घोराही, २ मङ्सिर । बालमैत्री घोषणाका लागि अघि बढेको घोराही उपमहानगरपालिकाका वडा नं. १ र २ का अभिभावक र बालबालिकाले आइतवार छलफल गरेका छन् । घोराही उपमहानगरपालिका र युनिसेफको सहयोगमा हिमालयन शान्ति तथा विकास अभियान (हिप्डेक) नेपालद्वारा आयोजित अभिभावक र बालबालिका सँगको छलफल भएको हो । छलफलका क्रममा अभिभावकहरुले आफ्नो टोल तथा वडाका हरेक बालबालिकाहरुलाई अधिकार प्राप्तिका लागि आफ्नो सकारात्मक भूमिका प्रतिवद्धता जाहेर गरे ।
वडा नं. २ का अध्यक्ष केशवराज आचार्यले चेतनाको स्तरसंगै सन्तान जन्माउने दर पनि कम हुँदै गएकोमा खुसी साटे । ‘पहिले जस्तो आमाहरुलाई बच्चा जन्माउने मेसिन मान्ने धारणा परिवर्तन भएको छ । अब बालबालिका जन्मनुपूर्व नै उसको उचित व्यवस्थापनको योजना बनाउन जरुरी ठानिन्छ ।’ आचार्यले भने ।
बालबालिकाको लागि उचित वातावरण दिनु अभिभावकै दायित्व भएको उनको तर्क थियो । वडालाई यसै आर्थिक वर्षमा बालमैत्री घोषणा गर्ने लक्ष्य लिइएको छ ।
त्यसैगरी वडा नं. १ मा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष राममणि पाण्डेले भौतिक विकासभन्दा पनि पहिले मानवीय चेतनाको स्तर वृद्धि गर्न जरुरी रहेको बताए । बालबाललिकालाई उचित वातावरण दिनसके भोलि विकासको नेतृत्व उनीहरुले नै गर्ने बताए ।
वडा नं. १ को कार्यक्रममा सिबिसका बाल संरक्षण अधिकृत भरत अधिकारी तथा वडा नं. २ को कार्यक्रममा पत्रकार शरद अधिकारीले बालअधिकार तथा बालबालिकाप्रति अभिभावकको दायित्वका बारेमा प्रशिक्षण दिएको हिप्डेकका कार्यक्रमका संयोजक किरण गौतमले जानकारी दिए ।