२०८२ कार्तिक २५ गते मङ्गलवार

यसकारण दाङ जिल्ला अदालतले सहायक हवल्दार संगिता अधिकारीलाई नगदसहित सम्मान गर्‍यो

तुलसीपुर , असोज २३ । असोज २३ गते जिल्ला अदालतको माहोल अघिपछि भन्दा फरक थियो ।

अदालतमा पत्रकारदेखि जिल्लास्थित उच्च सुरक्षा अधिकारीहरु उपस्थित थिए । जिल्लाका अदालतका ६ वटै न्यायाधीसहरु पनि गदगद थिए । अदालतकै हल भित्र ताली बजी रहेको थियो ।


उपस्थित सबैले अदालतको सुरक्षार्थ खटिएदै आएकी प्रहरी सहायक हवल्दार दाङकी चेली संगिता अधिकारीलाई खादा माला लगाउँदै बधाइ दिइ रहे । भविश्यमा थप उच्च मनोवलका साथ काम गर्न आग्रह गरे ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जिल्ला अदालतमा तोडफोड र आगजनी भइ चलिरहँदा संगिताकै प्रयासका कारण थप क्षति हुन बाट अदालत जोगिएको थियो ।

त्यसक्रममा संगिताले खेलेको भूमिकाको कदर गर्दै औपचारिक कार्यक्रमका बीच बिहीबार उनलाई अदालतले नगदसहित सम्मान गरेको हो ।

अदालतका सूचना अधिकारी गोकर्ण वलीका अनुसार पाँच हजार नगद र कदर पत्रसहित प्रहरी सहयाक हवल्दारलाई अदालत भित्रै कार्यक्रम आयोजना सम्मान गरिएको हो ।


जिल्ला अदालतको हलमा भएको नगदसहित सम्मान कार्यक्रमको अध्यक्षता जिल्ला न्यायाधीस प्रकाशप्रशाद पण्डितको अध्यक्षतामा भएको थियो ।

सम्मान कार्यक्रममा अदालतका ६ वटै जिल्ला न्यायाधीसहरु टिकेन्द्र दाहाल, शोभाकान्त ज्ञवाली, राजेश्वर अर्याल, प्रतिमाकुमारी भट्टराई, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जिल्ला प्रहरी प्रमुख एसपी दिपक श्रेष्ठ, जिल्ला अदालत बार इकाइकी अध्यक्ष गोमा महरा, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी लगाएतले प्रहरी सहायक हवल्दार संगिता अधिकारीलाई उत्कृष्ट कार्य गरेको भन्दै बधाइ मनतब्य ज्ञापन गरेका थिए ।


कदर पत्रमा भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा सहायक हवल्दार संगिताले अदालतमा तोडफोड र आगजनी भइ रहँदापनि उनीहरुलाई संझाइ बुझाई गर्ने उत्कृष्ट कार्य गरेको देखिएको हुँदा सम्मान गरिएको उल्लेख छ ।

अदालतका सूचना अधिकारी गोकर्ण वलीले तोडफोड र आगजनीमा उत्रिएकाहरुलाई प्रहरी सहायक हवल्दार अधिकारीले हात जोड्दै रोक्न गरेको प्रयासले गर्दा आन्दोलनकारी फर्किएको भिडियो क्लिपको आधारमा कदर पत्रसहित नगद रुपैयाँले सम्मान गरिएको बताए ।

अदालतका श्रेस्तेदार भुपाल भण्डारीका अनुसार असोज २२ गतेदेखि अदालतले मुद्दा सुनुवाई बाहेकका सम्पूर्ण काम सुरु गरि सकेको श्रेष्तेदार भण्डारीले बताए ।


भदौ २४ गते जिल्ला अदालत भित्रको श्रेस्तेदारको कार्यकक्ष, कानुन ब्यबसायीको कार्यकक्षमा आगजनी भएको थियो । अभिलेख शाखामा लगाएको आगो बाट चार वटा फाइल मात्रै जलेका छन् ।

संगिताको प्रयासले मनपरी तोडफोड र आगजनीमा उत्रिएको समुह फर्किनाथ संगिता लगाएत अदालतका कर्मचारीले तत्कालै अभिलेख शाखामा लगाइएको आगो नियन्त्रणमा लिन सफल भएका थिए ।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *