२०८३ मङ्सिर २ गते मङ्गलवार

लुम्बिनी लायन्स एनपीएलको फाइनलमा प्रवेश

दाङ , मंसिर १ ।

लुम्बिनी लायन्स एनपीएलको फाइनलमा प्रवेश गरेको छ ।

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तगर्त मंगलबार बेलुकी सम्पन्न पहिलो क्वालिफायर खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै फाइनलमा प्रबेश गरेको हो ।
साविक विजेता लुम्बिनी लायन्सले यो संगै आँफुलाई फेरि पनि ट्रफिको प्रमुख दाबेदारका रुपमा आँफुलाई उभ्याएको छ ।
सुदूरपश्चिमले प्रस्तुत गरेको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर २० बल बाँकी छँदै पुरा गरेको थियो ।
लुम्बिनीको जितका लागि श्रीलंकाली ब्याटर निरोशन डिक्वेलाले उत्कृष्ट ब्याटिङ गरे । उनले ३७ बलमा ७ चौका र २ छक्कासहित अविजित ५९ रन जोडे ।
तर, लुम्बिनीले पहिलो ओभरमै डार्सी सर्टलाई गुमाएको थियो । स्कट कुगेलेइनको बलमा सर्ट खाता नखोली आउट हुन पुगेका थिए ।
आशिफ शेखले पनि लामो समय क्रिजमा टिकेनन् । उनी ८ बलमा ४ रन बनाउँदै तेस्रो ओभरमा हेमन्त धामीको बलमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भए । लुम्बिनीले ३.२ ओभरमा २४ रन जोड्दा दुई विकेट गुमाएको थियो ।

त्यसपछि डिक्वेला र कप्तान रोहितकुमार पौडेलले तेस्रो विकेटका लागि ३८ रनको साझेदारी गरे । रोहितले २८ बलमा २१ रन जोडे । उनी १०औँ ओभरमा थारिन्दु रत्नायकेको बलमा अनिल खरेलबाट क्याच आउट भएका थिए ।

सन्दीप जोरा र डिक्वेलाले चौथो विकेटका लागि २३ रन जोड्न सफल भए । जोरा १३ बलमा ८ रन बनाएर १४औँ ओभरमा आउट भए । उनलाई पनि रत्नायकेले नै आउट गरे ।
डिक्वेला र दिलीप नाथले अविजित २३ रनको साझेदारी गर्दै जित दिलाए । नाथले १२ बलमा १० रन र डिक्वेलाले ३२ बलमा अर्धशतक पूरा गरे ।
कीर्तिपुरस्थित टियू मैदानमा टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ८ विकेटको क्षतिमा १०५ रन जोडेको थियो ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन जोड्न सफल भए । उनले ५१ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए । इशान पाण्डेले ३३ बलमा २७ रन जोडे ।
सुदूरपश्चिमले पहिलो ओभरको पहिलो बलमै जर्ज मुन्सेलाई गुमाएको थियो । रुबेन ट्रम्पलम्यानको बलमा मुन्से खाता नखोली आउट भए । त्यसपछि विनोद भण्डारी ३ र थानुका दबारे ३ रनमा पेभेलियन फर्किएका थिए ।

सुदूरपश्चिमले ३.१ ओभरमा ८ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो । त्यसपछि दीपेन्द्र र इशानले चौथो विकेटका लागि ५६ बलमा ६४ रनको महत्वपूर्ण साझेदारी गरे ।
इशान २७ रन बनाएर १५औँ ओभरमा रनआउट भए । त्यसपछि थारिन्दु रत्नायके १ र आरिफ शेख ४ रनमा आउट भए। आरिफको विकेट खस्दा सुदूरपश्चिमको स्कोर १७.५ ओभरमा ९४ रन थियो।

दीपेन्द्रले एक छेउबाट इनिङ्स सम्हाल्दै ४५ बलमा अर्धशतक पूरा गरे । तर, २०औँ ओभरको दोस्रो बलमा उनी शेर मल्लको बलमा डार्सी सर्टबाट क्याच आउट भए । दीपेन्द्रको विकेट १०१ रनमा खसेको थियो । अन्तिम बलमा स्कट कुगेलेइन पनि रनआउट भए । उनले ५ बलमा ७ रन बनाए । अनिल खरेल २ रनमा अविजित रह े।

साबिक बिजेता लुम्बिनीले अब उपाधिका लागि फाइनल खेल्नेछ । सुदूरपश्चिमसँग पनि अझैं फाइनल पुग्ने अर्कौ अवसर बाँकी छ ।

सुदूरपश्चिमले बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ । त्यसअघि बुधबार एलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोज खेल्ने छन् । त्यो खेलको विजेताले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रकाशित मिति : २०८३ मङ्सिर २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *