२०८३ असार १३ गते शनिवार

१५ दिनकी ‘अञ्जली’ र १५ बर्षीया सुस्तमनस्थिकी आमालाई भेट्दा

राजेश खत्री,
दाङ,साउन १७ । मंगलवार ‘अञ्जली’ १५ दिनकी मात्रै थिइन । उनकी आमा १५ बर्षकी । शुक्रवार ‘अञ्जली’१८ दिनकी पुगिन ।

‘अञ्जली’ नाम गंगदी स्वास्थ्य चौकीका स्वयंसेविकाले राखि दिएका हुन । अञ्जलीकी १५ बर्षीयामा आमा सुस्तमनस्थितिको छिन । जवरजस्ती करणी पछि रहेको गर्भ वाट ‘अञ्जली’ जन्मेकी हुन । अञ्जली जन्मेपछि मात्रै यो तथ्य उजागर भएको हो ।

अवोध ‘अञ्जली’को बाबु को हो ? त्यसको अन्तिम टुङ्गो लागि सकेको छैन । यद्यपी प्रहरीले गाउँकै एकजना ६५ बर्षीय बृद्धलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले प्रहरीको अनुसन्धान अझैं जारी रहेको बताए । ‘अञ्जली’को बाबु खुट्याउन तथा क्षतिपूर्ती लगाएतको लागि अदालतको अन्तिम फैसला कुर्नुको विकल्प छैन । त्यो बीचमा अदालतले पनि डिएनए परिक्षण लगाएतका धेरै पक्रियाहरु पुरा गर्नुपर्ने हुँदा केही ढिला हुन सक्ने अवस्था भने देखिन्छ ।

चरम गरिवी
जिल्लाको राजपुर गाउँपालिका वडा नं. ४ रोहीनिहवा गाउँमा संवाददाता मंगलवार दिउँसो ३ बजेतिर पुग्दा चकमन्न घाम लागेको थियो । केही दिनको लगातार बर्षा पछि आकाँश राम्रोसंग खुलेको । हामी सोध्दै ‘अञ्जली’को आमा बस्ने छाप्रोमा पुग्यौं । घर खरको छना युक्त । बाँसका सेटी र झिझाको गाह्रो र माटोले लिपेको । भित्रबाट बाहिरको दृष्य देख्न सकिने । दुई कोठा झिझाले बेरेर छुट्याएको । सुत्ने वा बैठक कक्ष जे भनेपनि एउटै । त्यसमा दुई वटा खटिया । त्यसमाथि एउटा चटकी (पटकी) । ‘अञ्जिली’लाई काखमा राखेर उनकी आमाले शान्त पूर्वक दूध चुसिरहेकी थिइन । हामीले बोलाउन खोज्दा उनले कुनै प्रतिक्रिया दिइनन् ।

त्यतिबेला ‘अञ्जली’ को १० बर्षीया अन्टिले अगेनाको आगोमा रोटी सेक्दै थिइन । जो यो वर्ष मात्रै गाउँकै सामुदायिक विद्यालयमा कक्षा १ मा भर्ना भएकी छन् । घरमा अरु कोही थिएन। हामीलाई देखेर एक ६÷७ बर्ष उमेर बालक नजिक आए । उनलाई आग्रह गरेर घर मुलीलाई बोलाउन पठाउँयौं ।

‘अञ्जली’का हजुरबाजे,हजुर आमा र ६ बर्षीय मामा केही बेरमा संगसैगै आए । उनले पनि यही बर्ष कक्षा १ मा नाम लेखाएर पढ्न थालेका रहेछन् । ‘अञ्जली’ को जेठो मामा २० बर्षका छन् । दुई दिन अघि मात्रै उनी इट्टा भट्टामा मजदुरी गर्न भनि छिमेकी जिल्ला कपिलबस्तुको जितपुर गएछन् । जस्ले सबै भन्दा पहिले ‘अञ्जली’ जन्मेको देखे । जतिबेला उनले घर नजिकै बारीमा मकै गोड्दै थिए ।

बच्चा रोएको सुनेपछि उनैले घर बाहिरै जन्मिएकी भाञ्जी ‘अञ्जली’लाई घर भित्र लग्न सहयोग गरे । सुत्केरी बहिनीलाई पनि लगे । जतिबेला उनका बाबु आमा अरुको खेतमा मजदुरी गर्दै थिए । ‘अरुको खेतमा धानको व्याड उलेल्न गएका थियौं । साँझ विहान छाक टार्नै गाह्रो छ,’ अञ्जिलीका हजुरवाजेले भने ‘दिउँसो २ बजेतिर जेठो छोरो दर्गुदै खेतमा गयो र नानी जन्मेको कुरा ग¥यो । त्यसपछि हामीपनि घर आयौं।’

‘अञ्जली’ घर बाहिरै जन्मेकी हुन । मकै बारी नजिकै । व्यथा लागेपछि छटपटाउँदै सुस्तमनस्थितिकी अञ्जिलीकी आमा मकै बारीतिर पुगेको हुन सक्ने उनका अभिभावकले बताए । ‘सायद उनलाई पिसावले च्यापे जस्तो भयो होला अनि गएकी हुन सक्छिन,’ अञ्जलीका हजुरबुवाले भने ।

उनीहरुको घरमा सौचालय पनि छैन । आसपासको वन जंगल र खोल्सा खाल्सी मै उनीहरुले हालसम्म सौच गर्दै आएका छन् । ‘मकैबारीमा बस्न सजिलो हुने भएको हुँदा छोरी त्यही छटपटाउँदै पुग्यो होला र त्यही नानी जन्माइ,’ उनले भने । उनीहरुको घरमा विजुली बत्ति,पिउने पानीको सुविधापनि छैन ।

घर आए लगतै उनीहरुले सुत्केरी आमासहित अञ्जलीलाई एउटा गाडिको व्यवस्था गरेर गंगदी स्वास्थ्य चौकी पु¥याए । त्यतिबेलै एकजना स्वएंमसेवीकाले नव जात सिशुको नाम ‘अञ्जली’ राखिदिएकी रहेछिन् । चेक जाँच पछि आमा र बच्चा दुबैको स्वास्थ्य राम्रो रहेको हुँदा केही बेरमै उनीहरु घर फर्के । ‘स्वास्थ्य चौकीले एक हजार रुपैंया पनि प्रदान ग¥यो,’ अञ्जलीका हजुरवाजेले भने ।

चरम गरिवी भोगिरहेको यो परिवार संग सुत्केरी आमा र बच्चाको लत्ता कपडा र खानेकुरा पनि छैन ।

नाजुक अवस्था देखेपछि त्यहाँ पुग्नेहरुले फाट्टफुट्ट रुपमा विभिन्न खालको सहयोग दिने गरेका छन् । स्थानीय जनप्रतिनिधि, अधिकारकर्मी, प्रहरी,केही संघ संस्था र व्यक्ति विषेशले लत्ता कपडा, खाद्यान्न र केही नगद समेत दिने गरेका छन् । त्यसैले यो परिवारलाई दुई चार दिन खान पुग्छ ।

६५ बर्षीय चौधरी अभियोगमा पक्राउ
पितृसत्तात्मक हाम्रो समाजमा अझैंपनि गाउँघरमा छोरा र छोरीलाई गरिने व्यवहारमा अन्तर छ । त्यसमाथि सुस्तमनस्थिति भए झनैं गाह्रो हुन्छ । यहाँपनि यस्तै भएको देखिन्छ । अञ्जलीको आमा गर्भवती भएको कुरा उनका आमा बाबु र दाजुले ६ महिना सम्म सुइको नपाउनुको पछाडि त्यस्तै भएको ‘बेवास्ता’ भएको अनुमान गर्न सकिन्छ । तर जव छोरी मोटाउँदै जान थालिन तव मात्रै उनका अभिभावकले के भयो ? भन्ने ठाने । त्यसपछि गत बैशाखमा छोरीलाई चेकअपका लागि गंगदी स्वास्थ्य चौकीमा पु¥याए । त्यहाँ चेकजाँच हुँदा मात्रै उनी गर्भवती भएको पत्ता लाग्यो ।

६ महिना पुगि सकेको थियो । गर्भपतन गराउन संभव थिएन । त्यो हल्ला गाउँघरमा गाईगुई फैलिन थाल्यो । अभिभावकले छोरीलाई पटक÷पटक कस्को बच्चा हो भनेर सोधे । अञ्जलीको आमाले ‘रघुवा बाजे’ भन्ने नाम लिइन । त्यो बीचमा अञ्जलीका हजुरवाजे र हजुर आमाले गाउँलेवाट धेरै पीडादायिक वचनहरु सुन्नु प¥यो । ‘कतिले देशीको केटोको बच्चा हो भने कसैले कस्को नाम लिए कसैले अरुको नाम लिदै मजाग गरे,’अञ्जलीका हजुर बाजेले भने ‘तैपनि हामीले कसैलाई केही भनेनम् ।कसैलाई दोषपनि लगाएनम । सबै पीडा सहरै बस्यौं।’ उनकी छोरीले लिने गरेको नाम ‘रघुवा बाजे’ भनिने ‘अघरे’लाई पनि पीडित परिवारले बच्चा नजन्मिदा सम्म केही भनेनन् ।

जन्मेपनि कसैलाई केही भनेन् । तर अब भने चुप लागेर बस्न समाजले पनि दिने अवस्था रहेन । अविवाहित र त्यसमाथि सुस्तमनस्थितिको १५ बर्षीया बालिकाले बच्चा जन्माएको कुराले चर्चा पाउन थाल्यो । कुरा प्रहरी सम्म पुग्यो । गाउँमा ‘अघरे’ भनेर चिनिने पीडक भनिएका व्यक्तिको नाम समेत पीडित परिवारलाई थाहाँ छैन । प्रहरी घरमै आयो । सोधी खोजी गर्न थाल्यो । छोरीले भनेको कुरा भन्न बाबुलाई कर लाग्यो । ‘रघुवा बाजे’। त्यसपछि गाउँकै ६५ बर्षीय मानबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

चाउ चाउ विस्कुट दिएर बलात्कार गरेको वयान
६५ बर्षीय आरोपित चौधरी विदुर हुन । झन्डै २० बर्ष अगाडि उनकी पत्निको मृत्यु भएको खुल्न आएको छ । ईलका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरिक्षक गिरिराज भण्डारीका अनुसार पक्राउ परेका चौधरीले अभियोग स्वीकार गरि सकेको जानकारी दिए । यद्यपी थप अनुसन्धान भने जारी नै रहेको बताए । ‘म भैंसी ग्वाल गएको बेला चाउ चाउ र विस्कुट दिएर गरेको हुँ भन्ने वयान उसको छ,’ प्रमुख भण्डारीले भने ।

अञ्जलीका हजुरबाजेले छोरी आसपासका वन र खोल्सा खाल्सीमा साना दाउरा झिझा बटुल्नको लागि जाने गरेको बताए । त्यही समयमा मानसिक सन्तुलन ठिक नभएकी उनलाई एक्लै फेला पारेर ६५ बर्षीया चौधरीले जवरजस्ती करणी गरेको भन्ने कुरा प्रारम्भीक वयानमा खुलेको प्रहरी प्रमुख भण्डारीले बताए । त्यतिले नपुगेर प्रहरीले पीडकलाई पत्ता लगाउन ईप्रका गढवामा झन्डै एक दर्जन जति चौधरीकै उमेरका व्यक्तिहरुलाई जम्मा गरेर ‘अञ्जली’की आमालाई बोलाएर पहिचान समेत गर्न लगाएको थियो । पीडितले तीन पटक नै एउटै व्यक्ति मानबहादुर चौधरीलाई यही हो भन्दै देखाएको प्रहरी निरक्षक भण्डारीले बताए ।

अबको चुनौती
अञ्जली दुबलाउँदै गएकी छन् । सुत्केरीलाई आवश्यक पोसिलो खानेकुरा अञ्जलीकी आमाले खान पाएकी छैनन् । वडा अध्यक्षले घरमा जस्ता पाता लगाइदिने, खानेपानीको लागि एउटा ह्यान्ड पम्प गाडिदिने जस्ता आश्वासन दिएका रहेछन् ।

यो परिवारको गरिवी देखेर व्यक्ति विषेश र केही संघ संस्थाले लत्ता कपडा र केही दिनलाई खाद्यान्न सहयोग गरेका छन् । उनका हजुरवाजेका अनुसार सहयोग स्वरुप प्राप्त खाने कुरा केही दिनलाई पुग्ने मात्रै छ । त्यसपछि सुत्केरीलाई के ख्वाउने भन्ने चिन्ता उनीहरुलाई छ । छोरी सुत्केरी भएपछि उनीहरु काममा पनि जान सकेका छैनन् । सुस्तमनस्थिति भएकी छोरीले नवजात सिशुलाई कसरी रेखदेख गर्ने र दूध चुसाउन भन्ने पनि जान्दैनन् ।

त्यसले गर्दा उनीहरु घरै बस्नु पर्ने परिस्थिति आएको छ । ‘भएकालाई कसरी पाल्ने भन्ने चिन्ता थियो त्यसमाथि नातिनी थपिएपछि झनै चिन्ता बढेको छ,’ अञ्जलीका हजुर बाजेले भने ‘सानो छँदा सम्म त हामीले जसो तसो पालौंला ठूलो भएपछि के गर्ने भन्ने प्रश्न गरे।’ अञ्जलीलाई उनकी आमाले आफ्नी आमा बाहेक अरुलाई समाप्न र राम्रो संग छुन पनि दिन मान्दैनन् । अगाध माया गर्छिन । त्यो पछाडि कारण पनि छ ।

गाउँघरका मानिसहरु आएर हाल प्रहरीले पक्राउ परेका चौधरीले छोरी मात्रै लैजान्छु भन्ने गरेको कुरा उनलाई सुनाउनु र अर्कौ तर्फ कतिपयले बच्चा पाल्नलाई संघ संस्थालाई दिनुपर्छ भन्ने कुरा गर्नु । अञ्जलीकी हजुर आमाले भनिन् – ‘हाम्री नातिनीले बाबुको नाम पाउनु पर्छ । उसैवाट सम्पत्ति पाउनु पर्छ । त्यसो भएमा मात्रै छोरी र नातिनी लैजान दिन्छौं।’ तर उनले ६५ बर्षीय बृद्धलाई सुस्तमनस्थितिको अवोध छोरी भने विहे गरेर नदिने स्पष्ट पारिन । ‘अलग्गै घर सम्पत्ति दिएर राख्ने व्यवस्था हुनु पर्छ । पीडक ६५ बर्षीय बृद्धको के भर जतिबेला पनि मृत्यु हुन सक्छ,’ अञ्जलीको हजुर आमाले भनिन् । अशिक्षित यो परिवारले थप माग भने देखिएन ।

प्रकाशित मिति : २०७६ साउन १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *