तुलसीपुर, मंसिर ७ । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ तथा पूर्व संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको स्वाधिनता र उपलब्धिको रक्षाका लागि निर्वाचन समयमा सम्पन्न गर्न अति जरुरी रहेको बताएकी छन् ।
दाङको बंगलाचुलीमा आइतवारदेखि सुरु भएको ‘छैंठौ बंगलाचुली गाउँपालिका कप २०८२’ को उद्घाटन पछि सम्बोधन गर्दै नेतृ शर्माले मुलुकको हितका लागि तोकिएको समयमै निर्वाचन हुन अति जरुरी रहेको बताएकी हुन ।
उनले तोकिएको समयमै निर्वाचन हुन नसके मुलुक पुनः अर्कौ दलदलमा फस्ने खतरा औंल्याइन ।
‘जेनजी आन्दोलनले मुलुकमा सबै दलहरुलाई सच्याउने र सच्चिने अवसर दिएको छ,’ उनले भनिन् ‘ दलहरु सच्चिनेसहितको नयाँ निर्वाचनको मिती घोषणा भएकाले मुलुकको स्वाधिनता र उपलब्धिको रक्षाका लागि निर्वाचन समयमा सम्पन्न गर्न अति जरुरी छ ।’
जेनजी आन्दोलनले मुलुकलाई फरक परिस्थितिमा रुपान्तरण गरेका भन्दै उनले उत्पन्न पछिल्लो परिस्थितिको अन्त्यका लागि मुलुकमा तोकिएकै समयमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न आमनागरिक लाग्नुु पर्ने बताएकी हुन ।
जेन–जी आन्दोलनले दलहरुलाई नयाँ धारमा अघि बढ्ने नयाँ म्यान्डेडसहित रुपान्तरणको अवसर प्रदान गरेको भन्दै पूर्व मन्त्री शर्माले म्याण्डेड र अवसर निर्वाचन मार्फत अघि बढाउने उत्साह र तत्परता दलहरुमा देखिनुु पर्ने बताइन ।
त्यस्तै उनले आगामी फागुन २१ गते सम्पन्न गर्न घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचन बिफल बनाउन केही तत्वहरुको सक्रियता बढिरहेको भन्दै उनले निर्वाचन समयमा सम्पन्न गर्न दलहरु नै अग्रसर बन्नुुपर्ने समय आएको उनले बताइन ।
‘निर्वाचन बिथोल्न हैन यतिखेर दलहरु निर्वाचन सम्पन्न गर्न केन्द्रीत बन्नुुु पर्ने बेला हो,’ उनले भनिन् ‘ तोकिएको निर्वाचन समयमै गर्न र गराउन आम नागरिकले पनि उत्तिकै खबरदारी गर्न जरुरी छ ।’
