२०८२ असार ७ गते आइतवार

सरकारले विश्वासको मत लिनुअघि नै अर्थसचिव परिवर्तन हुने

काठमाडौं,पुस १५ । सरकारले विश्वासको मत लिनुअघि कर्मचारी सरुवा नगर्ने छलफलमा नयाँ सरकार छ। तर अर्थ मन्त्रालयभित्र रहेका दुई सचिवमध्ये अर्थसचिव कृष्णहरि पुस्करलाई भने परिवर्तन गर्ने भएको छ।

स्रोतका अनुसार विश्वासको मत लिनुअघि नै कृष्णहरि पुस्करलाई परिवर्तन गर्ने विषयमा अर्थमन्त्री विष्णु पौडेलले छलफल थालिसकेका छन्।

उनलाई सरुवा गरेर कुन ठाउँमा स्थानान्तरण गर्ने र उनको स्थानमा को ल्याउने विषय भने टुङ्गो लागेको छैन। ‘सरुवा भन्ने कुरा अर्थमन्त्रीले चाहना राख्ने हो, त्यो निर्णय उहाँले गर्ने विषय होइन’, अर्थस्रोतले भन्यो, ‘त्यसकारणले मिलाउन समय लागेको होला।’

स्रोतका अनुसार अर्थमन्त्री पौडेलले पहिलो सरुवा अर्थसचिव पुस्करलाई नै गर्ने विषयमा आन्तरिक कुरा गरिसकेका छन्।  यदि उनलाई सरुवा गरेको खण्डमा अर्थसचिवको भूमिकामा विकल्पहरु रहेको अर्थ मन्त्रालयका ती अधिकारी बताउँछन्।

‘राजस्व सचिव रामेश्वर दंगाललाई नै तत्कालको लागि अर्थसचिवको भूमिकामा राख्ने पनि महत्वपूर्ण विकल्प हो’, ती अधिकारीले भने, ‘नयाँ सरकारले संसदबाट विश्वासको मत नलिई कर्मचारीको सरुवा बढुवा नचलाउने सहमति भएको खण्डमा त्यो उत्तम विकल्प हो।’

यदि सरुवा गरेन र नयाँ व्यक्तिकै चाहना राखेको खण्डमा वाणिज्य सचिव तोयम राय तथा सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको सम्भावना पनि रहेको ती अधिकारीको भनाइ छ।

अर्यालको अवकाशको समय सकिन लागेकोले उनको सम्भावना पनि कम छ। अहिले अर्थ मन्त्रालयमा चाहना राख्नेमा केवल भण्डारी समेत रहेको उनको भनाइ छ।

अर्थ मन्त्रालयमा अर्थमन्त्री पौडेलले टिम नै परिवर्तन गर्न चाहेका छन्। मन्त्रालयका सहसचिवहरु, अर्थ मन्त्रालयमातहतका निकायका नेतृत्वकर्ताहरु र मन्त्रालयका उपसचिवहरुको समेत परिवर्तन गरेर मन्त्री पौडेलले नयाँ टिमको चाहना राखेको स्रोतको भनाइ छ।

अर्थ मन्त्रालय प्रवेश गरेको दिन नै अर्थमन्त्री पौडेलले परिभाषित जिम्मेवारी पूरा गर्ने कर्मचारी हेर्ने बताएका थिए। अर्थ मन्त्रालयको अनुभव भएका अर्थात् राजस्व पृष्ठभूमिका कर्मचारीतर्फ उनले संकेत गरेका थिए। त्यसो हुँदा पौडेलले अर्थ मन्त्रालयमा नयाँ टिम बनाउने सम्भावना उच्च देखिएको हो।

 

प्रकाशित मिति : २०७९ पुष १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *