देउखुरी, माघ १ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा सबैमा शुभकामना दिएका छन् ।
उनले थारु समुदायले माघलाई नयाँ वर्षका रूपमा मनाउँने परम्परा रहेको र मगर, यादवलगायत अन्य समुदायका लागि पनि यो पर्व विशेष महत्व राख्ने उल्लेख गरेका छन् ।
लुम्बिनी प्रदेश बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिएको स्थल भएको भन्दै यो विविधतामा निहीत मौलिक संस्कृति र परम्पराहरू नै पहिचान र शक्ति भएको उल्लेख गरेका छन् ।
प्रदेश सरकारले यस्ता सांस्कृतिक मूल्य र मान्यताको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै आर्थिक तथा सामाजिक विकासलाई अघि बढाइरहेको उनले बताएका छन् ।
मौलिक कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तिकरण गर्ने लक्ष्यअनुसार सरकारले काम गरिररहेको उनले बताएका छन् ।
उनले पर्वले आपसी सद्भाव, आत्मियता, सहयोग र एकताको भावना अझ मजबुत बनाउने अपेक्षा व्यक्त गरेका छन् ।