तुलसीपुर , मंसिर २८ । तुलसीपुरस्थित गोरखका स्कुलका १३ जना शिक्षक शिक्षिकाले पत्रकार सम्मेलन गरि आँफुहरु निर्दोष रहेको हुँदा बिद्यार्थी र अभिभावकलाई धोका दिएको नबुझ्न आग्रह गरेका छन् ।
शनिबार बेलुकी तुलसीपुरस्थित होटेल वष्टर्न पार्टी प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गरि विद्यालयका शिक्षक शिक्षिकाले आँफुहरुलाई विद्यालयले अपमानित रुपमा बाहिरिन बाध्य पारेको भन्दै बीचमै पढाउन छोडेर धोका दिएको भनेर नसोच्न विद्यार्थी र अभिभावकलाई आग्रह गर्न चाहेको बताए ।
२०६९ सालदेखि २०८२ सालसम्म करिब १५ बर्ष गोरखा स्कूलमा पढाएको आँफुलाई विद्यालयले संयोजकको नाताले दिएको ल्यापटप खोस्ने, बिभिन्न ह्वाट्एस ग्रुपको एडमिन बाट हटाउने जस्ता अपमान गरेको हुँदा आँफु दसैं पछि विद्यालय छोड्न बाध्य भएको पूर्व शिक्षक कमल भण्डारीले बताएका थिए ।
अर्का पूर्व शिक्षक तारक रेग्मीले आँफुले गोरखा माविमा एक दशक अध्यापन गरेको भएपनि पढाउँदा पढाउँदै ६औं घन्टीमा भोलिदेखि विद्यालय नआउन सूचना दिइएको हुँदा विद्यालय छोड्न बाध्य भएको बताए ।
चार बर्षदेखि सो स्कूलमा पढाउँदै आएको बताउने शिक्षिका मञ्जु कँडेलले आँफुहरुलाई अन्याय पूर्वक हठात रुपमा बीचमै विद्यालय छोड्न लगाउँदा बिद्यार्थी र अभिभावकले गलत बुझेको हुँदा आँफु निर्दोश रहेको तथा त्यो सबै विद्यालय प्रशासनकै कमजोरीका कारण सृजित अवस्था भएको बताइन ।
उनले श्रीमानको अन्त कुनै विद्यालयमा लगानी छ भनेर आँफुलाई अन्याय पूर्वक निकाल्दा पीडा भएको बताइन ।
विद्यालयका अन्य शिक्षकले पनि विद्यालय बाट बिकल्पमा शिक्षक खोज्दै एक एक गरि निकाल्न थालेपछि आँफुहरु दश जना शिक्षकले सल्लाह गरि दबाब स्वरुप एकै साथ राजीनामा दिएको बताएका थिए ।
कतिपयले बर्षौं पढाउँदा पनि आँफुहरुलाई शेयर बन्न चाहाना राख्दापनि शेयर नदिएको र बाहिर कुनै विद्यालयमा शेयर राख्दा शैक्षिक सत्र नै पुरा हुन नदिएर बीचमै हठात पूर्वक निस्कासित गरिएको गुनासो गरेका थिए ।
उनीहरुले आँफुहरु मिलेर अब छुट्टै बिद्यालयमा लगानी गर्न थालेको तथा भविश्यमा अर्कै विद्यालय खोल्ने र अब्बल बिद्यालय संचालन गर्नका लागि आपसमा सल्लाह भइ रहेको बताएका थिए ।
एकै साथ विद्यालयले किन दश जना शिक्षक निस्कासित गरेको हो ? भन्ने प्रश्नमा विद्यालय प्रशासनले कुनै प्रतिक्रिया दिन चाहेन ।
विद्यालयका प्रिन्सिपल बिजय जिएमले आँफुहरु पत्रकार सम्मेलनमा विद्यालयका पूर्व शिक्षकहरुले गरेको गुनास तथा आरोपका बारेमा कुनैपनि आरोप प्रत्यारोपमा उत्रिन नचाहेको बताए ।