भारतका बिभिन्न स्थानबाट ३७ नेपाली महिलाहरुलाई उद्धार गरिएको छ । पछिल्लो २४ घण्टामा ३७ नेपाली महिलाहरुको उद्धार गरिएको जनाएको छ । मानव तस्करको समूहले उनीहरुलाई घरेलु कामदारको रुपमा खाडी देशहरुमा लैजाने तयारीअनुसार भारतका बिभिन्न स्थानसम्म पुर्याएको थियो ।
सोमबार साँझ २८ जना महिलालाई नयखण्ड भन्ने स्थानको श्रीजन बिहार सोसाइटीको दुईवटा फ्ल्याटबाट उद्धार गरिएको थियो । मंगलबार बिहान ज्ञान खण्ड भन्ने स्थानको अर्को एक फ्ल्याटमा छापा मारेर थप ९ जना नेपाली महिलालाई उद्धार गरेको थियो । ती सात महिलाहरुसँगै भारतसम्म पुर्याइएका अरु दुई जना पुरुषलाई पनि भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । छापा मार्ने क्रममा नेपाल सरकारबाट जारी गरिएका १७ थान पासपोर्ट बरामद भएका छन् जसमा बिभिन्न खाडी मुलुकमा पर्यटक भिसा लागेको छ । उनीहरुलाई आकर्षक तलबको लोभ देखाइएको थियो ।
तस्करको पहिचान !
मानव तस्करीको यो सञ्जालमा तीन जना मुख्य व्यक्ति संलग्न रहेको समाचारमा उल्लेख छ । समाचारमा लेखिएअनुसार दुबईमा बस्ने अनिल नेपाली, नेपालमा रहेका गणेश तथा दिल्ली र गाजिवाद क्षेत्रमा बस्दै आएका केदारनाथ मानव तस्करी गर्ने मुख्य व्यक्ति हुन् । अनिलले दुबईबाट गणेशसमक्ष नेपाली महिलाहरुको माग पठाउँछन् । गणेशले महिलाहरुलाई जम्मा गर्दछन् र बसमार्फत केदारनाथसम्म पुर्याउँछन् । केदारनाथलाई पक्राउसमेत गरिसकिएको गाजिवादका एसएसपी वैभव कृष्णले बताएका छन् ।
गणेशसँगै उनका दुई सहयोगी रोमियो जोशी र ज्ञानेन्द्र गिरि पनि पक्राउ परेका छन् । जोशी र गिरीले केदारनाथ भन्ने व्यक्तिको सम्पर्कमा आएका महिलाहरुलाई इन्दिरापुरममा बस्ने व्यवस्था मिलाउने गरेको आरोप छ । त्यसबाफत केदारनाथले एक जना महिला बराबर एक हजार रुपैयाँ उनीहरुलाई दिने गरेको प्रहरीसमक्ष बताएका छन् । यो समूहले इन्दिरापुरम र दिल्लीको बसन्तकुञ्जको एक फ्ल्याटमा बसेर आवश्यक कागजपत्र लगायतका सबै प्रक्रिया पूरा गर्ने गरेको समाचारमा उल्लेख छ । टाइम्स अफ इण्डियाबाट