तुलसीपुर,साउन २२ । तुलसीपुर उपमहानगरपालिकाले बितेको आर्थिक वर्ष २०८० /०८१ मा अपाङगता भएका व्यक्तिलाई कृतिम हातखुट्टा लगाएतका सहायक सामाग्री उपलब्ध गराउन भन्दै आठ लाख रुपैयाँ विनियोजन गर्छ ।
सोही रकमबाट ती सामाग्री खरिद गर्न भन्दै तुलसीपुरले दरभाउ आब्हान गर्यो । तीन वटा संस्थाले त्यसमा आवेदन दिए । विकलाङ्ग मित्र समूह र अपाङग बाल अस्पताल तथा पुनस्थापना केन्द्र (एचआरडिसी) बनेपा छनोटमा परे ।
तुलसीपुरमा पहिलो चरणमा ६२ जना अपाङगता भएका व्यक्ति सहायक सामग्री पाउने आशमा जाँचमा सहभागी हुन्छन् । उनीहरु मध्यबाट बढी समस्या भएका २० जनालाई मात्रै त्यस्ता सहायक सामग्री उपलब्ध गराउने निर्णय हुन्छ । एचआरडिसीले ती सामाग्री उपलब्ध गराउने जिम्मा पाएको थियो ।
तुलसीपुरको कार्यक्रम भएपनि स्थानीयस्तरमा समन्वयका लागि अपाङग समाज सुधार केन्द्रलाई सहायता सामग्री उपलब्ध गराउने संस्था एचआरडिसीले समन्वयकर्ताको रुपमा छनोट गर्छ ।
अपाङगता भएका व्यक्तिहरुको सहायक सामग्रीको नापजाँच तथा ट्रयाल फिटिङको कार्यक्रम आयोजना नगरी २०८१ जेठ २४ गते भरपाइ गराइयो ।
त्यो दिन एचआरडिसी संस्थाको तर्फ बाट एक जनालाई निःशुल्क रुपमा र अन्य १९ जनाको हकमा तुलसीपुरले रकम तिरेको र उनीहरुलाई सहायक सामग्री वितरण नक्कली विवरण तयार पारिएको तथ्य फेला परेको छ ।
तर, २० मध्य अझैं ६ जनाले ती सामग्री नपाएको तथ्य फेला परेको छ । तुलसीपुर–१३ का बामदेव नेपाली, तुलसीपुर–७ का प्रमित चौधरी, तुलसीपुर–१९ का गिता बुढाले हालसम्म सामग्री नपाएको बताएका छन् ।
तुलसीपुर–३ का प्रकाश न्यौपाने र तुलसीपुर–१३ का पोषण न्यौपानेको हस्ताक्षर नै कीर्ते गर्ने बदमासी भएको छ । उनीहरुले पनि सामाग्री बुझेको गतल विवरण भइपाइमा उल्लेख छ । जबकी ६ जनाले एक लाख ८० हजार बढीको सहाते सामाग्री पाउँदै पाएका थिएनन् । तर, फर्जी कागजमा भने उनीहरुले पाएको विवरण पेश गरिएको छ ।
तुलसीपुरको जनस्वास्थ्य प्रबद्र्धन शाखामा अपाङग समाज सुधार केन्द्रका कार्यक्रम संयोजक हुमकान्त कँडेलले २०८१ जेठ २४ गते कागजात पेश गर्छन ।
उनले कतिपयलाई थाहाँ नै नदिएर आँफु खुसी हस्ताक्षर गरि विवरण पेश गरेको तथ्य उजागर भएको छ । सोही विवरण पेश गरि २०८१ असार २४ मा जनस्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपाने (ओमपी न्यौपाने) ले तुलसीपुरबाट ७ लाख ८० हजार रुपैंयाँ पेश्की बाफत बुझ्छन् ।
शाखा प्रमुख न्यौपानले पेश्किस्वरुप लिएको उक्त रकम नौ महिनासम्म आफ्नो नीजि खातामा राख्छन् । नौं महिनापछि २०८१ फागुन ६ गते मात्रै एचआरडिसी संस्थालाई भुक्तानी गरेको तथ्य फेला परेको छ ।
अपाङग समाज सुधार केन्द्र तुलसीपुरका कार्यक्रम संयोजक कँडेलले आफुले किर्ते गर्ने गल्ती गरेको स्विकार गरे । शाखा प्रमुख न्यौंपाने भने जम्मै दोष कँडेल माथि थुपारेर आँफु पानी माथिको ओभानो बन्ने प्रयास गरि रहेका छन् । नौं महिनासम्म पेश्की रकम आफ्नो निजी खातामा राखेर मात्रै भुक्तानी गर्ने उनले बदमासी गरेका छन् ।
यसले मिलेमतोको आशंका पैदा भएको छ । न्यौंपानेले २० जनाको सहायता सामग्रिवाफतको करसहित ५ लाख ४५ हजार ८ सय एचारडिसी संस्थालाई भुक्तानी दिएका छन् ।
ओमपी न्यौंपानेले पेश्की स्वरुप ७ लाख ८० हजार रुपैयाँ आफ्नो खातामा राखेका थिए । उनले त्यो रकम गत फागुन ६ गते मात्रै एचारडिसी संस्थालाइ भुक्तानी गरेको थिए ।
सामग्रिवाफतको करसहित ५ लाख ४५ हजार ८ सय एचारडिसी संस्थालाई भुक्तानी गरेको रकमसहित जोडेर ६ लाख ६३ हजार एक सय १० रुपैयाँ खर्च देखाइएको छ । विवरणहरुमा खर्च नभएको रकम १ लाख १६ हजार ८ सय ९० पालिकामा फिर्ता गरिएको उल्लेख छ ।
यो कुरा बाहिरिएपछि बिहीबार मात्रै एचारडिसी संस्थाले तुलसीपुरको खातामा एक लाख ८७ हजार पाँच सय रुपैयाँ फिर्ता पठाएको जनश्वास्थ्य शाखाका प्रमुख ओमपी न्यौंपानेले बताए ।
अपाङगता भएका ब्यक्तिलाई सहायक सामाग्री उपलब्ध गराउँदा भएको बदमासी सार्वजनिक भएपछि मेयर टीकाराम खड्काले जनश्वास्थय शाखा प्रमुख न्यौंपानेलाई बोलाएर सोधपुछ गरेका छन् । मेयर खड्काले प्रमुख प्रशासकीय अधिकृतलाई घटना छानविन गरि दोषी पाइए कारबाही गर्न निर्देशन दिइ सकिएको बताए ।
उता अपांग समाज सुधार केन्द्र तुलसीपुरले कार्यक्रम संयोजक हुमकान्त कडेँललाई निलम्बन गरि सकेको छ ।
केन्द्रको बुधबार बसेको बैठकले कार्यक्रम संयोजक कँडेललाई निलम्बन गरी छानबिन गर्ने निर्णय गरेको हो । केन्द्रका अध्यक्ष ईश्वरीप्रसाद खड्काले जारी गरेको बिज्ञप्तिमा सो कुरा उल्लेख छ ।
समन्वयको भूमिमा मात्रै खेल्नु पर्ने कार्यक्रम संयोजक कँडेलले व्यक्तिगत रुपमा मनोमानी गरेको तथा आँफुहरु संग कुनै सर सल्लाह नगरको बिज्ञप्तिमा उल्लेख छ ।
