तुलसीपुर , मंसिर २४ । जेनजी आन्दोलनका क्रममा भएका दुबै खाले दोषीहरु माथि कारबाही हुनुपर्ने माग अधिकारकर्मीले गरेका छन् ।
बुधबार तुलसीपुरस्थित ‘द पार्क क्याफे’मा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले ७७औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित नागरिक सम्वाद कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै प्रेस स्वतन्त्रता सेनाली टीकाराम रेग्मीले भदौ २३ मा नव युवामाथि गरिएको दमन र २४ गते ध्वँस मच्चाउनेहरुलाई कारबाही नभएर मुलुकमा शान्ति स्थापना हुनेमा आशंका ब्यक्त गरे ।
जेनजीका प्रमुख माग भ्रष्टचारको बिरोध र समाजिक संजाल माथिको प्रतिबन्ध खोल्नु मात्रै रहेपनि समयमै ती मागका बारेमा सत्तासिनहरुले ध्यान नदिदा देश ठूलो समस्यामा परेको उनले बताए ।
बरिष्ठ अधिबक्ता बिष्णुमणि धितालले जेनजी आन्दोलन पुरानो सत्ताको कमजोरीका कारण उत्पन्न ध्वँस भएपनि भदौ २४ गतेको ध्वँस भन्दा भदौ २३ गतेको हिँसा मानवता बिरोधी रहेको उल्लेख गरे । उनले अहिलेको परिस्थितिबाट मुलुकलाई अगाडि बढाउन फागुन २१ मा तोकिएको निर्वाचन शान्ति पूर्ण रुपमा सम्पन्न गर्न जरुरी रहेको बताए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले प्रहरी सबै भन्दा फ्रन्ट लाइनमा खटिएर काम गर्ने संस्था भएको हुँदा भिड नियन्त्रण तथा ब्यबस्थापनका क्रममा कहिले काँही बल प्रयोग भएको भन्ने दोष खेप्नुपर्ने बाध्यता रहेको बताए ।
उनले प्रहरी बिना मुलुकको शान्ति संभव नहुने भन्दै कुनैपनि मानव अधिकार उलंघनका घटनाका जो कोही दोषी भएपनि कारबाहीका भागिदार हुने बताए ।
अर्का अधिबक्ता श्रीनारायण चौधरीले दुबै घटनाका दोषीलाई कारबाही नुहँदासम्म समाजमा शान्ति स्थापना हुन नसक्ने बताए ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव तुलसीराम सुनारले भदौ २३ गतेको हत्या हिँसामा संलग्नका साथै भदौ २४ गते भौतिक सम्पत्तिमा आक्रमण, तुटपात, चोरी, तोडफोड र आगजनीमा संलग्नहरु कारबाहीका भागिदार हुनुपर्ने बताए ।
समाजका पूर्व केन्द्रीय सचिव निर्मल नेपालीले मुलकको बिद्यमान अन्यौंलता चिर्न समयमै शान्तिपूर्ण रुपमा निर्वाचन हुन अति जरुरी रहेको बताए ।
त्यस्तै उनले भदौ २३ को हत्याको आक्रोसको परिनाम स्वरुप भदौ २४ गते मुलुक भर आगो बलेको भन्दै दुबै घटनाका प्रमुख दोषीहरु पहिचान गरि कारबाही नभए समाजमा मानव अधिकार उलंघनका घटना दोहरिरहनेमा बताए ।
नेपाल रेडक्रस सोशाइटी दाङ शाखाका उपसभापति हरिहर पौडेलले हरेक नागरिक ढुक्कले बस्न र बाँच्न पाउने अधिकार मानव अधिकार भएको हुँदा त्यस बिरुद्धका गतिबिधिमा संलग्न हरेक माथि कारबाही हुनुपर्ने माग गरे ।
महिला अधिकारकर्मी तथा अपाङ्ग महासंघ लुम्बिनी प्रदेशकी उपाध्यक्ष देवा डिसीले गम्भीर प्रकृतिका अपाङ्गता भएका ब्यक्तिले निकै कष्टप्रद र अपहेलित जीवन बाँच्दै आएको हुँदा उनीहरुका लागि राज्य थप जिम्मवार बन्न सक्नु पर्ने बताइन । भदौ २३ र २४ गतेको आन्दोलनमा गोलीका कारण धेरै अंगभंग भएको हुँदा उनीहरुको सहज जीवन यापनमा राज्यले बिषेश भूमिका हुनुपर्ने माग गरिन ।
त्यस्तै अपाङ्ग समाज सहयोग केन्द्र दाङका अध्यक्ष होमकान्त कँडेलले पनि अपाङ्गता भएका ब्यक्तिहरु प्रति अहिले पनि घर परिवार, समाज र राज्य बाट उपेक्षा हुनु मानव अधिकारको उलंघन भएको हुँदा त्यसमा सुधारको माग गरे ।
मानव अधिकार तथा शान्ति समाजका दाङ शाखा सल्लाहकार शरद रेग्मीले जेनजी आन्दोलन बाट मुलुकमा सृजित कठिन परिस्थिति समाधानका लागि अधिकारकर्मीदेखि राज्यका हरेक निकायले सम्मेमता अपनाउन जरुरी रहेको बताए ।
कार्यक्रममा पत्रकार दीपक बोहरा, वशन्त पौडेल, जित सागर जिएम लगाएतले पत्रकारिताको मर्म र धर्म आवाज बिहिनहरुको आवाज बुलन्द पार्नु तथा हिंसा बिरुद्ध कलम चलाउनु हुनुको नाताले शान्ति समाजले उठाएका कुराहरु प्रति एक्यबद्धता जाहेर गरेका थिए ।
साथै उनीहरुले जेनजी आन्दोलन पछि सयौं प्रहरीका हतियार लुटिएको, जेल तोडेर कैदी बन्दी भागेको हुँदा खस्को प्रहरी मनोवल उठाई शान्तिपूर्ण निर्वाचन गराउन सबैले भूमिका खेल्नु पर्ने बताएका थिए ।
कार्यक्रमका अधिकाँस बक्ताहरुले अवको निकास तोकिएको समयमा शान्तिपूर्ण निर्वाचन गराउनु नै हुनेमा जोड दिएका थिए ।
मानव अधिकार तथा शान्ति समाज दाङ शाखाका सभापति कोमल डिसीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति अमृत प्रसाद शर्माले स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण सचिव माधव बस्नेतले गरेका थिए ।