लक्ष्मण बस्नेत
तुलसीपुर, मंसिर १४ ।
दाङको तुलसीपुरमा प्रथम दुधेना कप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । दुधेना फुटबल क्लव तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ को आयोजनामा सञ्चालन गरिन लागेको जिल्लास्तरीय खुला फुटबल प्रतियोगिता यही मंसिर २२ गतेदेखि सुरु हुनेछ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ दुधेनामा रहेको गौरीचौर खेल मैदानको व्यवस्थापन तथा ग्रामीणस्तरमा खेलकुदको अभिवृद्धिसँगै नयाँ पिढीलाई फुटबल खेलमा स्थापित गर्ने उद्देश्यका साथ गौरीचौर खेल मैदानमा आयोजना गरिएको प्रतियोगितामा जिल्लामा स्थापित डेढ दर्जन फुटबल क्लवको सहभागिता रहने आयोजक क्लवका अध्यक्ष प्रकाश विकले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले नगद ५० हजार, ट्रफी मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता र तृतीय स्थान हात पार्ने टिमले क्रमशः नगद २५ र १५ हजार ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष विकले बताए ।
त्यस्तै प्रतियोगिता उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीमध्ये उत्कृष्ट गोल रक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, र सर्वाधिक गोलकर्तालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।
यसैबीच आयोजक क्लवका अध्यक्ष प्रकाश विक र सचिव चुडामणि बस्यालले प्रतियोगितालाई सार्थक र परिणाममुखी बनाउन तयारीलाई तिव्र पारिएको बताए । जस अनुसार प्रचार प्रसार, खेलमैदान मर्मत, आर्थिक व्यवस्थापन, टिम दर्तालगायतका काम जारी रहेको छ ।