२०८२ चैत्र १ गते आइतवार

तुलसीपुरको दोघरेमा ५ युवा मिलेर गरेको सयपत्री खेती

तुलसीपुर, कात्तिक ८ । पँहेलपुर हजारी (सयपत्री) । माहुरी, भमरा भुनभुन गर्दै उडिरहेका । जो कोही यात्रुका नजर टक्क अडिन्छन् । आज सबैलाई आकर्षित गर्ने ठाउँ बनेको छ तुलसीपुरको बेलुवा । तपाँई तुलसीपुर– सुर्खेत सडक खण्डको यात्रा गर्दै हुनुहुन्छ भने तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दोघरेको सुन्दर सयत्रीले भरिएको बगैचा देख्न सक्नु हुने छ ।

यहाँ पाँच जना युवा मिलर संयुक्त लगानीमा फूल खेती गरेका हुन । जहाँ आज ७ कठ्ठा क्षेत्रफलमा मनमोहक ढंगले ढकमक्क सयपत्री फूलहरु हाँसी रहेझैं लाग्छन् । तपाँई हाम्रै स्वागतमा । ‘पक्कै हो, फूल कुनैपनि बोट विरुवाको सबैभन्दा सुन्दर र आकर्षक बस्तु हो । त्यसमा पनि एकैसाथ एउटै बारीमा फूलेका संयौं फूलहरुले कस्को मन नचोर्ला,’ फूल खेती गर्नेका एक जना युवा झग्गु भण्डारीले भने ‘ ढकमक्क फूलेका फूलहरु देख्दा बिचलित हाम्रा नयन न मनपनि शान्त हुने गर्छ ।’आँफू तनाबमा हुँदा दिनमा एक पटक फूलबारीमा पुगेर रमाउने गरेको भण्डारीले बताए ।

भण्डारीका अुनसार पाँच जना युवा मिलेर जग्गा भाडामा लिएर बेलुवामा तीन महिना पहिले सयपत्री फूल खेती गरेका हुन । जसमा आहा अभियान दाङका संयोजक काफ्ले,झग्गु भण्डारी, अर्जुन भट्टराई, मोहन वली र विशेष खड्का आवद्ध छन् ।
अभियानका संयोजक दीपक काफ्लेले आफ्नो मेहनत फूलिरहेको भन्दै खुसी साटे ।

फूल विभिन्न पूजाआजा तथा शुभकार्यमा अति महत्वपूर्ण मानिन्छ । तिहार जस्ता चाड पर्वमा फूलको महत्व झनै बढेर जान्छ । तिहारमा दिदी बहिनीले दाजु भाईलाई सयपत्री र मखमलीको माला लगाई दिने गर्छन ।

त्यसैलेपनि पछिल्लो समय तिहारलाई लक्षित गरि दाङका विभिन्न ठाउँमा फूल खेती हुने गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मा पनि घनश्याम केसी लगाएतका युवाहरु मिलेर ब्यबसायीक रुपमा यस्तै फूलखेति गरिरहेका छन् ।

युवाहरु विदेशिने लहर चलिरहेको बेला स्वदेश मै केही गरौं भन्ने उदेश्यका साथ आँफूहरु मिलेर फूल खेती सुरु गरेको केसीले फरककोणलाई बताए । तिहार आउन अझैं झन्डै दूई हप्ता दिन बाँकी नै छ । तर, आफ्नो बारीमा फूल तयार भइसकेको र सोचे अनुरुप बजार नपाएको हुँदा उत्पादित फूलहरु टिपेर आँफूहरुले बुटवल पठाउन थालेको केसीले जानकारी दिए ।

कुनैपनि शुभकार्य र तिहार जस्ता पर्वहरुमा बजारमा पाइने कृतिम फूल प्रयोग गर्नु राम्रो होइन । पछिल्लो समय यस्ता चाडपर्व र शुभकार्यहरुमा अप्राकृतिक फूलहरु प्रयोग गरेको पाइन्छ । बास्तवमा त्यो सही हैन । हाम्रो संस्कार र संस्कृतिको बर्खिलाप हो । फूल खेतीको ब्यबसायीक खेति नहुनु र बाह्रैमास फूलको अभाव हुनुले गर्दा मानिसहरु बाध्य भएर अप्राकृतिक रुपमा बजारमा किन्न मिल्ने फूलहरु किन्न तथा प्रयोग गर्न बाध्य भएका हुन्छन् ।

तर, पछिल्लो समय युवाहरु नै ब्यबसायिक पुष्प खेतीमा आकर्षित हुँदे गएको हुँदा त्यो अभाव सजिलै परिपूर्ती हुने आशाहरु गर्न सकिन्छ । तिहारको भाइ टीकामा पनि प्राकृति फूलहरु जस्तै हजारी र मखमली फूलको प्रयोग नै उचित मानिन्छ ।

फूल उत्पादनको लागि नेपालको माटो उपयुक्त भएको र नेपालले विदेश निर्यात गरेर पनि प्रशस्त आम्दानी गर्न सक्ने संभावना रहेको सम्बधित क्षेत्रका बिज्ञहरुले बताउँदै आएका छन् । जग्गा बाँझो छोडेर बिदेश जानु भन्दा स्वदेशमै बसेर यस्तै फूलखेती गर्न सके त्यसले देशको अर्थतन्त्र मजबुत पार्न सहयोग पुग्नेमा कसैको दूईमत नहोला ।

पहिले पहिले शौखका रुपमा मात्रै आँगनमा फूल रोप्ने गरिन्थ्यो ।पछिल्लो समय व्यवसायिक फूल खेतीको संख्यामा वृद्धि हुँदै गइरहेको छ । पछिल्लो समय युवाहरुको फूलको व्यवसायिक खेती तर्फ आकर्षित हुँदै गएपछि त्यसले धेरै खुसीको सञ्चार गरेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *