२०८२ मङ्सिर २२ गते सोमवार

दाङका थारु समुदायले धुमधाम पूर्वक अष्टमी पर्व मनाए


दाङ, भदौ ७ । दाङका थारू समुदायले धुमधाम पूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाएका छन् । कृष्ण (कान्हा) को विशेष पूजा आरधना गर्ने गरिन्छ । किशोरीहरु योग्य वर पाउने कामनार्थ र विवाहित महिलाहरु पतिको दिर्घायुको व्रत बस्छन् ।

कृष्ण पक्षको अष्टमी तिथिमा यो पर्व मनाउन गरिन्छ । थारु भाषामा यसलाई ‘अष्टिम्की’ भन्ने गरिन्छ । थारू महिलाहरुले भाले बास्नु भन्दा अगाडि नै उठेर सामुहिक रुपमा दर खाए पछि दिभर ब्रत बस्छन् । बेलुकी पख सामुहिक रुपमा गाउँको अगुवा महटावाँको घरमा गएर बर्तालुहरुले पालैपालो श्रीकृष्णको पूजा आरधना गर्छन् ।

घरको कूल देवतालाई घरमूलीले सम्झेर बत्ती बालेर थालीमा अक्षता, छेउछेउमा घुन्यासरको फूल,सालको पातमा सिन्दुर (सेन्डुर), माटोको पालामा बत्ति बालेर राखिएको हुन्छ ।

अष्टिम्की टिक्न (पूजा गर्न) जाँदा सबैभन्दा पहिले घरमूलीले सुरुमा थाली उठाइसकेपछि मात्र अरुले क्रमशः रुपमा लाइनबद्ध तरिकाले उठाउने गरिन्छ । टिक्ने स्थान पुगेपछि पनि घरमूलीदेखि नै सुरु हुन्छ । घरमूलीले नटिक्दा सम्म (पूजा नगर्दा सम्म) कसैले टिक्न (पूजा) गर्न पाउँदैन । घरमूलीले पूजा गरी सकेर अनुमति दिएपछि मात्रै अरुले सुरु गर्न पाउँछन् । यसरी कृष्ण (कान्हा) को पूजा गर्ने बेला थारु समुदायका महिलाहरुले भगवान कृष्णको सम्झनामा गीत पनि गाउने गर्दछन् ।

गीत गाउँदै पूजा गर्ने र पूजा गरी सकेपछि पुनः सबै दिदीबहिनीहरु आ–आफ्नो घरमा गई थारुहरुको परम्परा अनुसार विशेष गरी कृष्णलाई मनपर्ने परिकार दही, केरा,काँक्रा, अम्बा लगाएतका फलफूलले कृष्णलाई पुजा गर्ने गर्दछन् ।

साँझ घर फर्किएर घरमा तयार पारिएको दही, लौनी, काँक्रा, अम्बा, केरा, स्याउ लगायत फलफूल पहिले आफ्ना दाजुभाईका लागि आफ्नो भागबाट छुट्याएर राख्छन् । थारुहरुले हरेक पर्वमा पुज्ने अग्नि देवताको लागि पनि भाग छुट्याइन्छ । अष्टमीमा अग्नी देवतालाई पूजा नगरी खान नमिल्ने हुनाले पहिले अग्नी देवताको पुजागर्ने गरिन्छ । त्यसपछि बल्ल दाजुभाईका लागि कोसेली छुट्याएर बर्तालु महिलाहरुले खाने गर्छन ।

पुजा समापन पछि बिशेष परिकारका साथ रमाईलो गरि एक आपसमा बाँडीचुँडी खानपिन गर्ने चलन थारु समुदायमा छ । रातभर सामुहिक रुपमा कृष्ण अर्थात् कान्हाको सम्झनामा गीत गाउने गरिन्छ । रातभरी कृष्णको अगाडि बालिएको बत्ति निभ्यो भने मागेको मनोकांक्षा पुरा नहुने विश्वास थारु समुदायमा छ । त्यसैले बत्ति निभ्न नपावस भन्दै रातभरी जाग्राम बसेर कृष्णको सम्झनामा गीत गाउने गरिन्छ ।

अष्टमीमा दिदी वहिनीले दाजुभाइलाई दिने कोसेली (अग्रासन)को विशेष महत्व छ । यसले दाजुभाई र चेली बीचको सम्वन्ध प्रगाढ बनाउन भूमिका खेल्दै आएको छ ।

अग्रासन विवाहित वा अविवाहित दुवैले आफ्ना दाजुभाईका लागि छुट्याउने गर्छन् । कृष्णको पूजा गरेर अग्रासन छुट्एर अविवाहित युवतीहरुले घरको दाजुभाइलाई खान दिने र विवाहित महिलाहरुले माइतीमा रहेका आफ्नो दाजुभाइलाई अग्रासन (उपहार)दिन जाने प्रचलन थारु समुदायमा रहँदै आएको छ । आफ्नै दाजुभाई नहुनेले नजिकको नाता पर्ने दाजुभाइलाई त्यो उपहार दिने गर्छन ।

अग्रासनले भावनात्मक सम्बन्धका प्रतिक मात्र नभई दाजुभाई दिदी बहिनी लगाएत पारिवारीक सम्बन्धलाई नै सुमधुर र आत्मीयता कायम गरेको हुन्छ । सबै चेलीवेटीहरु जम्मा भएर रमाउने र एक अर्कामा माया र सद्भाव साटासाट गरेर यो पर्व मनाइन्छ ।

दिदीबहीनीहरुले आफैले तयार पार्ने विशेष परिकारको प्रतिक्षामा दाजुभाई बसेका हुन्छन् । सधैँ काममा व्यस्त रहने थारू समुदायका महिलाहरुले अष्टमी पर्वको दिन रमाइलो गर्दै कामको थकान मेट्ने दिनको रुपमापनि लिने गरिन्छ । तर समय अनुकुल पहिलेको तुलनामा अहिले थारु समुदायमा पनि जन्माष्टमी पर्व मनाउने तरिका बिस्तारै परिवर्तन हुन थालेको छ ।

फाइल तस्बिर

नयाँ पुस्ता आधुनिकतातिर लम्कि रहेको छ । नयाँ पुस्ताले त्यसलाई आफ्नो स्वतन्त्रताको रुपमा लिने गरेका छन् । तर पुरानो पुस्ता भने त्यसले थारु जातिको मौलिक कला संस्कृतिमाथि नै आघात पुग्ने चिन्ता गर्दै आएका छन् ।

अष्टमीको दिन बिहानै गाउँको अगुवा, महटावाँ, भलमन्साकोे घरमा बैठक कोठा (बह्री)मा उत्तरतिरको भागमा भित्तामा चित्र बनाइन्छ । अष्टमीमा बनाइने ती हरेक चित्रको महत्व फरक फरक रहन्छ । सवैभन्दा माथि ४ वटा मान्छेको टाउको बनाइएको हुन्छ । जसलाई थारू भाषामा ‘बरमुन्हा’ भन्ने गरिन्छ । ‘बरमुन्हा’ रामायणको रावणको थारू नाम हो । भित्तामा बनाइने तस्वीरहरु फ्रेममा हुन्छ ।

फ्रेम आकारको छेउछेउमा त्रिभुज आकारको रंगीविरंगी बुट्टा भरिएको हुन्छ । एक लाइनमा द्रौपदीको चित्र कुदिएको हुन्छ भने अर्को एक लाइनमा पाँच पाण्डवहरुको तस्वीर हुन्छ । पाण्डव थारू समुदायको सवैभन्दा ठूलो देवता भएकाले जन्माष्टमीमा पनि पाण्डवको तस्वीर अनिवार्य रुपमा बनाउनु पर्ने हुन्छ ।

कसैले छाता ओढेको, कसैले मादल बोकेको, कसैले नाचेको चित्रहरु भित्रामा कोेरिएको हुन्छ । त्यसको अर्थ दैनिक जीवन भोगाई संग जोडिएको हुन्छ । त्यसको बीचमा एउटा डोलीको चित्रपनि अनिवार्य मानिन्छ । त्यो डोली द्रौपदीलाई भित्याउँदाको प्रतिकको रुपमा निर्माण गरिन्छ ।

कृर्षि कर्ममा रमाउने तथा खेतीपाती गर्ने थारु समुदायलाई हलोजुवा आवश्यक पर्ने हुनाले हलो जुवाको तस्वीर बनाउनु पनि अनिवार्य ठानिन्छ । परापूर्वक कालमा अहिले जस्तो पुल पुलेसा निर्माण भइसकेका थिएनन् । त्यसैले नदी तर्नका लागि डुङ्गा, दिन र रात छुट्याउन सुर्य र चन्द्रमा, पाण्डवहरुको रक्षाका लागि दुईवटा कुकुरको तस्वीर पनि अनिवार्य रुपमा बनाउने गरिन्छ ।

भगवान् कृष्ण, नदीको आकृति, रुख, मयूर, गाई लगायत विभिन्न दैनिक जीवनका लागि आवश्यक चिजबस्तुका आकृति निर्माण गरिन्छ ।

पहिले थारु समुदायका घरले छुट्टै पहिचान बोकेका हुन्थ्यो । साना र झिझाले बेरेका घरहरु हुन्थे । आज आज घरको बनावटमा पनि परिवर्तन आएको छ । जसले गर्दा चित्र बनाउने ठाउँको अभावपनि देखिन थालेको छ । थारु जातिको मौलिक तथा प्राचिन कला, संस्कृति हराउने चिन्ता बढेको कतिपय थारु अगुवाहरु व्यक्त गर्दै आएका छन् ।

अष्टमीको दोस्रो दिन विहानपनि थारू समुदायका लागि महत्वपूर्ण दिन मानिन्छ । रातभरी जाग्राम बसेका महिलाहरु विहानै भाले बासेसँगै घरमा कोही भान्सा पस्छन् भने कोही दैनिक दिनचर्यामा व्यस्त बन्छन् । विस्तारै उज्यालो भएसंगै पुनः कृष्णको पूजा गर्छन । रातभर जाग्राम बसेका बर्तालुहरुले आठौँ अबतारको रुपमा कंशको नाश गर्न जन्म लिएका मानिने कनैया (कृष्ण) को पुनः बिहान पूजा गर्छन ।

मौलिक भेषभूषामा महिलाहरु सजिएर लामबद्ध तरिकाले अष्टिम्की पूजा सामाग्रीलाई गाउँको अगुवाको घरतिर लैजान्छन् । पूजा सकेपछि सामूहिक रुपमा सबैजना मिलेर नजिकैको जलाशय, खोला, नदी, तालमा फुलपाती सेलाउन (बगाउन) जान्छन् । फूलपाती सेलाएर रमाउँदै पुनः घर फर्किने र घरमा पकाएको मिठा परिकार दाजुभाईको लागि छुट्याएर अग्नि देवतालाई पूजा गरी बर्तालुले खाने गर्छन ।

प्रकाशित मिति : २०७६ भाद्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *