
दाङ, मंसिर २ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत बिहीबार बाँकेका तीन पालिकामा मतदान जारी छ ।
बिबादका कारण राप्ती सोनारी गाउँपालिकामा भने दिउँसो साढे १ बजेसम्म मतदान सुरु हुन सकेको छैन । नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्व हत्याउन तीन जना मैदानमा उत्रिएका छन् ।
जिल्लाका आठ पालिका मध्य नेपालगञ्जकी उपमेयर उमा थापा मगर सभापति पदमा मैदानमा भिडेकी एक्ली महिला हुन । उनी संस्थापन इतर खेमाबाट निर्वाचनमा होमिएकी छन् । थप दुई प्रतिपर्धी प्रशान्त बिष्ट र विनोद रिजाल पार्टी भित्र संस्थापन पक्षधर हुन ।
पूर्व पत्रकार समेत रहेकी थापा जिल्लाबाट काँग्रेसको नेतृत्वको लागि निर्वाचनमा भिड्ने एक्ली महिला हुन । नेपालगञ्जमा दुई उपसभापति पदमा ६ जना, २ सचिव पदमा ५ जना र २ सहसचिव पदका लागि ६ जनाको बीचमा प्रतिपर्धा भइरहेको नेपालगञ्जका मतदान अधिकृत सुभास गौतमले जानकारी दिए ।
नेपलागञ्जमा सदस्य पदमा ५९ जनाको उम्मेदवारी परेको छ । नेपालगञ्जस्थित जिल्ला समन्वय समितिको सभा हलमा बिहान ९ः३० बजेदेखि मतदान जारी छ ।
त्यस्तै कोहलपुर नगर सभापति पदमा २ जना, उपसभापतिमा ४ जना, सचिवमा ४ र सहसचिव पदका लागि ४ जनाको बीचमा प्रतिष्र्धा भइरहेको छ । मतदान अधिकृत प्रभाकर भट्टराईले सबै सदस्य पदमा पनि उम्मेदवारी परेको जानकारी दिए ।
त्यस्तै बैजनाथ गाउँपालिकामा सभापति पदका लागि तीन जनाका बीचमा प्रतिपर्धा भइरहेको छ । उपसभापतिमा ४, सचिवमा ४ र सहसचिवमा ४ जना नेतृत्वको लागि मैदानमा उत्रिएको मतदान अधिकृत गणेशप्रसाद थारुले बताए ।
त्यस्तै जानकी गाउँपालिकामा उपसभापति पदमा मात्रै निर्वाचन भइरहेको छ । अन्य सबै पदमा बुधबार नै सर्वसम्मत नेतृत्व चयन भइ सकेको छ ।
मतदान अधिकृत पवन गुप्ताका अनुसार २ जना उपसभापति पदमा ३ जनाको उम्मेदवारी परेपछि बिहीबार बिहान तोकिएको समयदेखि मतदान जारी छ ।
यहाँ सभापति पदमा दयाराम यादव (अहिर), सचिवमा कुलराज जोशी र टिकानाथ यादव, सहसचिवमा रत्नबहादुर थापाक्षेत्री र हमिद अलि हलवाई सर्वसम्मत रुपमा चयन भइसकेका छन् ।
यो पालिकामा १८ जना खुल्ला सदस्य र समावेशीबाट ८ जना सदस्य पनि सर्वसम्मत चयन भइसकेका छन् ।

चार पालिकामा सर्वसम्मत नेतृत्व चयन
जिल्लाका आठ पालिका मध्य चार पालिकामा बुधबार नै सर्वसम्मत नेतृत्व चयन भएको थियो । डुडुवा गाउँपालिकामा सभापति विजयकुमार यादवसहित सबै पदमा एक÷एक जनाको उम्मेदवारी दर्ता भएको हुँदा कार्यसमिति पदाधिकारी सबैलाई निर्विरोध निर्वाचित घोषणा गरिएको मतदान अधिकृत हरिप्रसाद सुवेदीले जानकारी दिए ।
त्यस्तै नरैनापुर गाउँपालिकाका मतदान अधिकृत गोपाल गिरीका अनुसार यहाँ सभापतिमा मेराज अहमद खाँ, उपसभापति नितेशसिंह मौर्या र रामबिलाश मौर्य, सचिवमा धर्मेन्द्र यादव र रामचन्द्र यादव, सह–सचिव जगदिशप्रसाद कलवार र मन्नान अहमद अन्सारीसहित ३७ जनाको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
त्यस्तै खजुरा गाउँपालिकामा सभापतिमा रमेश सिजाली, उपसभापतिमा इरफान अहमद खाँ र भिमबहादुर सुनार, सचिवमा अर्जुनकुमार प्याकुरेल र रामजीप्रसाद पौडेल , सहसचिवमा मोहम्मद वकिल खाँ र सरिफ खाँ निर्विरोध निर्वाचित भएको मतदान अधिकृत महारुप जैसीले बताए । यो गाउँपालिकाको ४४ सदस्यीय कार्यसमिति पदाधिकारी सबै निर्विरोध भएको उनले बताए ।
खजुराबाट प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिध (अपांग) कोटामा गणेशबहादुर बोहरा क्षेत्री निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै जानकी गाउँपालिकामा उपसभापति पदमा मात्रै निर्वाचन भइरहेको छ । अन्य सबै पदमा बुधबार नै सर्वसम्मत नेतृत्व चयन भएको थियो ।