दाङ,साउन ४ । प्यूठानमा ट्रयाक्टर दुर्घटना हुँदा रोल्पाका सात जना मजदुरको घटनास्थलमै मृत्यु भएको छ । दु्र्घटनामा परि रोल्पा रुम्टगढी गाउँपालिका वडा नं. ५ निवासी १९ बर्षीय बिरेन्द्र बाठा मगर, १९ बर्षकै थमन बाठा मगर, २१ बर्षीय सागर बस्नेत, २४ बर्षीय रिमबहादुर बस्नेत, २५ बर्षीय कबिराम बस्नेत र गोर्बधन बुढा मगर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकृत प्रहरी निरिक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् ।
गोर्बधन बुढा मगरको भने उमेर खुली नसकेको सूचना अधिकारी पौडेलले जानकारी दिए । दुर्घटनमा परि रोल्पाकै त्रिवेणी गाउँपालिकाका निवासी २५ बर्षीय चालक कमल कुँवरको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । ट्रयाक्टरमा कुल ८ जना सवार रहेकोमा रोल्पाकै विशाल थापा भने हाम फालेर ज्यान जोगाउन सफल भएको प्रहरीले जानकारी दिएको छ ।
प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. ३ रुमालेस्थित भिंगृ–स्वर्गद्धारी सडकखण्डमा शनिबार राति लु २ त ४२३४ नम्बरको ट्याक्टर झन्डै ५०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । मृतक सबै भिंगृ– स्वर्गद्वारी सडकमा सडक निर्माणमा खटिएका मजदुरहरु रहेको प्रहरीले बताएको छ ।
