२०८१ बैशाख १३ गते बिहिवार

ब्रेकअपपछि हुने डिप्रेसनबाट कसरी बच्ने ?

प्रेममा अस्वीकृत भएपछि त्यसबाट बाहिर आउन सहज हुँदैन । यदि तपाईं पनि त्यस्तो स्थितिबाट गुज्रिरहनुभएको छ  कसरी त्यसबाट मुक्त हुन सकिन्छ ?

मुटु टुटेको आवाज सुनिँदैन । तर, त्यसको पीडा भने असहृय हुन्छ । प्रेम जस्तो भावनामा जब विश्वास टुट्छ र साथ छुट्छ । त्यसको पीडालाई सहन सक्ने शक्ति करिब-करिब समाप्त भइसकेको हुन्छ । र, यही कारणले प्रेममा असफल भएका व्यक्तिहरु गहिरो सोचाइमा डुब्न थाल्छन् अथवा आफैंलाई हारेको महसुस गर्दै आफ्नो ज्यान नै समाप्त पार्ने प्रयास गर्छन् ।

करिब दुई वर्षसम्म सम्बन्धमा बसेपछि अम्बुको उनका प्रेमीसँग ब्रेकअप भयो । ब्रेकअप हुने कारण जे भएपनि, अम्बुले आफ्नो प्रेमीसँग भएको ब्रेकअपको चोटलाई सहन सकिनन् र उनी डिप्रेसनमा गइन् । जसलाई उनले मन-मुटुदेखि माया गरेकी थिइन् । उनैले मुटु तोडेपछि उनको आँखाबाट बगेका आँशुका धाराहरु रोकिएनन् ।

उनले आखिर किन प्रेमीले आफ्नो साथ छोड्यो भन्ने कुरा सोचिरहन थालिन् । ब्रेकअपपछि उनलाई आफ्नो शरीरको एउटा अंग नै निकालेर फालेको जस्तो अनुभव हुन थालेको थियो । उनी आत्महत्या नै गर्न चाहन्थिन् । सम्भवतः उनले प्राण पनि त्याग्थिन् होला, यदि उनले परिवारका सदस्य तथा साथीहरुको साथ र सहयोग नपाएको भए ।

बलिउड गायिका नेहा कक्कडकै उदाहरण लिन सकिन्छ । लामो समयसम्म उनी आफ्नो प्रेम-जीवनका कारण चर्चामा आइन् । अघिल्लो वर्ष उनको प्रेमी हिमांश कोहलीसँग ब्रेकअप भयो । ब्रेकअपपछि नेहा यति धेरै दुःखी भइन् कि अघिल्लो सिजनको इन्डियन आइडलको सेटमै उनी ठूल्ठूलो स्वरले रोएकी थिइन् । नेहाले आफू डिप्रेशनमा भएको खुलासा गरिन् । उक्त कुराको खुलासा उनले आफ्नो इन्स्टाग्राममार्फत् गरेकी थिइन् ।

हालै मात्र बलिउड अभिनेता विक्की कौशलको व्यक्तिगत जीवनका बारेमा एउटा समाचार आएको थियो । जसमा भनिएको थियो उनकी प्रेमिका हरलीन सेठीसँग उनको ब्रेकअप भयो । दुवै एक वर्षदेखि सम्बन्धमा थिए । उनीहरुको ब्रेकअपको कारण त अहिलेसम्म सार्वजनिक भएको छैन । तर, एउटा समाचारमा जनाइए अनुसार बिक्कीसँग ब्रेकअप भएको चोटलाई हरलीनले सहनै सकिनन् र उनी पनि डिप्रेसनमा गइन् । उनी अहिले आफ्नो बढीभन्दा बढी समय आफ्नो परिवारका सदस्यहरुसँग बिताइरहेकी छिन् ।

केही अध्ययनबाट के कुरा पत्ता लागेको छ भने रोमान्टिक ब्रेकअपका कारण ५ मध्ये एक किशोर डिप्रेसनमा जान्छन् । एक जना साइकोलोजिस्टका अनुसार अहिलेको समयमा रिलेशनशिप बन्नु र टुक्रिनु (खासगरी युवाहरुमा) निकै सामान्य हुन थालेको छ । साथै अचेल ब्रेकअप तथा डिभोर्स आदिको संख्यामा पनि वृद्धि भएको छ । यस्तो अवस्थामा हामीले आफैंप्रति केही ध्यान दिनुपर्छ ।

कुनै सम्बन्ध टुक्रिँदा हाम्रो मन र मष्तिष्कमा गहिरो प्रभाव पर्छ । तर, जुन चिज समाप्त भइसकेको छ, त्यसको बारेमा आफैंलाई दोष दिनु तथा धिकार्नुको कुनै फाइदा नै छैन । ब्रेकअपपछि प्रँयः मानिसहरु घरबाट बाहिर निस्कनै छाड्छन् र मानिसहरुसँग भेटघाट समेत गर्न बन्द गर्छन् । जसका कारण उनीहरु एक्लो हुन थाल्छन् र बिस्तारै डिप्रेसनको शिकार बन्न पुग्छन् ।

अधिकांश व्यक्तिहरुलाई ब्रेकअपको पीडाबाट कसरी बाहिर आउने अथवा छुटकारा पाउने भन्ने बारेमा जानकारी नै हुँदैन, न त उनीहरु आफूलाई डिप्रेसनमा जानबाट बचाउन नै सक्छन् । आज हामीले रोमान्टिक ब्रेकअपपछि हुने डिप्रेसनबाट कसरी बाहिर आउने भन्ने बारेमा केही जानकारीहरु लिएर आएका छौं ।

आफ्ना भावनाहरुलाई खुल्ला हुन दिनुपर्छ

रुनु तपाईंको कमजोरीको संकेत होइन । त्यसैले तपाईंले कहिले पनि आफ्नो भावनाहरुलाई दबाउनु हुँदैन । भावनाहरुलाई बग्न दिनु पर्छ । यसबाट तपाईंले आफूलाई निकै सहज भएको महसुस गर्नु हुनेछ ।

प्रेमसँग सम्बन्धित बस्तु हेर्न र सोच्न रोकौं

ब्रेकअपपछि प्रेमसँग सम्बन्धित कुराहरु हामीले नचाहेर पनि हाम्रो दिमागमा आइरहन्छन् । यद्यपि, अब त्यसले कुनै फाइदा पुर्‍याउँदैन । त्यसैले सबैभन्दा पहिला तपाईंले ती बितेका कुराहरुको बारेमा सोच्नै छाड्नुपर्छ । किनभने तपाईंले सोचेर मात्र केही पनि परिवर्तन हुनेछैन । त्यसैले प्रेमसंग सम्बन्धित ती सबै कुराहरु, जस्तो पूर्व प्रेमीले दिएका उपहारहरु, उनीसँग बिताएका क्षणहरु सबैलाई बिर्सिदिनुपर्छ ।

त्यो फेवरेट रेष्टुराँ, कफीपसल जहाँ तपाईंहरु प्रायः गइरहनुहुन्थ्यो । त्यहाँ जानुको साटो अब तपाईंले नयाँ ठाउँ खोज्नुपर्छ । जुन गीत तपाईहरु दुबैलै एकै साथ सुन्नुभएको थियो । ती गीतहरु पनि सुन्न छाड्नुपर्छ । जति सकिन्छ, आफ्नो जीवनबाट उसको उपस्थितिलाई मेटाइदिनुपर्छ र नयाँ तरिकाले सोच्न थाल्नुपर्छ ।

साथीहरुसँग कुराकानी

अधिकांश व्यक्तिहरु ब्रेकअपपछि एक्लै बस्न मन पराउँछन् । तर, तपाईंले के बुझ्न अनिवार्य छ भने सबैभन्दा बढी शान्ति तपाईंले तपाईंका नजिकका साथीहरुबाटै पाउनुहुनेछ । ब्रेकअपपछि यदि तपाईं मानसिक रुपमा विक्षिप्त हुनुभएको छ भने साथीहरुसँग भेटघाट गर्नुहोस् । उनीहरुसँग कुराकानी गर्नुहोस् । ब्रेकअपपछि जब तपाईंले आफ्नो मनका कुराहरु साथीहरुसँग शेयर गर्नुहुन्छ । तपाईंले त्यो बेला मानसिक रुपमै शान्ति पाउनुहुनेछ र अझ बढी आनन्द महसुस गर्नुहुनेछ ।

आफ्नो मनपर्ने कुरालाई प्राथमिकता

हरेक व्यक्तिको कुनै न कुनै सौख हुन्छ । तर, तपाईंलाई थाहा छैन होला दुःखको बेला हाम्रो सोच अझ गहिरो हुन्छ । जसका कारण हाम्रो श्रृजनशीलता अझ बढ्छ । त्यसैले त्यस्तो बेला तपाईंले आफ्नो मनपर्ने सौखलाई रोज्नुपर्छ । जस्तो कसैलाई संगीत सुन्न मनपर्छ, कसैलाई नृत्य गर्न मनपर्छ भने कसैलाई पेन्टिङ गर्न मनपर्छ । यसले तपाईंको मन बहलिन्छ र अनावश्यक कुरामा तपाईंको ध्यान जाँदैन । तपाईंले चाहनुभयो भने आफ्नो मनपर्ने स्थानमा घुम्न जान पनि सक्नुहुनेछ ।

करियरलाई महत्व दिनुपर्छ

युवा अवस्थामा प्रेम अथवा ब्रेकअप भयो भने उनीहरु पढाईमा समेत मन लगाउन सक्दैनन् । अर्थात् उनीहरुले आफ्नो करियरलाई समेत कम महत्व दिन थाल्छन् । तर, प्रेमसँग-सँगै करियर पनि व्यक्तिका लागि अति नै महत्वपूर्ण हुन्छ । त्यसैले यदि तपाईं ब्रेकअपको पीडाबाट छुटकारा पाउन चाहनुहुन्छ भने आफ्नो करियरमा ध्यान दिनुपर्छ । त्यसो गर्नाले तपाईंको अनावश्यक कुराबाट ध्यान हट्छ ।

नयाँ साथी बनाउनुहोस्

नयाँ साथी बनाउनुपर्छ । राम्रा-राम्रा भिडियोहरु हेर्नुपर्छ, खेलहरु खेल्नुपर्छ । ती साथीहरुसँग दुरी बनाउनुपर्छ । जसले तपाईंलाई पुराना कुराहरु सम्झाएर दुःखी बनाउँछन् । हुनसक्छ, नयाँ साथीहरुले तपाईंको पुरानो पीडालाई कम पो गर्छन् कि ? तपाईंको जीवनमा पुरानै रौनक पो फर्किन्छ कि ?

परिवारसँग समय बिताउनुपर्छ

परिवारको साथ पाउनुभयो भने तपाईंले ठूलाभन्दा ठूला दुःख र समस्याबाट मुक्ति पाउन सकिन्छ । ब्रेकअपपछि परिवारको साथ पाउनुभयो भने तपाईंलाई निकै सहज हुनेछ । त्यसैले ब्रेकअप भयोभने परिवारसँग धेरैभन्दा धेरै समय बिताउनु प्रयास गर्नुपर्छ ।

आफैंलाई व्यस्त बनाउनुपर्छ

एक्लोपना निकै दुःखद हुन्छ, त्यसैले एक्लोपनबाट जोगिनुपर्छ । तपाईंले आफूलाई जति धेरै ब्यस्त बनाउनुहुन्छ, उति नै तपाईं ब्रेकअपको पीडाबाट बाहिरिनु हुनेछ ।

व्यायाम गर्नुपर्छ

व्यायाम तनाव कम गर्ने सबैभन्दा सजिलो तरिका हो । त्यसले तपाईंको मनलाई शान्त बनाउँछ र सकारात्मक सोच पनि आउँछ अनि ब्रेकअपको यादबाट पनि बाहिर निकाल्छ ।

लक्ष्य बनाउनुपर्छ

जीवन भनेको एक पटकको लागि हुन्छ, यो सत्य कुरा हो । तर, प्रेम दोस्रो  पटक हुन सक्दैन भन्ने कुरा चाहिँ गलत हो । एउटा सम्बन्ध समाप्त भयो भन्दैमा जीवन नै समाप्त भएको होइन । जे कुरा बित्यो, त्यो बित्यो । तपाईंले कहिलेपनि आफ्नो जीवन खत्तम भयो भन्ने सोच्नु हुँदैन । बरु, ब्रेकअप भएर तपाईंले आफ्नो जीवन बर्बाद हुनबाट जोगियो भन्ने सोच्नुपर्छ ।

तपाईंले एउटा नयाँ मौका पाउनुभएको हो आफ्नो जीवनलाई खुलेर बाँच्नका लागि । त्यसैले आफूलाई खुल्ला बनाउनुहोस् र कसैको वास्ता नगरी अघि बढ्नुहोस् । जीवनमा अगाडि बढ्नका लागि कुनै लक्ष्य बनाउनुहोस् र त्यसलाई हासिल गर्ने दृढ संकल्प गर्नुहोस् । व्यक्तिको वशमा सबै कुरा छ, केवल सकारात्मक सोचको मात्र खाँचो छ ।

श्रोत ः अनलाइनखबर

प्रकाशित मिति : २०७६ कार्तिक २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *