फोटो: फरक कोण
दाङ, बैशाख १९ । गत उपनिर्वाचनमा दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य बिमला वली नेकपा माओबादी केन्द्रमा प्रबेश गरेकी छन् ।
उनका श्रीमान तथा प्रदेशसभा सदस्य उत्तरकुमार वलीको आफैले चलाएको कार दुर्घटनमा मृत्यु भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको थियो ।
उत्तरकुमार वली मुख्य मन्त्री शंकर पोखरेलका बिश्वास प्राप्त थिए । त्यसैका आधारमा उनको मृत्यु पछि श्रीमति बिमला वलीलाई पार्टीले टिकेट दिएको थियो ।
बिमलाले उपनिर्वाचनमा नेपाली काँग्रेसका नेता केशव आचार्यलाई पराजित गरेकी थिइन ।
अहिले बिमला एमाले त्यागेर माओवादी केन्द्रमा प्रबेश गरेपछि त्यसलाई राजनीतिक बृत्तमा निकै चासोका साथ हेरिएको छ ।
नेकपा माओबादीकी नेतृ तथा प्रदेशसभास सदस्य दामा शर्माले बिमला वलीले तत्कालिन नेकपाबाट चुनाब लडेको हुँदा पार्टी रोज्ने पाउने अधिकार उनको भएको र उनले इच्छाले अहिले माओबादी केन्द्र रोजेको जानकारी दिइन ।
उनले पहिले देखिनै बिमला आफ्नो पार्टीमा नजिक रहेको समेत दाबी गरिन ।
बिमला माओबादी केन्द्रमा प्रबेश गरेसंगै लुम्बिनी प्रदेशमा फेरि बहुमतको सरकार बनाउने र मुख्य मन्त्री भइराख्ने शंकर पोखरेलको सपना भत्किएको उनले टिप्पनी गरिन ।
नेपाली काँग्रेसका नेता तथा प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरीले अब प्रदेशमा नेकपा एमालेले बहुमतको एकल सरकार बनाउने संभावना सकिएको तर्क गरे ।
‘ अब जो ठूलो दल हुन्छ उसैले सरकार बनाउने कसरत गर्छ,’ उनले भने ‘ हामी अबिश्वासको प्रस्ताब दर्तागर्ने दलहरुका बीचमा थप सल्लाह हुने छ ।’