२०८२ असार ६ गते शनिवार

जनताको क्रयशक्ति बढाउन आवश्यक छः ऊर्जामन्त्री भुसाल

काठमाडौँ ,भदौ २७ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गुणस्तरीय जीवनयापनका लागि जनताको क्रयशक्ति बढाउन आवश्यक रहेको बताएकी छिन।

काठमाडौँमा सोमबार युएनडिपीले गरेको मानव विकास प्रतिवेदन सन् २०२१÷२०२२ को रिपोर्ट सार्वजनिक कार्यक्रममा मन्त्री भुसालले गुणस्तरीय जीवनयापनका लागि जनताको क्रयशक्ति बढाउन देशको अर्थतन्त्र सबल हुनुपर्ने बताइन्।

उनले कृषि, पर्यटन र ऊर्जाबाटै देशको सबल अर्थतन्त्र निर्माण गर्न सकिने भन्दै देश विकासका लागि जलस्रोतलगायत प्राकृतिक स्रोतको उचित प्रयोग गर्नु आवश्यक रहेको बताइन्।

उनले औद्योगीकरण, यातायात सञ्चालन, सिँचाइ, कृषि विकास, खानेपानीको विकासमा विद्युतीय सामग्रीको प्रयोग गरेर उज्यालो भविष्य निर्माण गर्न सक्नुपर्ने बताइन्।

मन्त्री भुसालले ऊर्जाको आन्तरिक खपत बढाउनुका साथै खपत नहुने ऊर्जा निर्यात गरेर भए पनि आर्थिक विकास गर्न जरुरी रहेको पनि बताइन्।

उनले जलस्रोत र ऊर्जाको दिगो विकासमार्फत आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै समृद्ध नेपाल निर्माणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिन आवश्यक रहेको पनि स्पष्ट पारिन्।

उनले देशमा उत्पादित विद्युत् पूर्ण रुपमा नविकरणीय, स्वच्छ ऊर्जा भएकाले हाल देशको ९५ प्रतिशत जनतामा विद्युत् पहुँच पुगेको दाबी गरिन्।

उनले दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुग्नेगरी योजना बनाई कार्यान्वयन भइरहेको पनि बताइन्।

उनले सरकारले मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने विपन्न नागरिकलाई निःशुल्क विद्युत् सेवा दिने र निःशुल्क मिटर जडान गर्ने व्यवस्था मिलाएको उल्लेख गर्दै विद्युत् आधारभूत आवश्यकताका साथै उत्पादनको साधन भएको बताइन्।

मन्त्री भुसालले यो आर्थिक वर्षको अन्त्यसम्म करिब १६ अर्बको विद्युत् व्यापार हुने प्रक्षेपण गरेको बताइन्।

उनले यस वर्ष आन्तरिक विद्युत्को खपत २० प्रतिशतले बढेको र हाल प्रतिव्यक्ति वार्षिक विद्युत् खपत ३५१ युनिट रहेकोमा आगामी दिनमा उल्लेख्य वृद्धि हुने अपेक्षा राखेको बताइन्।

नेपाल युएनडिपीको प्रतिवेदनअनुसार १९३ वटा देशमध्ये मानव विकास वर्गीकरणको १४३ औं स्थानमा छ। नेपाल मध्यम मानव विकासको अवस्थामा रहेको तथ्यांकले देखाएको छ।

प्रकाशित मिति : २०७९ भाद्र २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *