२०८२ माघ ३ गते शनिवार

बर्दिया प्रहरीले निरजको हत्या आरोपी महाबीरसहित चार जनालाई सार्वजनिक गर्‍यो

दाङ , मंसिर २६ । बर्दिया प्रहरीले हत्या आरोपी महाबीर चौधरीसहित चार जनाको नाम शुक्रबार बिहान सार्वजनिक गरेको छ ।


दाङ तुलसीपुर उपमहानगरपालिका – ६ का १९ बर्षीय निरज चौधरीको तुलसीपुर – ६ कै ५१ बर्षीय महाबीर चौधरीले गोली हानी हत्या गरेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दिया गुलरियामा आयोजित पत्रकार सम्मेलनमा गोली प्रहारको अभियोग खेपेका महाबीरसहित बर्दियाको राजापुर नगरपालिका – ४ की ४४ बर्षीया रामकुमारी थारु, उनका श्रीमान ५० बर्षीय बुद्धि थारु र उनीहरुका छोरा २२ बर्षीय राहुल थारुको नाम प्रहरीले सार्वजनिक गरेको हो । रामकुमारी र उनको परिवारले रेष्टुरेन्ट संचालन गर्दै आएको थियो ।

महाबीरको लगानीमा संचालन हुँदै आएको बर्दियाको राजापुर नगरपालिका – ४ स्थित ‘हमार थारु घर एण्ड रेष्टुरेन्ट’ भित्रै मंसिर २० गते बिहान ८ बजेतिर कन्चटमा गोली हानेर निरजको हत्या गरेको तथ्य खुल्न आएको प्रहरीले पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख एसपी सरोज पौडेलले बताएका थिए ।

एसपी पौडेलका अनुसार गोली प्रहार गरेपछि महाबीरले नै राहुल र उनकी आमा रामकुमारीलाई भनेर अचेत अवस्थामा निरजलाई एम्बुेलेन्स मार्फत बाँकेको नेपालगंजस्थित नरसिंह होममा पुर्‍याउन लगाइ आँफु फरार भएका थिए ।

त्यस्तै रामकुमारीका श्रीमान बुद्धि थारुले घटनास्थल तथा ‘हमार थारु घर एण्ड रेष्टुरेन्ट’ भित्रका प्रमाण नष्ट गर्न भूमिका खेलेको एसपी पौडेलले बताए ।


गोली प्रहारको घटना पछि तत्काल प्रहरीलाई खबर गर्नुको साटो थारु परिवारले अपराधिक कार्यमा संलग्न महाबीरलाई नै सघाउने गरि भूमिका खेलेको हुँदा उनीहरुलाई पनि पक्राउ गर्नु परेको प्रहरीले बताएको छ ।

एसपी पौडेलले पत्रकार सम्मेलनमा गोली प्रहार पछि राहुलकै मोटरसाइकल प्रयोग गरि महाबीर कैलाली तर्फ भागेको बताए । प्रहरीले घटनास्थल बाट महाबीरले चढ्ने एउटा भारतिय नम्बर प्लेटको गाडीपनि नियन्त्रणमा लिएको छ ।

अमेरिकाका ग्रिन कार्ड होल्डर महाबीरको नामको भारतिय रासन कार्डपनि प्रहरीले फेला परेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

प्रहरीले महाबीरलाई कैलालीको कैलारी गाउँपालिका – २ स्थित एक खाली घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी बिहीबार बिहान ३ बजेतिर नियन्त्रणलिइएको बताएको छ ।


महाबीर भाग्न प्रयोग गरेको मोटरसाइकल पच्छ्याउँदै प्रहरी उनी समक्ष पुग्न सफल भएको हो । महाबीर फेला परेको ठाउँ भन्दा फरक ठाउँबाट प्रहरीले मोटरसाइकल बरामद गरेको थियो । प्रहरीले निरजको हत्यामा प्रयोग भएको पेस्तोल पनि बरामद भएको बताएको छ ।

मंसिर २० गते बिहान ८ बजेपछि निरजमाथि गोली प्रहार भएपनि घटना बारे प्रहरीले बिहान ११ बजेतिर मात्रै थाहाँ पाएको थियो ।

नेपालगंज नरसिंह होमका चिकित्सकले निरजमाथि गोली प्रहार भएको देखेपछि बाँके प्रहरीलाई खबर गरेका थिए । त्यसपछि बाँके प्रहरीले त्यो कुराको सूचना बर्दिया प्रहरीलाई दिएको थियो ।

बर्दियाका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बरामद हतियार बारे अनुसन्धान जारी छ ।

अमेरिकाका ग्रिन कार्ड होल्डर महाबीरले बिभिन्न ब्यक्तिहरुलाई अबैध मार्ग अर्थात तल्लो बाटो अमेरिका पठाइ दिने आश्वासन दिएर रकम अशुल्दै ठगी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

निरजलाई पनि महाबीरले अमेरिका पठाउने आश्वासन दिएर बिगतमा पैंशा लिएको र पठाउन नसकेको हुँदा पैंशा फिर्ता माग्दा गोली हानेर हत्या गरेको खुल्न आएको प्रहरी अधिकारीहरु बताउँछन् ।

हत्या गरिएका तुलसीपुरका निरज नेपाली काँग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको बर्दियाको राजापुरस्थित फार्म हाउसको रेखदेख र काम गर्ने युवा हुन ।

निरजले बिगत नौं महिनादेखि फार्म हावसको रेखदेखको काम गर्दै आएका थिए । महाबीर पूर्व मुख्यमन्त्री डिल्लीका सहोदर भाइ हुन ।

प्रकाशित मिति : २०८२ मङ्सिर २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *