२०७८ साउन २० गते बुधवार

हिम्मत र साहासले ‘कालिका’ले आज प्राप्त गरेको सफलता

घोराही, असार ६ । घोराहीकी कालिका मगरलाई दश बर्ष अघि कम्ता पीडा थिएन । घोराही उपमहानगरपालिका वडा नम्बर ३ गैरीगाँउ निबासी २०६५ सालमा कालिकाले श्रीमानको मृत्यु हुँदा पृथ्बी नै भासिए जस्तो भन गरेकी थिइन ।क्यान्सरका बिरामी श्रीमानको औषधि उपचारमा लाखौं रुपैया ऋणधन गरेरै खर्च गरिन । तरपनि श्रीमानलाई बचाउन नसक्दाको पीडाले आजपनि उनको गला अबरुद्ध हुन्छ ।

दूई नाबालक छोरासहित घरको सम्पूर्ण जिम्मेवारी कालिकाको कलिलो काँधमाथि जो आइपुगेको थियो । त्यो समय उनले गरिब र दुःखीको साहारा कोहीपनि हुँदो रहेन छ , भन्ने बुझेकी थिइन । एक मनले सोच्थिन, यो जिन्दगी भौतिक रुपमै सदाको बिसाई दिउँकी ? तर, उनले कलिका छोराहरुको अनुहार संझिन्थिन । उनीहरुको मायाले त्यसो गर्न दिएन । त्यसपछि उनी हिम्मतका साथ परिस्थितिको सामना गर्ने अठोटका साथ उभिइन । समय अनुसार घरको जिम्मेवारी सँगै सामाजिक जिम्मेवारी पनि निर्वाह गर्न थालिन । त्यसैले आज मगरको जीवनमा खुसीका कोपिलाहरु फक्रदै गएका छन् ।

कलिकाको हिम्मतले उतिखेर २ बर्षको काखे छोरा र १ कक्षामा पढ्ने छोरा अहिले १२ र १० कक्षामा पढ्छन् । देवर जागिरे छन् । त्यसैले पनि घरखर्च चलाउन राहत भएको कालिका मगरको भनाई छ । बिक्रम संबत २०४० सालमा जिल्लाकै बिकट क्षेत्र बंगालाचुली गाँउपालिका हाँसीपुरमा जन्मिएकी कालिकाले चाहेरैपनि घरायसी अवस्थाले गर्दा धेरै पढन पाइनन् ।

बिबाह बन्धनमा बाधिएको ९ बर्षमै श्रीमान् गुमाएपछि कालिकाको जीबनमा थूलो बज्रपात पर्यो । श्रीमान् गुमाउनुको पीडा एकातिर थियो भने अर्कौ तर्फ घर ब्यवहार चलाउने र कलिला छोराहरुको सुन्दर भविष्य निर्माणको ठूलो चिन्ता थियो ।

मनका बह कसैलाई नकह भने जस्तै सबै पीडा उनले लुकाएरै संघर्ष सुरु गरिन ।जब कालिका तत्कालिन महिला बिकास परियोजना अन्र्तगत शुरु भएको महिला समुहमा बि.स.२०६७ सालमा आवद्ध भइन त्यसपछि उनलाई बल्ल जीवनले किनारा पाएको आभास भयो । आफु र बालबच्चाको लागि केही गर्न सक्छु भन्ने हिम्मत पलायो ।

जतिखेर कालिका कै नेतृत्वमा २५ जनाको समुहमा ज्योति परिवार महिला समुह गठन भयो, उनी समहुको नाइके भइन । समुह गठन भएपछि ग्रामिण महिला उत्थान केन्द्र दाङ र हेफर इन्टरनेशनल नेपालले बिभिन्न किसिमका तालिमहरु दिए ।

जस्तै किसानका लागि आधारशिला तालिम, बाख्रापालन तालिम,प्रजनन स्वास्थ्य तथा सरसफाई तालिम,पूर्ब सहकारी शिक्षा तालिम,मौसमी तथा बेमौसमी तरकारी खेति तालिम,घाँस बिउबिजन सहयोगका साथै घाँस उत्पादन सम्बन्धि तालिम, भान्सा ब्यवस्थित र स्वास्थ्यका लागी सुधारिएको चुल्हो,बाख्राको लागि आधुनिक खोर निर्माण सहयोग तथा खोर निर्माण तालिम कालिकाले पनि लिइन । ती तालिमहरुबाट उनले घर बाहिरका धेरै कुरा जान्ने र बुझने अबर पाइन ।

सुरुका दिनमा त्यस्ता तालिमहरु र समुहमा जाँदापनि कतिले कुरा काट्न खोजे । तर, कालिका गलत थिइनन् । उनले नचाहिने कुराको वास्ता गरिनन् । कालिकाले सुरुका दिनहरुमा पाएका तालिमहरु र उपहारस्वरुप पाएको २ वटा बाख्रा नै उनको जीवनको टर्निङ प्वान्ट बन्न पुग्यो ।

ती बाख्राका पाठाबाट बाख्रा पाल्न सुरु गरेकी कालिकाले आज बर्षेनी एक डेढ लाखको खसी बोका बिक्रिगर्दै आएकी छन् ।
अहिले कालिकासंग दश वटा बाख्राहरु छन् ।कालिकाले तरकारी खेतिपनि गर्दै आएकी छन् ।थोरै भएपनि लोकल कुखुरा र बगुंरपनि पालेकी छन् । ती सबैको बिक्रि गरेर कालिकाले बार्षिक ३ लाखसम्म आम्दानी गर्ने गरेको बताइन ।

उत्पादिन बस्तु बिक्री गर्न बजारको कुनै समस्या छैन । आफु आवद्ध घोराही ३ झिङ्गनीमा रहेको सुुधार सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले बजारिकरणको भूमिका निर्बाह गरिदिन्छ । ग्रामीण महिला उत्थान केन्द्र दाङ र हेफर इन्टरनेशनल नेपालले अहिले पनि सहकारीलाई सबलीकरण गर्न सहयोग गर्दै आएको छ ।

सहकारीमा परियोजना मार्फत सहयोग (काम) हुन थालेपछि बजारिकरण लगायत सहकारी सम्बन्धि अन्य जानकारी पाउन थालेको कालिकाले बताइन ।

२०६७ सालतिर समुहका लागि मासिक १० रुपंैया बचत उठाउन समेत हम्मेहम्मे पर्ने कालिकाले आज मासिक १ हजार बचत गर्न थालेको जानकारी दिइन ।

शुरुवातमा उनलाई समुहमा लागेपछि बिग्रन्छे भन्नेहरुले अहिले उनले नेतृत्व गरेको सहकारीबाट बिनाधितो कर्जा लिन आउँदा खुसी लाग्ने गरेको कालिकाले बताइन । सहकारीकै कारण स्थानीयले सायनिक मलको सुबिधा लिन पाएको र उत्पादित सम्पूर्ण सामाग्रीहरुको बजारिकरण समेत हुने गरेको कालिकाले बताइन ।

कालिका आफैले पनि समय समयमा आफनो कृषि ब्यावसायलाई चलायमान बनाउनका लागि सहकारी बाटै बिना धितो कर्जा लिदै आएकी छन् । हाल आफुले २ लाख कर्जा लिएर आफनो बाख्रापालन र तरकारी खेति गर्दै आएको कालिकाले जानकारी दिइन ।

बाख्रापालन,तरकारी खेति र सहकारी समुहमा रमाउदै आएकी कालिकालाई ग्रामीण महिला उत्थान केन्द्र दाङ र हेफर इन्टरनेशनल नेपालको परियोजना मार्फत सहकारीमा आएको सेवा सुबिधाले धेरै दिदी बहिनिको जीबन परिवर्तन गर्न सहयोगी बनेको छ ।

प्रकाशित मिति : २०७८ असार ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *