२०८१ बैशाख ८ गते शनिवार

सन्तोषकुमार गुप्ता यसकारण पक्राउ परे

दाङ। राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ पुलचोक निवासी सन्तोषकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।
राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियाको प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ६६ लाख २९ हजार २ सय ४९ रुपैंया हिनामिना गरेको भन्ने जाहेरीका आधारमा गुप्तालाई पक्राउ गर्नु परेको दाङ जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी रामप्रशाद घर्तीले जानकारी दिए । कात्तिक १८ गते उक्त सहकारी संस्थाका अध्यक्ष टेकबहादुर कार्की, कोषाध्यक्ष रामप्रशाद चौधरी र सदस्य शिवहरी चौधरीले ईलाका प्रहरी कार्यालय भालुवाङमा गुप्तासहित तीन जना विरुद्ध रकम हिना मिना गरेको भन्दै किटानी जाहेरी दिएका थिए ।

गुप्ता उक्त सहकारी संस्थाका ऋण समितिका संयोजक हुन । त्यस्तै राप्ती गाउँपालिका वडा नं. ५ पहरुवा निवासी तथा उक्त सहकारी संस्थाकी व्यवस्थापक रमिता चौधरी र उनका पति तथा संस्थाका पूर्व सचिव वशन्तकुमार चौधरीका विरुद्ध पनि ६६ लाख २९ हजार २ सय ४९ रुपैंया हिनामिना गरेको जाहेरी परेको छ । तर चौधरीका पति पत्नी फरार रहेको हुँदा उनीहरुको खोजी भइरहेको ईप्रका भालुवाङका प्रमुख एवं प्रहरी निरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिए । ‘रकम हिनामिना गरेको जाहेरीको आधारमा सोधपुछका लागि संचारकर्मी समेत रहेका  गुप्तालाई कात्तिक २४ गते पक्राउ गरेका हौं,दुईजना फरार छन् ।’ पाण्डेले भने ।

यसैबीच पक्राउ परेका गुप्तामाथि थप अनुसन्धान गर्नको लागि दाङ देउखुरी जिल्ला अदालतवाट ५ दिनको म्याद थप भएको प्रहरीले जानकारी दिएको छ । सहकारीको रकम हिनामिना गरेको अभियोग खेपेका पत्रकार समेत रहेका गुप्ता र फरार चौधरी दम्पत्ती विरुद्ध सहकारीको रकम हिनामिना तथा बैंकिङ कुसुर सम्वन्धी मुद्दा चलाएर कानुनी उपचार खोजिने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *