
दाङ, साउन २३ ।
सल्यानमा शिकार खेल्न गएका एक जनाको बन्दुकको गोली लागेर मृत्यु भएको छ ।
जिल्लाको कालिमाटी गाउँपालिका –२ बराहडुंगाका ६२ वर्षीय टोपबहादुर पुन मगरको शुक्रबार राति गोली लागेर घटनास्थलमै मृत्यु भएको अवस्थामा प्रहरीले शब फेला पारेको थियो ।
मगरको शब कालिमाटी –३ स्थित धरानी सामुदायिक वनमा फेला परेको जिल्लाका निमित्त प्रबक्ता प्रहरी निरीक्षक इश्वर राकायाले फरककोणलाई बताए ।
प्रहरीले संगै शिकार खेल्न गएका आठ जना पक्राउ गरेको छ ।
प्रहरीले संगै सिकार खेल्न गएका मध्य कालिमाटी –३ बल्लेका ५६ वर्षीय मानबहादुर विक, ४३ वर्षीय जुद्रबहादुर रेउले, ३२ वर्षीय खुमेन्द्रबहादुर रेउले, ३५ वर्षीय सेइतराम थापा, ५९ वर्षीय कुलबहादुर बुढाथोकी र कालिमाटी–२ बराहडुंगाका ७२ वर्षीय पदमबहादुर श्रीस मगरलाई शुक्रबार राति नै नियन्त्रणमा लिएको निमित्त प्रबक्ता राकायाले बताए । अनुसन्धान बाट खुलेपछि थप दुई जनालाई शनिबार बेलुकी पख नियन्त्रणमा लिइएको थियो ।
प्रहरीले मगरको मृत्युको घटना बारे राति १० बजेपछि सूचना पाएको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय कालिमाटी बाट प्रहरी बरिष्ठ नायव निरीक्षक मनोजसिंह बोहरा नेतृत्वको पाँच जनाको टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलबाट एउटा लोडेड बन्दुक र अर्कौ खाली बन्दुक बरामद भएको पनि जनाएको छ ।
घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
मगरको शब पोष्ट मार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ ।
