तुलसीपुर , जेठ १६ ।
दाङमा अमेरिका बस्ने ब्यक्तिहरुले ‘सेफ राइड’ संचालनमा ल्याउने जनाएका छन् ।
पहिलो पटक नेपाली राइड–सेयरिङ प्लेटफर्म उनीहरुले पठाओ, इन ड्राइभ, उबरले दिएको जस्तै ‘सेफ राइड’ संचालनको तयारी गरेको जानकारी दिएका छन् ।
गैरआवासीय नेपाली एनआरएनको लगानीमा स्थापना गरिएको राइड–सेयरिङ प्लेटफर्म ‘सेफ राइड’ ले नेपालमा आफ्नो सेवा विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको कम्पनीका संस्थापक तथा सिइयो डिबी रावतले बताए ।
दाङ आफ्नो जन्मथलो भएको हुँदा आफ्नै गाउँ तथा जिल्लाबाट सेवा सुरु गर्ने उद्देश्यका साथ पहिलो पटक दाङबाट सेवा प्रारम्भ गर्ने अन्तिम तयारी गरि रहेको उनले जानकारी दिए ।
यो सेवा प्रारम्भिक चरणमा जिल्लाको घोराही, तुलसीपुर, लमही तथा भालुवाङ क्षेत्रमा बाइक, अटो, कार तथा साइकल सेवा सञ्चालन गरिने कम्पनीका सिइयो रावतले बताए ।
दाङबाट सेवा सुरु गरेपछि क्रमशः साबिक राप्ती अञ्चलका पहाडी जिल्लाहरू हुँदै नेपालका अन्य जिल्लाहरूमा सेवा विस्तार गरिने भएको छ । काठमाडौं बाहिरका धेरै जिल्लामा सेवा विस्तार गरि सकेपछि मात्र काठमाडौंमा सेवा सुरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
सेफ राइडले छिट्टै आफ्नो मोबाइल एप सार्वजनिक गर्दै नेपाल भर सुरक्षित, सस्तो र छिटो राइड सेरिङ सेवा प्रदान गर्ने तयारीमा जुटेको सिइयो रावतले बताए ।
भविश्यमा काठमाडांैदेखि कर्णाली लगायतका दुर्गम जिल्लामा पनि प्रविधिमैत्री यातायात सेवा पुर्याउने उदेश्य रहेको रावतले बताए । दुर्गमका गाउँ–गाउँसम्म सेवा विस्तार गर्दै नेपाली युवालाई स्वरोजगारको अवसर सिर्जना गर्नु आँफुहरुको उदेश्य रहेको उनले जानकारी दिए ।
सेफ राइडले भविष्यमा हेलिकप्टर तथा एम्बुलेन्स सेवा पनि सञ्चालन गर्ने उदेश्य लिएको छ । दुर्गम क्षेत्रमा छिटो उद्धार, बिरामीको आकस्मिक अस्पताल सेवा तथा आपत्कालीन अवस्थामा प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो योजना अघि बढाउने कम्पनीको उदेश्य छ ।
कम्पनीको दाबी अनुसार आगामी एक वर्षभित्र करिब एक लाख स्वरोजगारका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ। कम्पनीबाट प्राप्त आम्दानी पुनः नेपालमै लगानी गरी देशको आर्थिक विकास, रोजगारी सिर्जना तथा स्थानीय सेवा विस्तारमा उपयोग गरिने सिइयो रावतले बताए ।
प्रकाशित मिति : २०८३ जेष्ठ १६ गते शनिवार
