
तुलसीपुर, जेठ १९ ।
दाङको तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टको धावनमार्ग विस्तार गर्न सरकारले २५ करोड बजेट छुट्याएको छ ।
सरकारले एयरपोर्टको धावन मार्ग विस्तार गर्न आर्थिक वर्ष २०८३/०८४ का लागि २५ करोड रुपैयाँ विनियोजन गरेको जनाइएको छ ।
दाङ क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य कमल सुबेदीले आफ्नो सामाजिक संजाल फेसबुकमा एयरपोर्टमा २५ करोड बजेट बिनियोजन भएको उल्लेख गरेका छन् ।
बजेटबाट विमानस्थलको स्तरोन्नति गरिने भएको छ ।
सांसद सुवेदीले टरिगाउँ विमानस्थलको धावनमार्ग अब बिस्तार गर्न सहज हुने बताए । हाल एयरपोर्टको धावन मार्ग ७५० मिटर लम्बाइमा मात्रै कालोपत्रे छ । बिनियोजित बजेट बाट धावन मार्ग विस्तार गरि १५०० मिटर पुर्याउन सहज हुने अनुमान गरिएको छ ।
भनिए जस्तै गरि बजेट आयो र काम अगाडि बढ्यो भने बर्षौंदेखि कुरा उठ्दै आएको टरिगाउँ एयरपोर्टको मुहार फेरिने छ ।
छोटो धावन मार्गमा कालो पत्रे गरिएको हुँदा यहाँ साना १९ सिटे जहाज मात्रै अवतरण गर्न सक्छन् । यदि धावन मार्ग बिस्तार भएमा यहाँ एटिआरसम्मका (७२ सिटे) जहाजहरु अबतरण गर्न सहज हुने छ ।
२०११ सालदेखि संचालमा आएको नेपालकै पुरानो मध्यको दाङको टरिगाउँ एयरपोर्ट फेरि गुल्जार बन्ने आशा गरिएको छ ।
तुलसीपुरदेखि दगौंरा खोलासम्मको सडकका लागि ५५ करोड
त्यस्तै दाङले तुलसीपुर–जलकुन्दीदेखि दगौरा खोलासम्मको सल्यान जोड्ने सडक खण्डका लागि ५५ करोड बजेट बिनियोजन भएको छ । यो सडक खण्ड बहु वर्षीय आयोजना अन्तर्गत स्रोत सुनिश्चित भएको सांसद सुबेदीले बताए । यो सडक खण्डका लागि पनि यही आर्थिक वर्षभित्र ठेक्का प्रक्रिया अगाडि बढ्ने जनाइएको छ । त्यस्तै सितलपुरस्थित बबई नदीमा अर्कौ एउटा नयाँ पक्की पुल निर्माण गरिने भएको छ । त्यसका लागि पनि बजेट बिनियोजन भएको सांसद सुबेदीले फरककोणलाई बताए ।
डिभिजन सडक कार्यालय दाङका प्रमुख इञ्जिनियर दिपेन्द्रबहादुर बिष्टले यसअघि नै कार्यालयको तर्फबाट राप्ती राजमार्ग अन्तगर्तका तुलसीपुरको बबई नदी र सल्यानको शारदा नदीको पुल साँघुरो भएको हुँदा नयाँ पुलहरु निर्माण गर्ने योजनाको माग गरिए बमोजिम बजेट बिनियोजन भएको बताए ।
