दाङ, फागुन १८ । सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो चुनाव प्रचार प्रसारका लागि प्रयोग गरेको गाडीमा मदिरा जन्य पदार्थ फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बोलेरो जिपमा खाने तेल , चामल, मदिरा र राश्वपाको झन्डा बरामद भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
सल्यानका प्रहरी प्रबक्ता देवराज भट्टराइका अनुसार राश्वपाले प्रचार प्रशारमा प्रयोग गरेको जिपबाट दुई बोरा चामल, गोली डाइमण्ड लेखेको सात काटुर्न अर्थात २१० बोत्तल मदिरा र रक स्टार लेखिएको बियर दुई कार्टुन अर्थात २४ बोत्तल, सूचुची लेखिएको खाने तेल एक लिटरको तीन काटुर्न अर्थात ३० बोत्तल, राश्वपाका झन्डा बरामद भएको हो ।
सोमबार बिहान पौने १० बजेतिर जिल्लाको बनगाड–कुपिण्डे नगरपालिका – १ सल्लीबजारस्थित माथिल्लो बजारबाट प्रहरीले जिप संगै चालक जिल्लाको सिद्धकुमाख गाउँपालिका – ४ का २४ बर्षीय चन्द्रप्रकाश बुढाथोकी र सोही गाडीमा सवार बनगाड कुपिन्डे नगरपालिका – १ का ३७ बर्षीय मोहन बिसीलाई पनि नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक भट्टराइले बताए ।
जिप बनगाड कुपिन्डे – ५ खैरागार जाँदै थियो ।
चालक बुढाथोकीले ती सामान बिसीको भएको दाबी गरेका छन् ।
प्रहरीले भने निर्वाचनलाई लक्षित गरि ती सामान समुदायमा बाँड्न सक्ने आशंकाका साथ नियन्त्रणमा लिनु परेको बताएको छ ।
घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
