधि विधेयक, बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक समितिमा विचाराधीन छन् । राष्ट्रिय सभाको समितिमा प्रतिलिपि अधिकार, विद्युत् विधेयक, अनुगमन तथा मूल्याङ्कन विधेयक, अध्यागमन विधेयकलगायत विचाराधीन छन् ।

यस्तै विधेयक विचाराधीन रहेकै अवस्थामा सरकारले मङ्सिर १५ गते ६ वटा अध्यादेश ल्याएको छ । सङ्घीय संसद्मा लामो समयदेखि विभिन्न सहायता सम्झौता, सन्धि र प्रस्ताव पनि विचाराधीन छन् । दर्ता भएका १४ सन्धि सम्झौतामध्ये ६ वटा अनुमोदन भइसकेका छन् । अन्य आठ विचाराधीन छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *