काठमाडौं, फागुन १७ । राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले कानून कार्यान्वयनका लागि निरन्तर अनुगमन र खबरदारी गर्न सञ्चारजगतको महत्वपूर्ण भूमिका रहने बताएकी छन् ।
१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा सोमबार सिंहदरबारमा आयोजित पत्रकार महिलाहरुसँगको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सभा उपाध्यक्ष दहालले कानून कार्यान्वयनको अनुगमन गर्ने निकायलाई सञ्चारमाध्यमले गर्ने खबरदारी प्रभावकारी हुने बताइन ।
संसदले लैंगिक संवेदनशील र जनमैत्री ऐन कानूनहरु बनाएको भए पनि ती कार्यान्वयन पक्ष निकै फितलो रहेको भन्दै उनले सञ्चार क्षेत्रले सम्बन्धित पक्षलाई खबरदारी गरिरहनुपर्ने बताइन ।
उपाध्यक्ष दहालले लैंगिक विभेद, महिला हिंसाका घटनाहरु न्यूनीकरण गर्न आफ्नो ठाउँमा सक्दो कदम चाल्ने प्रतिबद्धता व्यक्त गरिन ।
कार्यक्रममा सहभागी पत्रकार महिलाहरुले नेपालमा कानून निर्माण पर्याप्त भए पनि त्यसको कार्यान्वयन पक्ष निकै कमजोर रहेको बताएका थिए। कानून निर्माण भइसकेपछि त्यसको कार्यान्वयन नभएको, अदालतले गरेको फैसलाको समेत कार्यान्वयन गराउन निकै झन्झटिलो प्रक्रियाबाट गुज्रिनु परेको, कानून कार्यान्वयन भए÷नभएको अनुगमन र खबरदारी गर्ने संयन्त्र नै नभएजस्तो अवस्था रहेको सहभागीहरुले बताएका छन्।
कार्यक्रममा पत्रकारहरु बन्दना राणा, बबिता बस्नेत, यशोदा तिम्सिना, निर्मला शर्मा, संगीता खड्का, नितु पण्डित, चन्दा विष्ट, विनु सुवेदी, भाषा शर्मा, शोविता रिसाल, रुबी रौनियार, सविता शर्मा, कमला हमाल, श्वेता सिन्हा, लक्ष्मी बस्नेत लगायतले धारणा राखेका थिए ।