घोराही, पुस २१ । दाङको घोराही स्थित भूमिसुधार तथा मालपोत कार्यालयमा जग्गाधनी श्रेस्ता कायम तथा अद्यावधिक सेवामा अनियमितता देखिएको भन्दै सचेत नागरिकको नाममा ज्ञापनपत्र बुझाइएको छ ।
ज्ञापनपत्रमा मालपोत कार्यालयमार्फत प्रवाह हुने सेवा पारदर्सी, छरितो र सेवाग्राही मैत्री हुनुपर्ने माग गरिएको छ ।
घोराही क्षेत्रका सचेत नागरिकको तर्फबाट बुझाइएको ज्ञापनपत्रमा जग्गाधनी श्रेस्ता कायम तथा अद्यावधिक प्रक्रियामा सेवाग्राही स्वयं कार्यालयमा उपस्थित भई निवेदन दिँदा ३ / ४ दिनसम्म समय लाग्ने गरेको तर लेखापढी कानून व्यवसायी मार्फत निश्चित रकम बुझाएपछि केही घन्टामै काम हुने अवस्था रहेको भन्दै त्यसको बिरोध गरिएको छ ।
समानता र निष्पक्षताको सिद्धान्त कमजोर बनाएको, आर्थिक रूपमा कमजोर नागरिकलाई सेवा प्राप्तिमा थप बोझ परेको तथा सार्वजनिक निकायप्रति जनविश्वासमा नकारात्मक असर परेको ज्ञापनपत्रमा उल्लेख छ ।
जग्गाधनी श्रेस्ता अद्यावधिक प्रक्रियामा स्पष्ट समय सीमा निर्धारण गरी समान रूपमा लागु गर्न, सेवाग्राही स्वयं उपस्थित हुँदा कुनै प्रकारको विभेद नगरी छरितो सेवा सुनिश्चित गर्न, लेखापढी कानून व्यवसायीमार्फत हुने कार्यको भूमिका, सीमा र कार्यविधि स्पष्ट गर्न माग गरिएको छ ।
सेवा प्रवाहमा हुने ढिलासुस्ती र शंकास्पद व्यवहार नियन्त्रणका लागि प्रभावकारी आन्तरिक अनुगमन र निगरानी व्यवस्था गर्न माग गरिएको छ ।
मालपोत कार्यालय घोराहीका मालपोत अधिकृत कृष्णप्रसाद पौडेल र प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई ज्ञापनपत्र बु्झाइएको हो ।
उनीहरुले उठाइएका विषयप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै सेवा प्रवाहमा कुनै पनि किसिमको कमी–कमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
ज्ञापनपत्र घोराही उपमहानगरपालिका – १४ का पूर्व वडाध्यक्ष शक्तिराम डाँगी, घोराही–१७ की पूर्व वडा सदस्य रेमन्ता पुन, जिल्ला उद्योग वाणिज्य संघ दाङका सचिव विकास वली, जेन्जी अगुवा उपकार रावत, घोराही–१५ स्थित सम्झौता टोल विकास संस्थाका अध्यक्ष दीपबहादुर खत्री, देउखुरी होटल व्यवसाय संघका उपाध्यक्ष खड्कसिंह पुन, शिक्षक खड्कबहादुर वली, रोल्पाली सेवा समाजका केन्द्रीय कोषाध्यक्ष निशान वली, नेपाल भारत भुपु सैनिक संघका सचिव पदमबहादुर केसीले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापन पत्र बुझाउन रोल्पाली सेवा समाज दाङका अध्यक्ष ओमप्रकाश खड्का, रुन्टीगढी सेवा समाजका कोषाध्यक्ष पहलमान थापा, इन्जिनियर विशाल श्रेष्ठ, घोराही–१४ पूर्व वडा सदस्य नैना चौधरी, घोराही–१४ स्थित झिगौरा टोल विकास संस्था पूर्व अध्यक्ष बलबहादुर चौधरी, घोराही– १३ स्थित शुभ विहानी टोल विकास संस्था अध्यक्ष मोहनसिंह घर्ती , समाज सेवी दिलवहादुर वली लगायत गएका थिए ।
