दाङ, मंसिर ९ । दाङको देउखुरीमा आगलागी भएको अवस्थामा फेला परेको जिपमा कसरी आगो लाग्यो भन्ने पत्ता लगाउनु प्रहरीले अनुसन्धान थालेको छ ।
हुलाकी सडक अन्तरगत गढवा गाउँपालिका– १ मलमला र बनघुस्री बीचको भित्री कठाहा सडक खण्डमा बा १४ च ७००६ नम्बरको डवल क्याप पिकअप जिप मंगलबार बिहान आगलागी बाट ध्वस्त भएको अवस्थामा फेला परेको थियो ।
आगलागी बाट नष्ट भएको जिप बासुदेव केसीको रहेको प्रहरीले जानकारी दिएको छ ।
केसी जनप्रिय क्रसर उद्योग मलमला कालाकाँटेमा कार्यरत कर्मचारी हुन । केसीले चार पाँच दिन पहिले मात्रै त्यो जिप बुटवलस्थित रिकन्डिसन बाट किनेर ल्याएका थिए ।
केसीले प्रहरी समक्ष आँफुहरु मंसिर ८ गते राति घुम्न निस्किएको र बाटोमै गाडी बिग्रिए पछि बाटोमै थन्काएर हिडेको बयान गरेको कुरा गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक डबल बमले बताए ।
बिहान साढे सात बजेतिर स्थानीयले सडक खण्डमा लागो लागेको अवस्थामा जिप फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी पुग्दा जिप आगलागी बाट जलेर पूर्ण रुपमा नष्ट भएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक बमनले बताए ।
‘ गाडी धनीले घुम्न निस्किएको समयमा बिग्रिए पछि आँफुले गाडी सडकमै रोकेर गएको र बिहान त्यो गाडी आगजनी भएको अवस्थामा फेला परेको कुरा गर्नु भएको छ,’ प्रहरी निरीक्षक बमले भने ‘ यो जिपमा कसरी आगो लाग्यो, भन्ने कुरा अनुसन्धान भइ रहेको छ ।’
गाडी धनी केसीले जिपमा वाइरिङको तार सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका पनि ब्यक्त गरेको प्रहरी निरीक्षक बमले बताए ।
