बिजौरी, माघ ८ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बासँगढीका राजु खडकाले आर्थिक सहयोगका लागि याचना गरेका छन् । उनी एक बस चालक हुन । लिटिल फलावर बोर्डिङ स्कुलको बस चलाउने खड्का हिलोले खुट्टा पाकेपछि थला परेका हुन ।
हिलोले पाकेको खुट्टामा गाउँघरमै उपचार गर्दै आएका उनलाई हाल गम्भीर समस्या देखिएको छ । शिक्षण अस्पतालमा पुग्दा उनको खुट्टामा क्यान्सरको लक्षण देखिएपछि उनी चिन्तित बनेका छन् ।
डाक्टरले हिलोले कुहिएको औंलाको केही भाग काट्नु पर्ने सुझाएका छन् । त्यसमा क्यान्सरको लक्षण देखिएको हुँदा त्यो काटेर फाल्न एकलाख जति खर्च लाग्ने जानकारी आफुलाई डाक्टरले दिएको पीडित खड्काले बताए ।
खुट्टा पाकेर थला परेका खड्का दशैंपछि काममा जान सकेका छैनन् । खड्काको आर्थिक अवस्था कमजोर छ । उपचारको लागि आवश्यक रकम नभएको हुँदा सहयोगको लागि उनले सबैमा याचना गर्न थालेका छन् । ‘मानविय नाताले मलाई सहयोग गरेर मेरो ज्यान जोगाइदिनुहोस,’ खड्काले फोनमा भने ।
स्थानीय सरकारले आर्थिक रकम सहयोगका लागि सिफारिस दिएको भएपनि अन्य कतैबाट कुनैपनि सहयोग खड्काले पाएका छैनन् । यद्यपी स्थानीय सरकारको सिफारिसमा क्यान्सर पीडितका लागि एक लाख सम्मको उपचार खर्च निशुल्क हुने गर्छ । त्यसवारेमा खड्काले अनभिज्ञता प्रकट गरे । ‘म थलिएको छु र मलाई त्यो सबै गरिदिने पनि कोही छैन,’ खड्काले भने ‘ मलाई तत्कालै रकम जुटाएर आउने डाक्टरले भनेका छन्, सरकारी प्रक्रिया लामो हुने हो कि, त्यो पनि थाहाँ छैन।’
खडकाले सहयोग गर्ने इच्छुक व्यक्तिलाई ९८४५४२९८२७ मोवाईल नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन् ।