दाङ, असोज ९ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत शनिबार बेलुकासम्म सल्यान जिल्लाका दश पालिकाहरु मध्य नौं वटा पालिकाको परिनाम सार्वजनिक भएको छ । शनिबार भएको निर्वाचनबाट कपुरकोट गाउँपालिकामा एकराज ओली निर्वाचित भएका छन् । ओली नेता धुर्व पुरी निकटका मानिन्छन् ।
त्यस्तै बागचौर नगरपालिकामा दिपेश डिसी निर्वाचित भएका छन् । उनी जिल्ला समन्वय समितिका प्रमुख केशबहादुर बिष्ट निकट मानिन्छन् । त्यस्तै कालिमाटी गाउँपालिकामा निर्वाचनबाट गणेश केसी सभापतिमा निर्वाचित भएका छन । केसीले प्रतिपर्धी पूर्णबहादुर खत्रीलाई ५० मत अन्तरले पराजित गरेका हुन ।
केसीले ७३ मत प्राप्त गरेका थिए भने खत्रीले २३ मत मात्रै प्राप्त गरेका थिए । सभापतिमा निर्वाचित केसी नेता धुर्वराज पुरी निकट मानिन्छन् । शनिबार भएको निर्वाचनबाट छत्रेश्वरी गाउँपालिकाको सभापतिमा सीता केसी विजयी भएकी छन । केसी छत्रेश्वरी गाउँपालिकाकी उपप्रमुख हुन ।
प्रतिपर्धी टेकबहादुर विष्टलाई १९ मत अन्तरले पछाडि पार्दै केसी निर्वाचित भएकी हुन ।
केसीले ६१ मत प्राप्त गर्दा विष्टले ४२ मत प्राप्त गरेका थिए । केसी काँग्रेस जिल्लामा सभापतिमा निर्वाचित हुने एक्ली नेतृ हुन । केसी जिल्ला समन्वय समिति सभापति केशबहादुर बिष्ट प्यानलकी मानिन्छिन् ।
जिल्लाको दार्मा गाउँपालिकाको सभापतिमा कृष्ण ओली विजय भएका छन । प्रतिपर्धी विशाल सिंहलाई ९ मत अन्तरले पछाडि पार्दै ओली बिजयी भएका हुन । ओलीले ४९ र सिंहले ४० मत प्राप्त गरेका थिए ।
त्यहाँ कुल ९५ मतदाता मध्य ९२ मत खसेको थियो । ३ वटा मत बदर भएको निर्वाचन अधिकृतले जानकारी दिए । यहाँ उपसभापतिमा खिमबहादुर रावत र टोब बहादुर केसी, सचिबमा हरिकिरण बस्नेत र नरेश रावत, सहसचिवमा डिल्लीराज चन्द र कुमार चन्द निर्बिरोध निर्वाचित भएका थिए ।
त्यस्तै निर्वाचनबाटट कुमाख गाउँपालिकामा इश्वरी शाही निर्वाचित भएका छन । प्रतिपर्धी इन्द्र शर्मालाई पराजित गर्दै शाही निर्वाचित भएका हुन । शाही नेता केशबहादुर विष्ट निटक मानिन्छन् ।
सल्यानमा महत्वका साथ हेरिएको शारदा नगरपालिकाको नगर सभापतिमा दीपक हमाल निर्वाचित भएका छन । हमालले प्रतिपर्धी हिमेन्द्र बाबु सेजवाललाई ५७ मत अन्तरले पराजित गरेका हुन । हमालले १४५ मत पाएका थिए भने सेजवालले ८८ मत मात्रै प्राप्त गरे । सभापतिमा उम्मेदवारी घोषणा गरेका नेता धुर्व पुरी निकट मानिने हमाल टिमबाट सबै पदाधिकारी पनि बिजयी भएका छन् ।
उपसभापति अमिका बोहरा १२८ र लोकबहादुर भन्डारी १२१ मत प्राप्त गरि बिजयी भए । सचिबमा कुलबहादुर रावत १५५ र अनिल भन्डारी १३६ मत पाप्त गरि बिजयी भएका छन् । त्यस्तै सहसचिवमा चेतना शाह १५४ र पूर्णबहादुर खड्का १२४ मत प्राप्त गरि बिजयी भएका छन् ।
त्रिबेणी र शिद्ध कुमाखमा सर्वसम्मत
यसअघि नै त्रिवेणी गाउँपालिका र शिद्ध कुमाख गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको थियो ।
त्रिवेणीमा गंगाराम पुन र शिद्ध कुमाख गाउँपालिकामा बीरबहादुर बुढाथोकी नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।
पुन नेता विष्ट निकट र बुढाथोकी नेता पुरी निकट मानिन्छन् ।
हालसम्म प्राप्त भएका परिनाम अनुसार नेता पुरी निकट ५ पालिकामा र नेता बिष्ट निकट ४ पालिकामा निर्वाचित भएका छन् ।
जिल्ला निर्वाचन समितिका अनुसार अब बनगाँड कुपिन्डे नगरपालिकाको मात्रै मत परिनाम सार्वजनिक हुन बाँकी छ । त्यहाँ मत गणना जारी रहेको जिल्ला निर्वाचन समितिले जानकारी दिएको छ ।