
साउन १९ । प्रवासमै बसेर पनि गीत गाउन सक्रिय कुसुम दाहालले यो वर्ष पनि तीज गीत बजारमा ल्याएकी छिन् । उनले एक वर्षअघि टिम अप गरेका गीतकार एवं संगीतकारहरुसँग मिलेर यस वर्षको तीजमा पनि तीज गीत सार्वजनिक गरेकी हुन् । गायिका कुसुम दाहाल भट्टराईको स्वरमा सजिएको गीतलाई यसपटक पनि दिग्गज द्यौरालीले लेखेका हुन् ।
अहिलेसम्म अघिल्लो वर्षको ६० हजारको साडी … बोलको गीतलाई करिब ८ लाख दर्शकले हेरेका छन् । दर्शकको साथ पाए आगामी हरेक तीजमा एउटा तीज गीतको कोसेली आफ्ना शुभचिन्तकहरुलाई दिने गायिका कुसुम दाहालले बताएकी छिन् ।
यसैपाली नाँच्ने हो .. बोलको यो वर्षको गीतलाई मौसम हिमालीले निर्देशन गरेका छन् । प्रवासी गायिका दाहालको मिडियामा आएको यो चौथो गीत हो । यस अघि उनका दुई सुगम संगीत र एक तीज गीत रिलिज भएका छन् भने गत वर्ष नै ‘नव कुसुम’ नामक एकल म्युजिक एल्बम रिलिज भएको थियो ।
‘यसैपाली नाँच्ने हो ..’ बोलको गीतमा सिने अभिनेत्री अनु शाहले मोडलिङ गरेकी छिन् । उनलाई उमादेवी दाहाल र कोरशले साथ दिएका छन् । दीपक शर्माको संगीतमा नरेन्द्र वियोगीले एरेञ्ज गरेको गीतलाई गृष्मा भट्टराईले उत्पादन गरेकी हुन् । अभिनेत्री शाहले रत्नपार्कमा आफ्नो कला प्रस्तुत गरेकी छिन् ।