२०८३ साउन २४ गते आइतवार

सीमा क्षेत्रका भन्सारमा भनसुन गरि सामान ल्याउने क्रम रोक्न जरुरी छ – मुख्यमन्त्री आचार्य

दाङ, मंसिर ९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल–भारत सीमाक्षेत्रका भन्सारमा राजश्व चुहावट भइरहेको बताएका छन् ।

लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको मंगलबार भैरहवामा सम्बोधन गर्दै नेकपा एमालेका नेतासमेत रहेका उनले खुला सीमाबाट राजश्व चुहावट नियन्त्रण हुन नसकेको हुँदा सुरक्षा अधिकारीहरूको ध्यानाकर्षण गराएका थिए ।

‘अहिले पनि मिलेमतोमा भन्सार छलि गरेर सामान ल्याइन्छ । यसको नियन्त्रण कसले गर्ने हो ? यसबारेमा हामी गम्भीर छौं कि छैनौं ,’ उनले भने ‘ आज देशको राजश्व संकलनमै गम्भीर बन्न सकेका छैनौं । यो विषयमा छलफल गरि जनताले सुशासनको अनुभूति पाउनेगरी कार्ययोजना बनाइनेछ ।’

त्यस्तै ट्राफिक प्रहरीले चेकजाँचको नाममा सास्ती दिने गरेको गुनासो गर्दै ट्राफिक चेक जाँचलाई थप व्यवस्थित गर्नुपर्ने बताएका थिए । पर्यटकलाई अनावश्यक झन्झट दिन नहुने उनको भनाइ थियो ।

त्यस्तै आचार्यले संविधानको रक्षा र यसको पूर्ण कार्यान्वयन अहिलेको मुख्य प्रश्न रहेको बताए । ‘कुनै नेता गलत होलान तर, सिस्टम बिग्रिएको छैन,’ उनले भने । त्यस्तै उनले आन्दोलनका नाममा व्यक्तिगत सम्पत्ति जलाउनेहरूलाई कानुनी दायरामा ल्याउन संघीय सरकार गम्भीर हुनुपर्ने बताए ।
सुशासन कायम गर्ने र भ्रष्टाचार न्यूनिकरण गर्ने अभियानमा प्रदेश सरकार रहेको उनको दाबी थियो ।

‘सरकारको नेतृत्व सम्हाल्दा गरेका संकल्प र अठोट पूरा गर्नेगरी काम अघि बढेका छौं । सुशासन प्रवद्र्धन र भ्रष्टाचार न्यूनिकरणको रणनीति बनाएर काम गरिरहेका छौं । मुख्यमन्त्री र मन्त्रीहरूलाई आचारसंहिता लागू गरेका छौं,’ उनले भने ‘ पूर्व विशिष्टका सेवा–सुविधा खारेज गरेर अघि बढेको यही सरकार हो ।’

प्रकाशित मिति : २०८२ मङ्सिर ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *