दाङ, जेठ ३१ ।
ट्रककको ठक्करबाट एक जना सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ ।
बर्दियाको बाँसगढी नगरपालिका–५, मोतिपुरका ३५ बर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार कडेलको ट्रकको ठक्कर बाट मृत्यु भएको हो । दुर्घटना लगत्तै उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल गुलरिया पुर्याउँदा चिकित्सकले बिहान साढे ५ बजेतिर उनलाई मृत घोषणा गरेका थिए।
बर्दियाका प्रहरी प्रबक्ता डिएसपी रेशम बोहराका अनुसार दुर्घटनामा परि बासगढी नगरपालिका–८ ककौराका ३५ बर्षीय सशस्त्र प्रहरी जवान दीपककुमार जङ शाह घाइते छन् । उनको अवस्था मध्यम रहेको छ । जिल्लामा प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर बाँके रिफर गरिएको डिएसपी बोहराले जानकारी दिए ।
मृतक कडेल र घाइते शाह दुवै जना फर्वाड अपरेटिङ बेस (एफओबी) गणेशपुर, बर्दियामा कार्यरत थिए । घाइते ट्रक चालक मकवानपुरको बागमती गाउँपालिका–५, समरी हेटौंडाका ४० बर्षीय निरन्जन दर्जीको जिल्ला अस्पताल बर्दिया गुलरियामा उपचार भइ रहेको छ । उक्त दुर्घटनामा परि एउटा भैंसीपनि मरेको छ ।
जिल्लाको गुलरिया नगरपालिका– ११ लालपुरमा बिहान पैदल हिडिरहेका सशस्त्र प्रहरी सहायक हवल्दार कडेल, शाह र भैंसीसमेतलाई तीब्र गतिको ट्रकले आइबार बिहान सवा ५ बजेतिर घटेको थियो ।
बिहानै अवैध रूपमा भारततर्फ लैजान लागिएका दु्ई वटा भैंसी र एउटा पाडोलाई सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको थियो । नियन्त्रण पछि ती भैंसी र पाडोलाई भन्सार कार्यालय गुलरियातर्फ लैजाने क्रममा हुलाकी सडक खण्डको लालपुरमा नेपालगञ्जबाट
गुलरियातर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख १४१२ नम्बरको ट्रकले उनीहरुलाई ठक्कर दिएको थियो ।
ट्रकलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले नियन्त्रणमा लिएको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी बोहराले जानकारी दिए ।
