२०८२ माघ ३ गते शनिवार

म्याद सकिएको ३ महिना बित्दापनि कालाखोला र हापुर खोलामा पुल निर्माणको काम सुरु नै भएन

तुलसीपुर, मंसिर १७ । यतिखेर तुलसीपुर – घोराही सडक खण्ड चार लेनमा विस्तार गर्ने काम धमाधम भइ रहेको छ, । यो खुसीको कुरा हो ।

तर, यही सडक खण्डमा चार वटा पुन निर्माण गर्न तीन बर्ष पहिले ठेक्का संझौता भएपनि काम हुन सकेको छैन । काला खोला र हापुर खोलामा पुन निर्माणको मिती गुर्जी सक्दा समेत काम नै सुरु भएको छैन ।

‘पुल सेक्टर कार्यालय, नेपालगञ्ज’का इन्जिनियर रामकिसुन थारुका अनुसार एउटै निर्माण कम्पनी ‘शर्मा सगुन जेभी’ बुटवलले काला खोला, ग्वार खोला र हापुर खोलमा पुन निर्माणको जिम्मा लिएपनि काम गरेको छैन ।

घोराहीस्थित सेवार खोलाको पुल पनि अधकचल्टो छ । सेवार खोलामा ७० मिटर लम्बाइ र साढे २० मिटर चौडाइको पुल निर्माण गर्न २३ करोड २२ लाख ४३ हजार रुपैयाँमा संझौता भएको थियो ।

२०८० जेठ ३० गते भएको संझौंता अनुसार निर्माणको काम २०८३ जेठ २८ गतेसम्म सक्ने सर्त छ। तर, हालसम्म यो पुल निर्माणको कामपनि आधा जति मात्रै भएको छ । इन्जिनियर थारुले सेवार खोलामा पुल निर्मार्णको भौतिक प्रगति ५० प्रतिसत पुगेको भएपनि यही गतिमा काम भए तोकिएको समयमा काम पुरा हुनेमा आशंका ब्यक्त गरे । सेवार खोलाको चार लेन पुल निर्माणको काम ‘एमएस रायमाझी कन्स्ट्रक्सन जेभी’ ले गर्दै आएको छ ।

तर, तुलसीपुरको कालो खोलाको पुल निर्माण कार्य सम्झौताको अवधि गुर्जी सक्दापनि सुरु नै भएको छैन ।
‘शर्मा सगुन जेभी’ बुटवलले २०७९ असार २९ गते कालो खोला, ग्वारखोला र हापुर खोलामा पुन निर्माणको ठेक्का सम्झौता गरेको थियो। सम्झौतामा २०८२ भदौ २८ गते कालो खोलाको पुलको काम सक्ने उल्लेख छ ।

तर, तोकिएको अवधि गुज्री सक्दा पनि निर्माण कम्पनीले अझैंसम्म काम नै सुरु गरेको छैन । कुल ९० मिटर लम्बाइ र साढे २० मिटर चौडाइको यो पुल बनाउन १७ करोड ८२ लाख ७९ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
त्यस्तै हापुर खोलामा चार लेनको १५० मिटर लामो पुल बनाउन जिम्मापनि सोही निर्माण कम्पनीले नै पाएको छ ।

२७ करोड ८४ लाख ३१ हजार रुपैयाँमा ठेक्का संझौता भएको छ । यो पुल २०८२ पुस मसान्तमा सक्ने गरी २०७९ असार २९ गते ठेक्का सम्झौता भएको छ । जस्को कामपनि अझैं सुरु भएको छैन । त्यस्तै सोही ‘शर्मा सगुन जेभी’ बुटवलले नै ग्वार खोलामा दुई लेनको पुल निर्माण गर्ने जिम्मा पाएको थियो ।


यद्यपी ग्वार खोलामा पहिलै दुई लेनको पुल छ । त्यसमा अब फेरि त्यस्तै आकार प्रकाशरको अर्थात समानान्तर २२० मिटर लम्बाइ र ११ मिटर चौडाइको अर्कौ पुल निर्माण गर्ने जिम्मा पनि सोही निर्माण कम्पनीले पाएको छ । ग्वार खोलाको पुल पनि २०८२ भदौ २८ गते सम्पन्न गर्ने समय सीमा थियो । २०७९ असार २९ गते संझौता भएको थियो ।

२२ करोड पाँच लाख ४७ हजारमा कामको जिम्मा उस्ले सकारेको थियो । कालो खोला र ग्वार खोलाको अवधि गुर्जीएको तीन महिना पुगि सकेको छ । ग्वार खोलामा भने एउटा फाउन्डेसनको काम भएको छ ।

एउटै सडक खण्डमा तीन पुल निर्माणको काम गर्ने गरि जिम्मा लिएको ‘शर्मा एण्ड सगुन जेभी’ बुटवलले पुरै लापरबाही र बदमासी देखिएको सरोकारवालाहरु बताउँछन् । तुलसीपुर–घोराही २४ किलोमिटर सडकखण्ड अन्तर्गत चारवटा खोलामा पुल निर्माण गर्न एकसाथ ठेक्का लागेको थियो।

डिभिजन सडक कार्यालय दाङका प्रमुख इन्जिनियर दीपेन्द्रबहादुर बिष्टले पछिल्लो समय चार लेन विस्तारको काम धमाधम भइ रहेको भएपनि सोही सडक खण्डमा तीन बर्ष पहिले ठेक्का संझौता भएका र अहिले बनी सक्नुपर्ने पुल निर्माणको काम अझैं सुरु नहुँदा समस्या भइ रहेको बताए ।

प्रमुख बिष्टका अनुसार सडक खण्डमा पर्ने पुलहरूको पहुँच सडकको कार्य पुल निर्माण कम्पनीबाटै हुने हो । चार लेन सडक स्तरोन्नति कार्य गर्दा पहुँच सडकको स्तरोन्नति गरिने छैन। त्यसले चार लेन सडक समयमै विस्तार भइ सकेपनि पुलहरु समयमै निर्माण नहुने हो भने यात्रा सहज हुने देखिदैन ।
‘शर्मा एण्ड सगुन जेभी’ले पुल निर्मार्णको जिम्मा लिएपनि कालोखोला, ग्वारखोला र हापुर खोलामा पुल निर्माणको जिम्मा ‘सगुन कन्स्ट्रक्स’का सहदेव खड्काको हो । यही निर्माण कम्पनीले बबइ बाट लिफ्टिङ गरि बजारमा पानी ल्याउने गरि कामको जिम्मा पाएको छ । तुलसीपुर खानेपनी उपभोक्ता तथा सरसफाइ संस्थाको काम उस्ले जारी राखेको छ । मलवार–गरगरवाको पुल निर्माण कार्यपनि आधा अधुरो छोडेको कम्पनी यही हो ।
सगुन कन्स्ट्रक्सका प्रोजेक्ट म्यानेजर इन्जिनियर सुमन मिश्राले गत बर्ष बजेट अभावका कारण पुल निर्माणको काम सुरु हुन नसकेको दाबी गरे । गत सरकारले बजेट दिन नसक्का काम हुन नसकेको उनले बताए ।
उनले यसपाली पुल निर्माणको काम सुरु हुने विश्वास ब्यक्त गरे ।
इन्जिनियर मिश्राले पुल निर्माण क्षेत्रको हाइटेन्सन विद्युत लाइनका कारण पनि ढिला हुन पुगेको बताए । सोमबार मात्रै आँफुहरुले तुलसीपुर र घोराहीका विद्युत कार्यालयका साथै नेपाल टेलीकमको कार्यालयमा पनि विद्युत पोल स्थान्तरणका लागि निबेदन दिएको उनले जानकारी दिए ।

पोल स्थान्तरण पछि तत्तकाल डाइभर्सन निर्माण गरि काम सुरु गरिने उनले बताए । उनका अनुसार दुई तीन दिन भित्रै हापुर खोलाको पुल निर्माणको काम अगाडि बढ्ने छ । त्यसका लागि मेसिन आइ सकेको उनले जानकारी दिए ।

प्रोजेक्ट म्यानेजर मिश्राले तुलसीपुर – घोराही सडक बिस्तार सक्दा सम्म पुल निर्माणको कामपनि सकिने दाबी गरे ।

डिभिजन सडक कार्यालय दाङका प्रमुख इञ्जिनियर दीपेन्द्रबहादुर बिष्टपनि सडक बिस्तारको काम धमाधम अगाडि बढी रहँदा त्यो बीचमा पर्ने चार वटा पुल निर्माणको जिम्मा लिएका कम्पनीहरुले समयमै काम नगर्दा समस्या उत्पन्न हुन सक्ने संभावना औंल्याए ।

‘ अब पुल निर्माणको जिम्मा लिएका निर्माण कम्पनीहरुले पहिले जस्तै यो वा त्यो बाहानामा काम नगर्ने भन्ने सुविधा पाउनु हुने छैन,’ बिष्टले भने ‘ हामीले पनि उहाँहरुलाई त्यो कुरा संझाउँदै आएका छौं हैन भने जन आक्रोस दबाव थेग्न उहाँहरुलाई सजिलो हुने छैन ।’

प्रकाशित मिति : २०८२ मङ्सिर १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *