२०८१ मङ्सिर २७ गते बिहिवार

आफ्नै निर्णयबाट पछि हटिन ‘स्यानी’

साउन ३१ गते सुरूमा तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीलाई उद्धत गर्दै मोवाइलमा म्यासेज आयो । जसमा भदौ १ गते दिउँसो ३ बजेतिर एयरपोर्टबारे छलफल गरिने हुँदा उपमहागरपालिकामा पत्रकारलाई निम्त्याइएको थियो । म्यासेजमा पठाइएको विषयवस्तु त्यतिमा मात्रै सीमित थिएन । एयरपोर्टको धावनमार्ग विस्तार र विकासको लागि एउटा समिति गठन गर्नेसम्मको सूचना दिइएको थियो ।

खैर, फेरि अर्कौ त्यस्तै म्यासेज तुलसीपुर क्षेत्रका सबै पत्रकारको मोवाइलमा पठाइयो । जसमा स्पष्ट उल्लेख थियो । उपमेयर स्यानी चौधरीले आह्वान गर्न खोजेको एयरपोर्टको विकाससम्बन्धी छलफल तत्कालका लागि स्थगन गर्ने निर्णय भएको छ । केहीबेरको अन्तरालमा आएका यी दुई म्यासेज पाउने सबै जिल परे, अन्यौलमा परे ।

थोरै चिन्तन गरे यहाँनेर जो कोहीले पनि सहजै अनुमान लगाउन सक्छ । घटना बुझ्न केही कठिन हुन्न । यहाँ पक्कैपनि उपमहानगरपालिका भित्रै पदाधिकारीका बीच आन्तरिक तालमेल पटक्कै मिलिरहेको छैन । समन्वय हुन सकिरहेको छैन । कसैमा महत्वाकांक्षा पलायो वा कसैको म हेड हुँदा हुँदै किन मलाई नसोधेरै, मलाई माइनस गरेर उ अगाडि बढ्न खोज्दै छ ? भन्ने मनोविज्ञानले काम ग¥यो ।

यहाँ नेर मनन गर्नुपर्ने गहन कुरा के हो भने, टरिगाउँ एयरपोर्टको विस्तार र विकास स्थानीय सबैले चाहेका छन् । तर, यो विषय भने जति सहज पटक्कै छैन । यो एनजियोको रिपोर्ट तयार पारे जसरी खुरूखुरू हुने काम पनि होइन । यहाँ धेरैका इन्ट्रेष्ट बाँझिएका छन् । बल्झिएका छन् । भेगीय र क्षेत्रीय राजनीतिको सिकार टरिगाउँ एयरपोर्टलाई बनाइएको छ ।

एयरपोर्टको विकासको समिति गठन गर्दैमा काम धमाधम सुरू हुन्छ भन्ने भ्रम मात्रै हो, भन्नेहरू धेरै छन् । कारण, हामीसँग अर्को नजिर पनि छँदैछ । यसअघिका कति धेरै मन्त्री, प्रधानमन्त्री, दलका शीर्ष नेता सबैले वाचा गरेपनि एयरपोर्टको धावनमार्ग विस्तार हुन सकेको छैन । यस्तो स्थितिमा उपमेयर स्यानी चौधरीले समिति गठन गर्दैमा कुनै चमत्कार हुन्छ ? यसमा विश्वास गर्ने आधार देखिदैन ।

सत्य के हो भन्दा, बच्चा नरूदासम्म आमाले पनि दूध चुसाउँदिनन् । यहाँका नागरिक, नेता सबै एयरपोर्टको विषयलाई लिएर जुरूक्कै उठेमा भने अलग हुन सक्छ । नत्र २०५८ सालदेखि २०७४ साल पहिलेसम्म एयरपोर्टको विकास विस्तारको लागि भन्दै तुलसीपुर क्षेत्रका उद्योगी व्यवसायीले कति कष्ट बेहोरे ? कति ज्ञापनपत्र बुझाए ?

कहाँ–कहाँ धाएनन् ? त्यो कुरा नपत्याए बिमल रिजाल लगायतलाई सोधे पुग्छ । जस्ले कुनै दिन स्थानीय जनप्रतिनिधि नहुँदा र आफू तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्ष हुँदा प्लेन टिकटको जिम्मा (ठेक्का) लिएरसमेत प्लेन चलाउन भूमिका खेलेका थिए ।

म थोरै बरालिए क्यारे ! विषयान्तर भयो कि ? जेहोस्, उपमेयर स्यानी चौधरीले गर्न खोजेको र चाहेको काम नराम्रो होइन । उनले सायद चर्चामा आउनु भन्दा पनि राम्रै गर्न चाहेकी हुनुपर्छ । कार्यक्रम स्थगित गरिएपछि मैले उहाँलाई फोनमा सोधेको थिए । आफैले अघि सारेको कार्यक्रम किन रोक्नुपर्ने अवस्था आयो ? उनले सुरूमा बडो कुरा यताउता लान खोजिन । तर, थप प्रश्नहरू मैले सोधेपछि उनले सकस मान्दै भनिन् ‘मैले गर्दा हुँदै होइन, अरूले गर्दा रोक्न दबाब दिइयो ।’

मैले छोडिन । तपाईलाई कहाँबाट दबाब आयो । फेरि उनी अकमकाइन् । बोल्न डराएझैं सानो स्वरमा उनले सुटुक्क भनिन् । ‘मेयरबाट दबाब आयो’ । मैले फेरि सोधे, किन रहेछ ? उनले थप स्पष्ट हुँदै भनिन् –‘त्यो म्यासेजमा उपमेयर स्यानी चौधरीको आदेश भन्ने थियो नि त, हो त्यसैले मेयर सापलाई बिझाए छ ।’ अब थप सोध्न आवश्यक मैले ठानिन । तै उनी बोलिरहिन । ‘अन क्वालिफाइड ब्यक्तिहरूले मात्रै मेरो विरोध गर्ने हुन् र उनीहरूले विरोध गर्दैमा केही फरक पर्दैन,’ उनले थपिन ‘अब दुई तीन दिनमै फेरि त्यो छलफल अगाडि बढ्छ । मलाई विश्वास गर्नुस् एयरपोर्ट बन्छ, बन्छ ।’ उनी पनि पत्रकार बनेर मलाई सोधिन ।

तपाई पनि टरिगाउँ एयरपोर्टको विस्तार र विकास होस् भन्ने चाहानु हुन्छ नि हैन ? मैले सहजै स्वीकारे र भने स्थानीयबासी हुनुको नाताले अरू जस्तै अवश्य पनि म जति हुन्छ छिटो यसको विकास र विस्तार भएको हेर्न चाहन्छु । नेपालगञ्ज वा भैरहवाबाट जस्तै गरी आम सर्वसाधारणले सुविधायुक्त प्लेनमा यात्रा गर्न पाएको हेर्न ठूलो चाहना छ ।

त्यसपछि उनी झनै महत्वाकांक्षी सुनिइन् । भनिन् ‘म अगाडि बढे ६ महिनाभित्रै टरिगाउँ एयरपोर्टको धावन मार्ग विस्तार भइ सक्छ ।’ उनको कुराले म सपनामा छु कि ? नेर आफैलाई चिमोटेर हेरे । पछि मोवाइलको रेकर्ड दोह¥याएर सुनेपछि विश्वस्त भएको थिए । एउटै पार्टीका भएपनि यति छिटै किन मेयर टिकाराम खड्का र उपमेयर स्यानी चौधरीका बीचमा यति गहन विषयको कुरामा तालमेल नभएको होला ? त्यो कुरा मैले यहाँहरूकै जिम्मा छोडे …। आफै तर्कना गर्नुहोस् ।

म सरकारी अड्डाहरू बिरलै छिर्छु । मेयर घनश्याम पाण्डे हुँदा पनि समाचारका लागि कुरा गर्न दुई÷तीन पटक बाहेक उपमहानगरपालिका प्रवेश गरिन् । यो पटक, नयाँ जनप्रतिनिधि आएपछि तीन पटक गएको छु । एकदिन वार्षिक नीति तथा कार्यक्रमबारे भएको छलफलमा । अर्को एकदिन संस्थागत रूपमा सहयोग माग्न सबै साथी भाइसँग ।

जति लेखेपनि मेयर पाण्डे भेटमा निकै सहजरूपमा हाँसी मजाग गर्दै प्रस्तुत हुन्थे । तर, अहिलेका मेयर खड्का जहाँ देख्या त्यही समाचारको विषयलाई लिएर ‘विरोधी आयो’ भनि हाल्छन् । मलाई रमाइलो लाग्छ । किनकी, मिडिया जहिले सत्ताको वाचडगको भूमिकामा पत्रकार हुनुपर्छ । मिडिया प्रतिपक्षीको भूमिकामा हुनुपर्छ भन्ने मलाई थाहा छ ।

तीन पटकमध्ये एकपटक एकजना पदाधिकारीले धेरै पटक फोन गरेपछि र म्यासेजसमेत गरेपछि गएको थिए । त्यो पनि समाचार संकलनकै सिलसिलामा । म गएको देखेर, त्यहाँ अरू मिडियामा आबद्ध मानिसहरू पनि आए । उनीहरू सँगै म पनि कोठाबाट निस्कन खोजे । उनले मलाई तपाई एकछिन बस्नुस् भनेर रोके । उनीहरू गइसकेपछि उनले आफै भने यहाँ आएकामध्ये केही पर्चाकार पनि थिए नि, हैन र ? म केही बोलिन ।

उनी रोकिएनन् । मलाई यहाँ एमालेकै मान्छेहरूले सिआइडी गरिरहेका छन् भन्ने शब्द उनले बोले । म छक्क परे । तर, किन ? तपाईले पनि त एमालेबाटै जितेको होइन र ?

‘पार्टी एउटै भएर मात्रै हुँदो रहेन छ नि ? घनश्याम पाण्डेले ३०–३५ करोड ऋणमा डुबाएर गएका छन्,’ उनले अगाडि भने ‘हाम्रो कार्यकाल त त्यही ऋण तिर्दैमा बित्ने भो । जनअपेक्षा ठूलो छ र थप नयाँ हुनेवाला केही छैन ।’ मैले पुनः प्रश्न सोधे– तपाईहरूका पछाडि कसले सुराकी लगाउँदै छ ? उनले यताउति हेरे । भित्ताका पनि कान हुन्छन् ? पछि भनौंला अहिले न भनौं है भनेर पन्छिए । काम गर्ने सवालमा आफूले पार्टी नहेर्ने र निरन्तर सुराकी र घेराबन्दी कायमै रहे पार्टीको वास्ता नगर्ने उनले स्पष्ट पारे । समथिङ इज रङ भन्ने कुरामा म स्पष्ट भए ।

एयरपोर्टबारे छलफल र विकासका सवालमा उपमेयर स्यानी चौधरीको नामबाट दुई फरक÷फरक सूचना आउनुका पछाडि पनि त्यही कुराले असर छ कि ? भन्ने नकार्न मिल्दैन । एकजना मित्रले केही समय पहिले पनि तुलसीपुर नगरभित्रका केही पदाधिकारी एमालेबाट जितेर पनि एमालेलाई आज बेवास्ता गर्ने, भनेको नमान्ने तथा नसुन्ने गर्न थालेको भन्दै गुनासो मसँग पोखेका थिए ।

ब्यक्तिगत लाञ्छनाका कुरा सुन्न मलाई उति रूचि हुन्न । तर, उनले यस्तै अवस्था कायमै रहे पार्टीलाई कारबाहीका लागि रिफारिस गर्नेसम्मका कुरा उठिरहेको छ भन्ने कुरा गरे । म केही बोलिन । बेलुका भइ सकेको थियो । म घरतर्फ लागे । मनमा अन्यौंलग्रस्त टरिगाउँ एयरपोर्टको कुरा खेलिरहेकै थियो ।

प्रकाशित मिति : २०७९ भाद्र १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *