२०८३ बैशाख १८ गते शुक्रवार

अधिकारको अनुपातमा सङ्घीयता महँगो होइन- मन्त्री शर्मा

तनहुँ, फागुन २७ । सञ्चार तथा सूचना प्रविधी मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सङ्घीयता महँगो भयो भन्नु सही नभएको बताएकी छन ।

तनहुँको आबुखैरेनी गाउँपालिकाको सातौं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले संघ, प्रदेश र स्थानीय तहमा जुन मर्मका साथ अधिकार बाडफाड गरिएको छ, यसको तुलनामा सङ्घीयता महँगो भयो भन्नु सही नहुने बताइन ।

पहिले केन्द्रमा ६०र६५ जनासम्म मन्त्री बन्नेदेखि ठूलो संख्यामा गाविस र नगरपालिकाहरु रहेको उल्लेख गर्दै उनले सङ्घीयता कार्यान्वयनपछि सङ्घमा २५ भन्दा बढी राख्न नपाउने र त्यतिबेलाका धेरै गाविस मिलाएर गाउँ वा नगरपालिका बनाएको पाटो बिर्सन नहुने धारणा राखिन ।

केन्द्रमा रहेको अधिकार गाउँगाउँमा पुर्याउनु नै सङ्घीयताको मूल मर्म रहेको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्,त्यसैले त हामीले यसलाई गाउँगाउँमा सिंहदरवारको रुपमा व्याख्या गरेका छौं । कहिँ कसैले गल्ती गर्न गर्नसक्छन् तर त्यसको आधारमा सघीयताको बिरोध गर्नु सही हुँदैन, यो जनतालाई अधिकारसम्पन्न बनाउने शासकीय बिकेन्द्रीकरणको प्रगतिशील प्रणाली हो ।

तीनै तहका सरकारले संविधानप्रदत्त अधिकार प्रयोग गर्नसक्ने हो भने देश विकासले फड्को मार्ने पनि उनले बताइन ।

स्थानीय तह र प्रदेश सरकारको पहिलो कार्यकाल पूर्वाधार र कानुन निर्माणमा केन्द्रित रहेकाले अहिले सुरु भएको दोस्रो कार्यकालका जनप्रतिनिधिले राम्रो काम गरेर सङ्घीयता सही भएको पुष्टि गर्ने अवसर भएकोमा पनि मन्त्री शर्माले जोड दिइन ।

स्थानीय सरकार मूलतः जनताको सुखदुखको साथी भएकाले उनीहरूले जनताकै पीरमर्कामा ध्यान दिनुपर्ने पनि उनले बताइन ।

शिक्षा, स्वास्थ्य, उत्पादन वृद्धि, भूमि व्यवस्थापनलगायतका क्षेत्रमा आबुखैरेनी गाउँपालिकाले गरेको सुरुवातप्रति खुशी व्यक्त गर्दै मन्त्री शर्माले यसबाट संविधानले परिकल्पना गरेको समाजवादको आधार तयार पार्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन ।

प्रकाशित मिति : २०७९ फाल्गुन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *