
तुलसीपुर, साउन २२ ।
सवारी दुर्घटनामा ज्यान गुमाएकी तुलसीपुरकी २१ बर्षीया कल्पना केसी डाँगीका घर परिवार, आफन्त र तुलसीपुर उपमहानगरपालिकाका पदाधिकारीका बीचमा पाँच बुँदे सहमति भएको छ ।
शुक्रबार इलाका प्रहरी कार्यालय तुलसीपुरमा पीडित पक्ष र उपमहानगरका पदाधिकारी बीचमा सहमति भएपछि कल्पनाका घर परिवार तथा माइती पक्ष उनको पोष्ट मार्टम पछि शब बुझ्न राजी भएका हुन ।
सहमति पत्र अनुसार उपमहानगरको तर्फबाट किरिया खर्च बाफत तत्काल एक लाख रुपैंयाँ उपलब्ध गराउने उल्लेख छ ।
त्यस्तै कल्पनाका घर परिवार र माइती पक्षका एक / एक जनालाई स्थानीय तहको प्रचलित कानुन अनुसार एक महिना भित्र रोजगारी उपलब्ध गराउने सहमति भएको छ । मृतक कल्पनाका परिवारलाई कानुन अनुरुप उपलब्ध हुने बिमा बाफतको रकम घर परिवारलाई बुझाउने सहमति भएको छ ।
त्यस्तै कल्पना केसी डाँगीको संझनामा उनको गाउँ तुलसीपुर – ११ कटाँहामा एक महिना भित्र दश लाख बराबरको प्रतिक्षालय निर्माण गर्ने र घटना घटाउने ब्यक्ति चालकहरुलाई प्रचलित कानुन अनुरुप कारबाही गर्ने सहमति भएको छ ।
सहमति पत्रमा तुलसीपुरका मेयर टीकाराम खड्का, प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धै र पीडित परिवारको तर्फबाट सरु डाँगीले हस्ताक्षर गरेका छन् ।
इप्रका तुलसीपुका प्रमुख डिएसपी होबहादुर पराजुलीका अनुसार मोटरसाइकल चालक सल्यानको शारदा नगरपालिका – ९ का ३१ बर्षीय भुपेन्द्रसिंह पुन र नगरपालिकाको टिप्पर चलाक तुलसीपुर – ११ बेलगनाका २७ बर्षीय गोपाल चौधरीलाई सवारी ज्यान सम्बन्धि मुद्दा चलाउने गरि म्याद थपका लागि जिल्ला अदालत घोराही पठाइएको छ ।
प्रहरीका अनुसार बिहीबार दिउँसो साढे १२ बजेतिर तुलसीपुर बजार बाट राप्ती राजमार्ग हुँदै दक्षिण गुम्ह्रा चोक तर्फ गइ रहेको तुलसीपुर उपमहानगरपालिकाको फोहर बोक्ने रा १ ग २२ गाडी (टिप्पर) र कल्पना सवार रा ४ प ७९४५ नम्बरको स्कुटी एकै दिशामा गइ रहेका थिए ।
त्यही क्रममा कल्पना सवार स्कुटीलाई दक्षिण बाट उत्तर बजार तर्फ जाँदै गरेको क.प्र. ०२–००३ प २४४९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्कर बाट सन्तुलन गुमाउँदै सडकमा लडेकी कल्पनालाई फोहर बोक्ने गाडीको पछाडिको चक्काले किचेको थियो । गम्भीर अवस्थाकी कल्पनालाई तत्कालै उपचारका लागि राप्ती प्रादेशिक अस्पताल पुर्याइएको भएपनि उपचारका क्रममा उनको दिउँसो साढे १ बजेतिर मृत्यु भएको थियो ।
यो खबर सार्वजनिक हुनासाथ कतरामा रहेका उनका श्रीमान ३२ बर्षीय मनोज डाँगी स्वदेश फर्किएका थिए । उनी शुक्रकार दिउँसो तुलसीपुर आइ पुगेका थिए । श्रीमति कल्पनाको मृत्यु भएको २४ घन्टा भित्रै श्रीमान मनोज कतार बाट तुलसीपुर आइ पुगेका थिए ।
मनोज कतार बाट फर्किना साथ मनोज कल्पनाको शब राखिएको ठाउँमा पुगेका थिए ।
मनोज र कल्पनाका बीचमा गत मंसिर २१ गते मात्रै मागी बिहे भएको थियो । कल्पनाको माइती घर सल्यानको छत्रेश्वरी गाउँपालिका – १ माइती घर हो ।
बिहे पछि मनोज करिब दुई महिना घरमा बसेर रोजगारीको खोजीमा कतार उडेका थिए ।
दोषी माथि कारबाही र उचित क्षतिपुर्तीको माग गर्दै बिहीबार बेलुकी तुलसीपुरमा पीडित पक्षले पर्दशन गरेका थिए ।
