तुलसीपुर, मंसिर २ । अनाधिकृत रुपमा बालुवा गिट्टी उत्खनन्मा प्रयोग गरिएको एउटा जेसिबी र एउटा ट्रिप्पर प्रहरीले नियन्त्रण पछि आर्थिक जरिवाना गराइ छोेडेको छ ।
दुई साधनलाई आर्थिक जरिवाना गर्दा एक लाख ८० हजार पाँच सय सत्र रुपैयाँ उपमहानगरपालिकामा राजश्व थपिएको छ ।
ढिला गरि प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार कात्तिक २५ गते ती साधन तुलसीपुर उपमहानगरपालिका – १४ स्थित बगौसी दोभन बाट नियन्त्रणमा लिइएका थिए ।
बगौसी दोभान खोला किनारमा अनाधिकृत रुपमा बालुवा गिट्टी उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले रा १ क १०६१ नम्बरको जेसिबी र रा १ ख २६१४ नम्बरको ट्रिप्परलाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रण पछि आवश्यक कारबाहीका लागि प्रहरीले ती साधन तुलसीपुर उपमहानगरपालिकाको जिम्मा लगाएको थियो ।
गाडी धनीले आर्थिक जरिवाना तिरेर फेरि त्यसरी अनाधिकृत कार्यमा नलगाउने सर्तमा आफ्ना साधन फिर्ता लगेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन् ।
