

तुलसीपुर, जेठ १५ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गणतन्त्रवादी तथा संविधान निर्माणका क्रममा एक ठाउँमा उभिएका शक्तिहरु पुनः एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।
लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको १९ औँ गणतन्त्र दिवस मूल समारोहलाई शुक्रबार देउखुरीस्थित प्रदेश प्रशासनिक परिसरमा सम्बोधन गर्दै उनले लामो संघर्ष, त्याग र बलिदानीबाट प्राप्त उपलब्धिमाथि धावा बोल्ने काम भइरहेको भन्दै उपलब्धिको रक्षाका लागि सबै सचेत नागरिक एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याएका हुन ।
‘लोकतान्त्रिक गणतन्त्र लामो संघर्षपूर्ण बलिदानबाट प्राप्त उपलब्धि हो । यही शासन व्यवस्थालाई कमजोर पार्न, संसदीय मूल्य मान्यतालाई कमजोर बनाउन दुस्साहस भइरहेको छ । यसको खबरदारी गर्न जरुरी छ । सचेत नागरिकको हैसियतले यो व्यवस्थाको रक्षाका निम्ति सबै एकजुट हुन जरुरी छ ,’ उनले भने ।
त्यस्तै उनले जनताको आवाजमाथि खेलवाड गर्ने शक्तिहरु हावी हुन खोजिरहेको टिप्पणी गर्दै लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्न विभिन्न खालका षड्यन्त्र भइरहेको बताए ।
गणतन्त्र प्राप्तिपछि विकास निर्माणको क्षेत्रमा कायापलट भएको दाबी गर्दै उनले भौतिक, सामाजिक तथा नागरिक अधिकारका क्षेत्रमा असाधारण विकास भए पनि केही नभएको भाष्य निर्माण गरिएको भन्दै रोष प्रकट गरे ।
‘प्रदेश स्थापना भएपछि पनि धेरै विकास भएको छ । नागरिकको जीवनमा परिवर्तन आएको छ । तर, केही भएन भन्ने भाष्य खडा गरेर मुलुकलाई कमजोर पार्ने काम भइरहेको छ,’ उनले भने ।
कार्यक्रममा सभामुख तुलाराम घर्ती मगरले नागरिकको बलिदानीको जगमा स्थापित लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि व्यवहारमा समेत परिवर्तन आवश्यक रहेको बताए । गणतन्त्रात्मक व्यवस्था उन्नत शासन व्यवस्था भएकाले सार्वभौम नागरिकको सम्मान यसै व्यवस्थामा सुरक्षित रहने उनले बताए ।
प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा सरसफाइ, दीप प्रज्वलन तथा मूल समारोह आयोजना गरेर दिवस मनाएको हो ।




